विश्वका बौद्ध पर्यटकलाई नेपाल भित्र्याउने वातावरण बनाऔं – सीइओ रेग्मी – Nepal Press

विश्वका बौद्ध पर्यटकलाई नेपाल भित्र्याउने वातावरण बनाऔं – सीइओ रेग्मी

काठमाडौं । विश्वका बौद्ध पर्यटकलाई नेपाल भित्र्याउन सकेमात्र पनि नेपालको पर्यटन क्षेत्रमा ठूलो उपलब्धी हुने नेपाल पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मीले बताएका छन् ।

पर्यटन बोर्डले एक वर्षको चुनौती र उपलब्धी बारे बिहीबार गरेको अन्तरक्रिया कार्यक्रममा सीइओ रेग्मीले सो कुरा बताएका हुन् ।

विश्वमा रहेका बौद्ध धर्मालम्बीलाई एक पटक नेपाल आउने वातावरण बनाउन सके मात्र पनि नेपाललाई ठूलो उपलब्धी हुने उनको भनाइ थियो ।

भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै विश्वका बौद्ध धर्मालम्बीलाई नेपाल भित्र्याउन सकिने उनले बताए । ‘बौद्ध धर्मालम्बी लुम्बिनी घुम्न आएभने मात्र पनि हामीले यथेष्ट पर्यटक पाउने थियौं,’ उनले भने ।

नेपालमा सरकारले पर्यटकलाई घुम्नका लागि दुई/चार ओटा ठाउँहरुमात्र देखाएर नपुग्ने भन्दै चाँढै नै नयाँ गन्तव्यको खोजी गर्नु पर्ने उनले सुझाए । नयाँ गन्तव्यहरुमा नेपालको पहाडी क्षेत्रमा ‘हिल स्टेशन’ निर्माण गर्नु पर्ने उनको तर्क छ ।

‘नेपालमा पर्यटक घुम्न आएपनि हामीले कुन उमेर समूहका मानिसलाई हाम्रो पर्यटन प्रोडक्ट बेच्ने अहिलेसम्म त्यसको निर्कोल भएको छैन,’ उनले भने ‘२० वर्ष मुनीका मानिस नेपाल घुम्न आउने हो भने उनीहरुका अभिभावकले नेपाल पाहाडी क्षेत्र हो एक्लै नजाउ भन्छन् ।

६० वर्षका मानिस नेपाल आउँदा भौगोलिकताले अफ्ट्यारो पार्न सक्छ । हामीले लक्षित गर्ने उमेर भनेको यी दुबै बीचको उमेर हो जुन कमाउने र जमाउने उमेर हो । उनीहरु त्यती नेपाल घुम्न आउँदैनन् ।’

यस्तो अवस्थामा नेपालले आफ्नो पर्यटन प्रोडक्टलाई सबै उमेर समूहलाई हुने किसिमले कसरी नेपालको पर्यटनलाई बेच्न सकिन्छ भनेर पनि सोच्ने बेला आएको उनले बताए ।

अहिले पर्यटन बोर्डले धमाधम नयाँ गन्तब्य पहिचान र पुरानै गन्तब्यलाई पनि कसरी अगाडि बढाउने भन्नेमा काम गरिरहेको उनले बताए ।
सीइओ रेग्मीका अनुसार नेपालमा पर्यटक आउँछन् तर, उनीहरुले खर्च गर्ने ठाउँ प्रसस्त छैनन् ।

यसका लागि पर्यटन व्यवायी नै लाग्नु पर्ने उनले बताए । ‘पर्यटकलाई कुनै पनि ठाउँको होटलमा लग्यो उसले मेरो व्यावसाय भै हाल्यो भन्छ तर, छेउमा भएका ‘इन्टर कनेक्शन’ पर्यटकीय क्षेत्रमा लैजादैनन् ।

त्यहाको बारेमा पनि पर्यटकलाई भन्दैनौ पनि अनि कसरी लम्ब्याउँछ त पर्यटकले आफ्नो बसाइ । यसका लागि व्यवसायीले पनि सोच्नु पर्ने उनले बताए ।

उनले नेपालमा नाइट लाइफ नहुँदा पनि पर्यटन क्षेत्रमा समस्या भएको बताए । ‘पर्यटक आएर नेपाल घुम्न लगायो तर राती ८ बजे नै होटलमा पठाउँनु पर्छ । घुम्नेले त घुम्न पाउनु पर्‍यो नी । खै नाइट लाइफ ?,’ उनले भने ‘यसका लागि सरकारले नीति नियम ल्याउनु प¥यो । राम्रो र नराम्रो कुराको अनुगमन गर्नु प¥यो । ‘घुम्नेलाई त घुम्न दिनु पर्‍यो नी ।’

कोरोनाले थला पारेको पर्यटन व्यवसायलाई माथि उठाउनका लागि भारतलाई नै पहिलो बजार बनाउनु पर्ने उनको तर्क छ । ‘तत्काल नेपालमा पर्यटन भित्र्याउने उपाय पनि यही हो’, उनले भने ।

पर्यटन क्षेत्रलाई अघि बढाउने हो भने पर्यटन क्षेत्रमा हुनै सबै किसिमका सूचनाहरुलाई डिजिटलाइज्ड गर्नु पर्ने उनले बताए । ‘एउटा तथ्याङ खोज्नलाई महिनौ लाग्छ ।

कति त तथ्याङक नै भेटिदैन । तथ्याङकलाई डिजिटलाइज्ड गर्ने हो भने दिनको काम घण्टा र घण्टाको काम मिनेट र मिनेटको काम सेकेन्डमा हुन्छ,’ उनले भने ।

नेपालको पर्यटन क्षेत्रलाई सरकारले विकास गर्न चाहेमा कठिन पनि नभएको उनको भनाइ छ । पर्यटन बोर्डले आफ्नो पहलमा पहिलो पटक नेपालको ‘मिड हिल’ लाई केन्द्रित गर्दै ७ ओटा ठाउँलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न लागेको जानकारी दिएको छ ।

कार्यक्रममा पर्यटन व्यवसायीले नेपाल कृषि प्रदान देश होइन पर्यटन प्रदान देश बनाउनु पर्ने सुझाव दिए । कार्यक्रममा पर्यटन व्यवसायीको पनि उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर