भजनीको बस्तीमा बाढी पस्यो, ५ सय बढी घर डुबानमा
कैलाली । दुई दिन भइरहेको अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका पाँच सय भन्दा बढी घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नगरपालिका २, ३, ७ र ८ का विभिन्न बस्तीमा बाढी पस्दा ५ सय बढी घर डुबानमा परेका हुन् ।
वडा नम्बर २ को पल्टापुर, मोहनपुर र तीन घरुवा टोलका करीब १२५ घरमा काँडा नदीको बाढी पसेपछि मानिसहरु विस्थापित भएका छन् ।वडा नम्बर ७ को शिविर टोलका अन्दाजी ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ । पथरिया नदीको बाढीले भजनी नगरपालिका–८ को खल्ला टोल र पाण्डे टोल समेतका गरी ८२ घर डुबानमा परेका छन् ।
उनीहरु अहिले हुलाकी सडक खण्डमा त्रिपाल गाडेर बसिरहेका छन् । वडा नम्बर ८ कै करीब दुई सय ५० घरधुरी विस्थापित भएका छन् । उनीहरु पनि हुलाकी सडकको किनारमा त्रिपालमुनी आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
अझै झरी रोकिएको छैन । थप डुबान हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन आग्रह गरेको छ