गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बाले प्रतिनिधिसभामा दिए उम्मेदवारी – Nepal Press

गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बाले प्रतिनिधिसभामा दिए उम्मेदवारी

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङबाट उम्मेदवारी दर्ता गरेका छन् । यसअघि उनी प्रदेशसभामा चुनाव लड्न चाहे पनि पार्टी नेतृत्वले उनलाई प्रतिनिधिसभामै लड्न दबाब दिएको थियो ।

सातौं पटक चुनाव लड्न लागेका गुरुङ यस चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका महासचिव देव गुरुङसँग आमनेसामने हुनेछन् ।

उपमहासचिव गुरुङ प्रतिनिधिसभा चुनाव लड्न अनिच्छुक थिए । पार्टी नेतृत्वले लगातार दबाब दिएपछि उनी प्रतिनिधिसभा चुनाव लड्न तयार भएका हुन् । प्रदेशसभा चुनाव लड्न नपाएपछि गुरुङ चुनावै नलड्ने मनस्थितिमा पुगेका थिए । पार्टी अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामै चुनाव लड्न दबाब दिएका थिए ।

‘प्रदेशमा नपाएपछि उहाँ चुनावै नलड्ने मनस्थितिमा हुनुहुन्थ्यो । तर, अहिले दबाबपछि लड्न लाग्नुभएको हो’, पृथ्वीसुब्बा निकट स्रोतले भन्यो । उम्मेदवारी मनोनयनको दिन पोखराबाट बेसीसहर पुगेका गुरुङले लमजुङमा एमालेबाट जितेका पालिका अध्यक्षहरुसँग छलफल पनि गरेका थिए ।

देव गुरुङ र पृथ्वीसुब्बा भिड्न आँटेको यस क्षेत्रमा गत स्थानीय चुनावमा १ लाख ३१ हजार ४९४ मतदाता थिए । यहाँको निर्वाचनमा दुवैलाई गाह्रो हुने देखिन्छ । स्थानीय तह प्रमुखको चुनावमा नेकपा एमाले एक्लैको मत गठबन्धनको मतभन्दा थोरैमात्र बढी छ । नेकपा एमालेले ८ पालिकाको प्रमुखमा कुल ४२ हजार ७२१ मत पाएको थियो ।

यता गठबन्धनका दलमध्ये नेपाली कांग्रेसको ३६ हजार ४१२ मत छ । माओवादी केन्द्रको मत ४ हजार ६५१ रहेको छ । नेकपा एमाले र गठबन्धनको प्राप्त मतको अन्तर १ हजार ६५८ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाभर ८२९ मत पाएको थियो ।


प्रतिक्रिया

One thought on “गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बाले प्रतिनिधिसभामा दिए उम्मेदवारी

  1. प्रदेशको चम्किलो तारा पिएसको चाहाना विपरीत सघंमा लिएर हेभिवेट उम्मेदवार संग जुधाउनु भनेको फरक मतमा रहेका पिएसको राजनितिक सिध्याउने चालबाजी हो 😡😡😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर