प्रचण्डलाई दोस्रोपटक किन छक्याए छक्कबहादुरले ? यस्तो छ कहानी – Nepal Press

प्रचण्डलाई दोस्रोपटक किन छक्याए छक्कबहादुरले ? यस्तो छ कहानी

काठमाडौं । राजनीतिक जीवनमा धेरै पटक धेरैलाई छक्याएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाका निवर्तमान प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको एमाले प्रवेशको समाचारले सोमबार नेपाली सञ्चारमाध्यममा निकै स्थान पायो ।

२०७४ साल मंसिर १० गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले-माओवादी केन्द्रका आधिकारिक उम्मेरदवार छिमिदोर्जी लामालाई पराजित गर्दै स्वतन्त्रबाट निर्वाचन जितेका छक्कबहादुर कसरी देशका प्रमुख नेताहरूलाई छक्याउन माहिर देखिए भन्ने धेरैको जिज्ञासाको विषय बन्यो ।

सार्वजनिकरूपमा आफू र अवसरबीच धेरै दूरी बढाउन नचाहने स्वभाव भएको स्विकार गरेका छक्कबहादुर लामा माओवादीको केन्द्रीय सदस्य पद छोडेर निर्वाचनको सम्मुखमा राजनीतिका चतुर खेलाडी प्रचण्डलाई कसरी छक्याउन बाध्य भए भन्ने विषय पनि उनकै पद र प्रतिष्ठासँगै जोडिएको छ ।

हुम्ला जिल्लाका मतदाता र हुम्लामा रहेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई आफूमैत्री निर्णय गराउन माहिर खेलाडी कहलिएका छक्कबहादुरले कम्युनिष्ट पार्टीका चतुर खेलाडी ओली र प्रचण्डलाई छक्याउन सुरू गरेको साढे दुई वर्षपनि पुगेको छैन । स्वतन्त्र निर्वाचित सांसद भएका कारण प्रतिनिधि सभामा दलीय ह्वीपबाहिर रहेका लामालाई केन्द्रीय नेतृत्व छक्याउने निकै अवसर मिल्यो । जसमा नेकपाभित्रको किचलो उनका लागि थप सहयोगी वातावरण तयार पार्ने अस्त्र बनिदियो ।

२०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको घटनापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलोले प्रतिनिधिसभाका सांसदहरू कित्ताकाटको अवस्थामा पुगे ।

पार्टीका दुई अध्यक्षमध्ये वरीयतामा पहिलो अध्यक्ष तथा प्रधानमन्त्रीको निर्णयप्रति असहत रहेका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनालले आफ्नै सरकारको निर्णय नमान्ने अवस्था आएपछि सांसदहरूले आत्मकेन्द्रित स्वार्थको पर्खाइमा पार्टीभित्र दोहोरो नाम पनि लेखाए । जसमध्ये छक्क लामा पनि थिए ।

२०७७ पुस ६ गते आफूलाई समर्थन गर्ने सांसदहरूको नाम र हस्ताक्षर संकलन गरेका छक्कबहादुर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा रहेको सूचना दिन आफूले २०६४ सालदेखि समर्थन गरेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छक्क पार्दै ओलीको कित्तामा उभिए । पार्टीभित्रको विवादले चरम रूप लिएपछि २०७७ पुस ५ गते आइतबार आफ्नै पार्टीबाट संसद सचिवालयमा दर्ता भएको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावको ४३ नम्बरमा हस्ताक्षर गरेका उनै छक्कबहादुरले हस्ताक्षरको मसी सुक्न नपाउँदै आफ्नो निर्णय फेरे ।

नेकपाका कार्यकारी अध्यक्ष दाहालको आग्रहमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपनि आफ्नो मन्त्रीको मनोकांक्षा छिट्टै पूरा नहुने देखेका उनले पुस ४ गते शनिबार बेलुकी कर्णाली करिडोरको बाटोबारे कुरा गर्ने बहाना बनाएर नेकपा कर्णाली प्रदेश अध्यक्ष एवम् जिल्लाबासी गोरखबहादुर बोगटीलगायतका नेताहरूसँगै प्रधानमन्त्री ओलीलाई भेटेपछि लगत्तै ओली कित्तामा युटर्न भए । तर, उनको त्यो चतुर्‍याइँ दुई सातापनि टिकेन ।

पार्टीभित्रको आन्तरिक विवादलाई मन्त्री बन्ने अवसरका रूपमा उपयोग गर्ने ध्याउन्नमा लागेका छक्कबहादुरले अपेक्षा गरे अनुसारको पद (मन्त्री) नपाएपछि दुई सातामै प्रधानमन्त्री ओलीलाई छक्याएर फेरि प्रचण्ड कित्तामै फर्किए । बालुवाटारमा आफूले आश्वासन पाएको मन्त्री पद प्राप्त नभएपछि १३ दिनपश्चात अर्थात २०७७ पुष १९ गते विज्ञप्ति जारी गर्दै उनले आफू नेकपाको प्रचण्ड-माधव नेपाल समूहमै रहेको पुष्टि गरेर प्रधानमन्त्री ओलीलाई छक्याउन भ्याए ।

सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि जिल्लाका माओवादी नेताहरूसहित प्रचण्डनिवास खुमलटार पुगेर पाँचदलीय गठबन्धनको सरकारमा मन्त्रीको पक्का गराएका उनै छक्कबहादुरले मंसिर ४ गते हुने निर्वाचन आउन ४८ दिन मात्रै बाँकी रहेको बेला अर्थात २०७९ असोज १७ गते सोमबार दोस्रोपटक माओवादी अध्यक्ष प्रचण्डलाई छक्याए ।

पछिल्ला तीनवर्षको अवधिमा नेपाली राजनीतिका चतुर खेलाडी एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई दुई पटक छक्याएका छक्कले चालेको पछिल्लो राजनीतिक कदम अन्तिम हो वा फेरि नयाँ निर्वाचनमा मन्त्री हत्याउने खेलको सुरूवाति हो भन्ने जिज्ञासाको उत्तर स्वयम् उनैसँग पनि छैन ।

स्वतन्त्ररूपमा निर्वाचन जितेपनि पाँच वर्षको कार्यकालमा थोरै समयका लागि भएपनि मन्त्री बन्ने आफ्नो तीव्र इच्छा पूरा नभएपछि लामाले पछिल्लो राजनीतिक निर्णय लिएको उनीनिकट स्रोत बताउँछ ।

‘माओवादी अध्यक्ष प्रचण्डले देउवा नतृत्वको सरकारमै क्याबिनेट मन्त्री बनाउने बचनबाट हौसिएर माओवादीमा लागेका छक्कले निर्वाचन घोषणा हुञ्जेलसम्म पनि प्रचण्डबाट बचन पूरा नभएपछि अन्ततः निर्वाचनको मुखमै एमाले प्रवेश गर्नुपरेको हो’ उनीनिकट स्रोत भन्छ, ‘आसन्न निर्वाचनमा आफू अनुकूल निर्णय नहुने भएपछि अन्तिममा सुरक्षित अवतरणका लागि लामाले एमाले प्रवेशको बाटो तय गरेका हुन् ।’

यस्तो छ, लामाले एमाले प्रवेश गर्नुको कारण

२०७४ साल ठूलो कसरत र धनराशी खर्चिएर निर्वाचन परिणाम हात पारेका लामा गएको पुस दोस्रो साता सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य पद पाएसँगै पार्टीको सांगठनिक जीवनमा हाबी भए । माओवादी हुम्लाको संगठनभित्र आफ्ना कट्टर विरोधी छिमिदोर्जी लामालाई उछिनेर केन्द्रीय सदस्य बनेपछि उनले माओवादीको निर्णय आफ्नै हातमा राख्ने योजना बनाएका थिए ।

केन्द्रीय सदस्य नपाएपछि हुम्लाको माओवादी जनयुद्धका संस्थापक भनेर चिनिने छिमीदोर्जी लामा एमाले प्रवेश गरेपछि उनको योजना कार्यान्वनका लागि थप सहज भएको आँकलन गरियो । तर, माओवादीले जिल्ला इन्चार्जको जिम्मा उनीभन्दा उमेर र राजनीतिका हिसाबले कनिष्ठ विजय भण्डारी (प्रतिरोध) लाई दिएपछि केही चिढिएको उनका निकटस्थहरूको निचोड छ ।

‘जिल्ला इन्चार्ज भएर माओवादी हुम्लाको सांगठनिक सुप्रिमो बन्ने योजनाका साथ केन्द्रीय सदस्यका लागि उहाँ (छक्क लामा) लाग्नु भएको थियो’, लामाको पारिवारिक स्रोत भन्छ, ‘पार्टीभित्रको संस्थापन पक्षले २०७७ पुष ६ गते उहाँले गरेको निर्णय (ओलीपक्षमा गरेको हस्ताक्षर) का आधारमा इन्चार्जको जिम्मेवारी नदिएपछि आफूलाई पेलेको महसुस गर्नुभयो ।’

त्यसयता निरन्तरका निर्णयले माओवादीबाट अपमानित भएको ठानेका लामा आफ्ना साला छिरिङदम्डोल लामा (कार्चेन) भन्दा आफूलाई माओवादीले मन्त्री बनाओस् भन्ने चाहन्थे । आफूलाई मन्त्री बनाउने आश्वासन प्रचण्डबाट समेत पाएका कारण पनि उनी पक्का मन्त्री भन्नेमा विश्वस्त देखिन्थे । तर, माओवादीले उनीभन्दा अघि सांसद नभएका उनका साला छिरिङ दम्डोल लामा (कार्चेन) लाई २०७८ माघ २३ गते कर्णाली प्रदेशको मन्त्री नियुक्त गरेपछि उनको मन्त्री बन्ने सपना तत्कालका लागि टर्‍यो ।

योसँगै उनले माओवादीसँगको सम्बन्ध भित्री मनदेखि टाढा बनाउने योजना सुस्तरूपमा बनाइसकेका थिए । आफू निकटस्थको दबाबका कारण आसन्न निर्वाचनमा कर्णाली प्रदेशसभाको सदस्य जितेर पनि आकर्षक मन्त्री बन्ने योजनाप्रति लचक देखिएका लामा आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हुम्लाको प्रदेश सभा (ख) को उम्मेरदवार बन्न चाहन्थे ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट २०७४ मा माओवादीका प्रदेशसभा (ख) का उम्मेरदवार बनेका विजय भण्डारी प्रतिरोध (जीवनबहादुर शाहीसँग पराजित) लाई सिमकोट गाउँपालिका अध्यक्षमा निर्वाचित गरेर व्यवस्थापन गरेपछि उनको मन्त्री बन्ने योजना थप बलियो भएको विश्लेषण लामाले निकटस्थबीच गरे ।

सत्ता गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि प्रदेशकै निर्वाचन लड्ने तयारी गरेको देखेपछि उनको कर्णाली प्रदेश सरकारको मन्त्री बन्ने मनोकांक्षामा केही ठेस पुग्यो ।

लगत्तै टिकटको सिफारिस गर्न माओवादी जिल्ला समन्वय कमिटीले प्रतिनिधि सभा र प्रदेश सभा (ख) मा उनका साला पूर्वमन्त्री छिरिङ दम्डोल लामाको एकल सिफारिस र प्रदेश सभा (क) का लागि अन्य तीनजना (डा. दीपेन्द्र रोकाया, रणसिंह परियार र मानबहादुर थापा) को नाम सिफारिस गर्दा आफ्नै कतै नाम नपरेपछि थप चिढिए ।

संकटमा माओवादीलाई साथ दिएपनि अनेक पटक आफ्नो मन्त्री बन्ने योजनामा पार्टी नैं तगारो बनेपछि लामाले आफ्ना भित्री मान्छेसँग माओवादीमा रहन नसक्ने सुइँको दिइसकेको थिए । तरपनि बाह्य रूपमा माओवादीमै रहेर अझै विकल्पको खोजीबाट पछि हटेनन् ।

गठबन्धनले टिकटको भागबण्डा नटुंग्याउँदै जिल्लाको आन्तरिक सल्लाहमा समेत उनलाई बोलाउन कम गरेपछि उनले औपचारिक रूपमा एमाले प्रवेशका लागि कुरा चलाए । एमाले हुम्लाका संस्थापक मानिने स्थायी कमिटी सदस्य गोरख बोगटीको राजनीतिमा लचिलो स्वभाव र आफ्नै राजनीतिक चेला समेत रहेका हुम्ला कञ्जरभेसन एण्ड डिभलपमेण्ट एशोसिएसन (एचसीडीए) नामक गैरसरकारी संस्थाका सहकर्मी दल रावल (लामाले स्थापना गरेको उक्त संस्थामा सुपरभाइजर हुँदै पछि बोर्डको सचिव तथा कार्यकारी निर्देशक भएका) लाई काबुमा राखेर निर्णय गराउन सक्ने आँकलनले पनि उनलाई एमाले प्रवेशका लागि छिटो निर्णय लिन सजिलो भएको विष्लेषणा माओवादी हुम्लाका नेताहरूको छ ।

२०७४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेरदवार बनेर जितेका लामा र एमालेको तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क) बाट निर्वाचन जितेका दल रावलबीच मत साटासाट भएको थियो । यतिमात्र नभएर लामाले नाम्खा गाउँपालिका- ६ लिमीका ५ सय मत कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसँग समेत साटेको चर्चा चलेको थियो ।

वैशाख ३० मा सात वटा स्थानीय तह भएको हुम्लामा एक सीट पनि ल्याउन नसकेको एमालेका लागि मंसिर ४ को निर्वाचन कसरी फेस गर्ने होला भन्ने निकै ठूलो टाउको दुखाइको विषय बनेको थियो । गठबन्धनका अघि सके निर्वाचन परिणाम हात पार्ने नसके एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेरदवारसँग प्रतिस्पर्धा जाने विकल्पको खोजीमा रहेको एमाले हुम्लाका लागि लामाको पार्टी प्रवेश अर्थपूर्ण बन्यो ।

एमाले हुम्लाका नेताहरूले पनि लामासँगै पार्टी प्रवेशका औपचारिक कुरा सुरू गरे । नभन्दै पार्टी अध्यक्ष ओली र अन्य शीर्षस्थ नेताहरूसँग पनि नजिकैको सम्बन्ध रहेका लामाले ओली निवास बालकोट पुगेर एमाले पार्टी प्रवेश गरे ।

एमालेबाट के चाहन्छन् लामा ?

मन्त्री बन्ने धोको पूरा नभएपछि निर्वाचनको सम्मुखमा एमाले प्रवेश गरेका छक्क लामाले अहिले नै आफूलाई के चाहिन्छ भनेर मुख नखोलेको एमाले केन्द्रीय सदस्यसमेत रहेका जिल्ला सहइन्चार्ज दल फडेरा बताउँछन् । यद्यपि कुनै मिसन नभएर उनी एमाले प्रवेश गरेको होला भन्ने विश्वास त स्वयम् एमालेका जिल्लादेखि केन्द्रका नेताहरूलाई पनि लागेको छैन ।

पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओली र उपमहासचिव प्रदिप कुमार ज्ञवालीसमक्ष ‘अव यहाँहरूले व्यवस्थापन गर्नु हुन्छ भनेर आएको हुँ’ भन्दै हात जोडेको देखेपछि एमाले हुम्लाका नेताहरूलाई समेत लामाको अपेक्षा ठूलै छ भन्ने बुझे । तर, उनी के चाहन्छन् त ? भन्नेमा नेताहरू कसैलाई केही जानकारी नभएको बताउने गरेका छन् ।

यसबारेमा एमाले हुम्लाका नेताहरू कसैले मुख खोल्न चाहेका छैनन् । लामानिकट स्रोतका अनुसार अहिले दुईवटा प्राथमिकताका साथ लामा एमाले प्रवेश गरेका छन् । माओवादीको केन्द्रीय सदस्य समेत रहेका लामा एमालेको स्वतः केन्द्रीय सदस्य हुने भएपछि उनको प्राथमिकतामा पार्टीको पद खासै छैन । राजकीय पद मात्रै उनको पछिल्लो प्राथमिकताको विषय बन्दै गएको छ ।

पहिलो उनको रोजाइमा मन्त्री पद नै छ । भर्खरै अवधि सकिएको प्रतिनिधि सभा सदस्य रहेका लामा प्रदेश सरकारको भएपनि मन्त्री बन्ने योजनाका साथ एमालेमा प्रवेश गर्ने पहिलो प्राथमिकता छ । एमालेको जिल्ला, प्रदेश र केन्द्रसँग कुरा मिलेको खण्डमा उनी आफूलाई मुख्यमन्त्रीको दाबेदारीसहित अहिलेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग एमालेको तर्फबाट चुनाव लड्न चान्छन् ।

