महानगरको एक्सन : काठमाडौंमा साल्ट साल्ट ट्रेडिङ्, केएफसीलगायतको अखाद्य वस्तु जफत – Nepal Press

महानगरको एक्सन : काठमाडौंमा साल्ट साल्ट ट्रेडिङ्, केएफसीलगायतको अखाद्य वस्तु जफत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले साल्ट ट्रेडिङ् कर्पोरेसन, केएफसीलगायत स्थानबाट अखाद्य वस्तु जफत गरेको छ ।

टोलीले साल्ट ट्रेडिङ् कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड ब्राण्डका २० केजी तौलका ६ बोरा चामल, २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला बिक्री गर्न रोक लगाएको हो । उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान बिक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बताए ।

त्यस्तै, पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको उनले बताए । पेप्सीकोला टाउन प्लानिङ् फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ ।

आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट ट्रेडिङ्, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञा पत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिएको छ ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञा पत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन निर्देशन दिएको छ ।

आजै विहान संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलहरुको अनुगमन भएको थियो । माछा मासु पसल हेर्ने क्रममा खिचापोखरीबाट आरवी कम्प्लेक्सतर्फको सडक खण्डका मासु तथा मासुजन्य अचार, सुकुटीलगायतका सामान बिक्री गर्ने पसलहरुको अवस्था पनि तत्काल सुधार गर्नुपर्ने खालको छ ।

मासु तथा मासुजन्य खाद्यवस्तु उत्पादन गर्नेहरुको साझा समस्या छ । मासु खुल्ला रुपमा प्रदर्शनमा राख्नु, सरसफाइमा ध्यान दिन नसक्नु, डि फ्रिजको राम्ररी उपयोग नहुनु, फ्रिजमा लामो समयसम्म सामान भण्डार गरेर राख्नु, खशी तथा कुखुरा बध स्थल र उनीहरुलाई राख्ने ठाउँ एउटै हुनु, व्यापारीले स्वास्थ्य मापदण्ड पालना नगर्नु सबै पसलमा देखिने समस्या हुन् ।

मासुजन्य खाद्यवस्तुको उत्पादन गर्न खाद्य अनुज्ञा पत्र नलिनु, प्याकेटमा लेवल नराख्नु, उत्पादन मिति र उपभोग्य मिति उल्लेख नहुनु, सुकुटीहरु खुल्लै राख्नु, प्याकेजिङ्का लागि अनुमति नहुनु मासुजन्य खाद्यवस्तु उत्पादकसँग सम्बन्धित समस्या हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *