बाढीले बगाएका १३ जना अझै बेपत्ता, पहिरोमा पुरिएका एकै परिवारका दुईको मृत्यु
काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा सोमबार बाढीले बगाएका १३ जन मलामी अझै भेटिएका छैनन् । तिला कर्णाली नदी र कुकुर खोलाको भाडी खोला घाटमा दाहसंस्कार गरिरहेको अवस्थामा आएको बाढीले उनीहरुलाई बगाएको थियो ।
उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै, कालिकोटको तिलागुफा–७ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका एकै परिवारका पाँच जनामध्ये दुई जनाको शव भेटिएको छ । बाँकी तीनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
१५ र १७ वर्ष उमेरका दाजुभाईको शव भेटिएको हो । गृह मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर बाढी र पहिरोमा परेर १७ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता छन् । यस्तै १५ जना घाइते रहेको बताइएको छ । पहिरोका कारण मुगुमा ८ र हुम्लामा ४ जनाको ज्यान गएको हो ।