यदि मुख्यमन्त्रीको दाबेदारी नभएपनि आकर्षक मन्त्रीको आश्वासन पार्टी केन्द्रले दिए उनलाई चुनावी मैदान लड्न कसैसँग सोधिरहनु पर्दैन । चुनाव लड्न एमालेभित्र धेरैले आकांक्षा देखाएको खण्डमा उम्मेरदवार बन्न सम्भव नभए उनको दोस्रो रोजाइ राजदूत हो ।

कानून, समाजशास्त्र र पर्यटन क्षेत्रमा दख्खल राख्ने लामा अन्तर्राष्ट्रिय धेरै भाषाको ज्ञान भएका नेता हुन् । उनी मंसिर ४ पछि एमालेको सरकार बनेमा राम्रो देशको राजदूत बन्न चाहन्छन् । ‘मन्त्री कुनै हालतमा पनि नबने भएपछि पार्टी (एमाले) ले राम्रै देशको राजदूत बनाए पनि होइजाला (हुन्छ) भन्ने कुरा उहाँ (लामा) को छ ।’ लामाकै घरका एक सदस्यले भने ।

लामाको माओवादी यात्रा

२०४८ सालमा जनमोर्चाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामाले २०५२ सालमा तत्कालीन नेकपा माओवादीले सुरू गरेको सशस्त्र जनयुद्धलाई नैतिक समर्थन गरेका थिए । छोरी र अन्य नातेदार माओवादीमा लागेर भूमिगत भएपनि लामा भने खुला राजनीतिमै आवद्ध भए । यद्यपि उनलाई प्रहरी प्रशासनले पटकपटक नजरबन्द मात्रै गरेन अनेक प्रताडना दियो ।

२०५८ जेठ १९ को नारायणहिटी हत्याकाण्डपछि राजनीतिक दलहरूको हातबाट तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हत्याउनु र माओवादी युद्धप्रति थप क्रुर हुनुले तत्कालिन सात राजनीतिक दल र माओवादीलाई नजिक ल्याउने काम गर्‍यो । त्यति नै बेला अध्ययन अनुसन्धानको काममा लागेका छक्कबहादुर लामालाई नारायणहिटी दरबारबाट मन्त्रीको अफर आएपछि आयो ।

अवसरलाई सितिमिति गुमाउन नचाहने लामाले सहजै दरबारले टीका लगाएर दिएको स्थानीय विकास राज्यमन्त्रीको पद २०६१ माघ १९ गते सहजै स्विकार गरे । सुरूमा स्थानीय विकास राज्यमन्त्रीमा नियुक्त भएका लामालाई पछि भौतिक पूर्वाधार राज्यमन्त्रीमा सारियो । योसँगै २०५१ पछि सक्रिय राजनितिबाट टाढा रहेका लामा पुनः फर्किए ।

राजसंस्थाको पतन र गणतन्त्रको उदयसँगै अधिकांश आफन्त माओवादी हुम्लाको नेतृत्व तहमै रहेका लामालाई माओवादी राजनीतिमा जोडिन खासै गाह्रो भएन । नभन्दै २०६४ को पहिलो संविधानसभाको निर्वाचनताका नै उनी माओवादी पार्टीमा आबद्ध भए ।

२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा माओवादीका तर्फबाट उनका साला छिरिङ दम्डोल लामाको नाममा टिकट आएपनि मूर्तिचोरीको मुद्दामा अदालतले फैसला गरेका कारण चुनाव लड्न नमिल्ने भन्ने भएपछि अन्तिममा लामा नै माओवादीको उम्मेदवार बनेका थिए ।

पार्टीभित्रकै नेता छिमी दोर्जी लामा समूहको असकयोगका कारण निर्वाचन हारिएको बताएका लामा २०७४ मा पार्टीले उनै छिमीदोर्जी लामालाई टिकट दिएपछि पार्टीभित्र विद्रोह गर्दै कलम चिन्ह लिएर स्वतन्त उम्मेदवार बनेर निर्वाचन जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर