केन्द्रीय सुरक्षा समिति बैठक : बाढीपहिरोले गरेको क्षति र आगामी निर्वाचनबारे छलफल
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले गरेको क्षति तथा आगामी मंसिर ४ मा हुने निर्वाचनबारे छलफल भएको छ ।
बुधबार दिउँसो गृह मन्त्रालयमा सम्पन्न बैठकमा गृहमन्त्री खाणले हुम्ला, जुम्ला, मुगु र कालिकोटमा बाढी र पहिरोले पु¥याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिएका छन् । टोलीको समन्वय गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेबारी दिइएको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
सरकारले तत्कालका लागि उपलब्ध गराउनुपर्ने राहत उपलब्ध गराइरहेको र दीर्घकालिन समाधानका लागि टोलीको प्रतिवेदन आएपछि रणनीति बनाएर अगाडि बढ्ने गृहमन्त्री खाणले बताए । बैठकअघि गृहमन्त्री खाणलाई मुगु र जुम्लाको टोलीले बाढी र पहिरोले पु¥याएको क्षतिबारे ध्यानाकर्षण गराएको थियो ।
त्यस्तै, बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखले अन्य सदस्यलाई जानकारी गराएका थिए । ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखले आग्रह गरेका थिए । कहाँ–कहाँ के सुरक्षा चुनौती छन् र ती चुनौतीलाई समाधान गर्न के गर्नुपर्छ भन्नेबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्टी गर्ने प्रस्ताव बैठकमा गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको थियो ।
गृहमन्त्री खाणले निर्वाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला–जिल्लामा पठाएको छ । त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयले निर्वाचनको तयारी गरिरहेका छन् ।
गृहमन्त्री खाणले सुरक्षा चुनौती पहिल्याएर समाधान गरेर अगाडि बढ्ने रणनीतिसाथ अगाडि बढ्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । समितिमा आएका तीन नयाँ सदस्यलाई पनि बैठकले स्वागत गरेको छ । सहसचिव बिनोदप्रकाश सिंह, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका रथी सरोजप्रताप राणालाई बैठकमा स्वागत गरिएको हो । गृहमन्त्रीको अध्यक्षतामा हुने सुरक्षा समितिमा गृहसचिव, रक्षासचिव, सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहने व्यवस्था छ ।