बागमती प्रदेशमा डेंगु संक्रमित २७ हजार बढी, २१ जनाको मृत्यु
हेटौंडा । बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको संक्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको संक्रमणबाट काठमाडौं सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ । काठमाडौंमा ११ हजार चार सय ६७ र रसुवामा सात जना सो रोगबाट संक्रमित भएको जनाइएको छ ।
निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभ्रेमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेंगु रोगको संक्रमण पृष्टि भएको बताइएको छ ।
त्यस्तै प्रदेशमा हालसम्म सो रोगको संक्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयका विवरणमा रहेको छ । काठमाडौंमा सात, सिन्धुली र रामेछाप तीन /तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई /दुई, भक्तपुर र धादिङ एक/एकजनाको मृत्यु भएको छ ।