पोइट आइडलमा नारा र तुकबन्दी मेरो तर्फबाट छनोट हुँदैनन् (भिडिओ)
चार दशकभन्दा बढी समयदेखि प्रसिद्ध कवि, गीतकार तथा आख्यानकार विप्लव प्रतीक लेखनमा सक्रिय छन् । ‘नहारेको मान्छे’ कविता संग्रह, ‘अविजित’ उपन्यास जस्ता कृतिका सर्जक प्रतीक अहिले ‘द पोएट आइडल’ नामक कविताको रियालिटी शोको जजको भूमिका पनि छन् । तर, यो रियालिटी शो सुरु नहुँदै यसले आलोचना पनि खेप्नु परेको छ । स्रष्टाहरू ‘सृजनाको नम्बरिङ र प्रतियोगिता हुन नसक्ने’ भन्दै शोमाथि प्रश्नहरू तेर्सिइरहेका छन् । यिनै विषयमाथि प्रतीकसँग नेपा प्रेसले गरेको कुराकानीको सम्पादित अंश :
‘द पोएट आइडल’ को जज भएकाले तपाईँको व्यस्तता र दौडधुप बढेको होला । यो रियालिटी शोलाई कसरी हेरिरहनुभएको छ ? अथवा कसरी हेर्ने ?
खासमा दौडधुप छैन । जति दौडधुप अमन प्रताप अधिकारी र उसको टिमले गरेको छ । अमन प्रतापले पोइट रियालिटी गर्नुपर्यो भनेर चार वर्षअघि भनेको थियो । मलाई त्यसमा जज बनिदिनु भनेर भनेको थियो । यो रियालिटी कवितासँग जोडिएर डिजाइन गरिएको हो । अमन प्रतापले पनि स्पोन्सर खोज्दाखोज्दै थकित भएर सेलाउने वेला अचानक स्पोन्सर पाएपछि यो शो ब्युँझिएको हो । मैले यसलाई राम्रो रूपमा लिएको छु । म चाहिँ यसमा जज बन्छु भनेर भनेको थिइनँ । पार्टिसिपेन्ट बन्छु भनेको थिएँ । भाग्यले दियो भने दश लाख आउला भन्ने थियो । (हाँसो)
भनिन्छ, कविताको पनि जज हुन्छन् र ? पाठकको अदालतमा कविताको परीक्षण सफल भएको दिन त्यो कविता बन्न सक्छ । यदि त्यो प्रक्षेपण सफल भएन भने कविता पनि बन्दैन र कवि पनि बन्दैन । कविताको जजमेन्टलाई कसरी हेरिरहनुभएको छ खासमा ?
स्कुलमा फस्ट, सेकेण्ड, थर्ड र लास्ट बेन्चर भनेर विभेद गर्नुहुन्न भन्ने खालको मान्छे हुँ । तर, समाज अर्कै मोडमा पुगिसकेको वेला कसैले यो विषयमा पनि रियालिटी शो गर्छु भन्दा त्यसलाई एप्रिसियट गर्ने कुरा हो ।
कविता पाठकसम्म पुग्नु पनि पर्दैन । २००५ मा मेरो कविताको किताब छापिएको हो । त्यसअघि १० वटा जति कविता छापिएका थिए होलान् । मेरा लागि चाहिँ कविता लेख्नु भन्दा पनि कविको जीवन बाँच्नु ठूलो कुरा हो । तर, समय बदलिएर रियालिटी शो हुन्छ भने हेरौँला नि त । अनि जजमेन्ट गरौँला ।
सयौँ कविताबिचमा नम्बरिङ गरेर छान्न अप्ठ्यारो होला नि ?
मेरो सवालमा चाहिँ नाराहरू, तुकबन्दीहरु मेरो तर्फबाट पास हुँदैनन् । र ज्यादा मेटाफर भएकाहरू पनि पास हुँदैनन् । त्यहाँ क्राइट एरिया छ,– कुनै जात, धर्म, लिंगलाई कटाक्ष गरेको, मानिसमा वैरभाव, द्वेष फैलाउने चिज हुनु हुँदैन । केही नियम छन्, त्यो नियम अन्तर्गत बसेर मार्किङ गर्ने हो । कविता राम्रो हुन सक्ला, तर नियमअनुसार परेन भने स्वीकार गर्न सकिँदैन ।
अर्कातिर ‘तिम्रो रेशमजस्तो मुलायम केश’ भन्यो । सुन्दाखेरि बडो राम्रो भयो, वाह भयो । तर, त्यहाँ अनावश्यक मेटाफर छ नि त ! ‘रेशम जस्तो’ पनि भयो । ‘मुलायम’ जस्तो पनि भयो । अत्यधिक मेटाफर राखेको छ भने त्यो मेटाफर काम लागेन । सीधा तरीकाले भनेको छ भने पनि काम लागेन । अनि फेरि ‘पहाडको हरियो गलैँचामा उभिएर एउटा मयुर नाचिरहेछ’ भन्दा के भनेको हो ? ‘पहाडको हरियो गलैँचा’ भन्दा ‘पहाडबीचको हरियो जङ्गल’ भने भइहाल्यो नि ! त्यस्ता किसिमका चिजहरूलाई फाल्ने हो ।
नारा र तुकबन्दीहरुलाई पूर्ण निषेध गर्छु भन्नुभयो । कतिपय मान्छे भन्छन् कि नारा पनि कविता हो । कविता पनि कतिपय अवस्थामा परिस्थिति र कालले मागे अनुसार नारा हुन सक्छ । नारा पनि कविता हुनसक्छ । खास नारा र कविताबीचको भेद छुट्याउने चिज चाहिँ के हो ?
सबैको आ–आफ्नै अधिकारभित्रको कुरा हो । कसैले केलाई मान्छन्, कसैले केलाई मान्छन् । मेरो आफ्नो कुरा हो । पाब्लो नेरुदाले ‘म्याड्रिड सहर जलिरहेछ’ भनेर लेखे । त्यो वेलाको वास्तविक राजनीतिक अवस्थालाई लिएर लेखेका थिए । त्यो नारा थिएन, अहिले पनि सान्दर्भिक छ । गोपालप्रसाद रिमालले लेखेका कविताहरू नारा होइनन् ।
तर नारा चाहिँ कस्ता हुन्छन् ?
त्यो भन्न सक्दिनँ । मलाई के लाग्छ भने कविताबाट क्रान्ति गर्नु छ भने ठीक छ, सम्भव छ । आजसम्म संसारमा के विषयमा कविता लेखिएको छ ? कुनै अध्यात्म, वाद, दर्शनभन्दा माथि मानवीय संवेदना र सम्बन्धलाई लिएर अनेकथरीले भन्न सक्ने ठाउँ छ । तर हामी कवितामा नारा लिएर आउँछौँ, ‘देश दुखिरहेछ, हर्कबहादुर रोइरहेछ, सरकार के गरिरहेछ ?’ भन्नेलाई म कविता मान्दिनँ ।
कवि एक्टिभिस्ट हुन पाउँछ । तर, कविले ओपेड लेख्नुपर्यो । प्रोजमा भन्नुपर्यो । निबन्ध लेख्नुपर्यो । जुन चिजले अत्त्याइरहेको छ, त्यसलाई ओपेड, निबन्धमा भन्नुपर्यो । त्यसका निम्ति कवितालाई माध्यम नबनाउने नि ! कवितालाई त मन्त्रकै रूपमा रहन दिऊँ न !
पत्रकारितामै लागेकाहरूले आफूलाई वाच डगको रूपमा लिन्छन् । पत्रकारिता क्षेत्रलाई प्रश्न गर्ने क्षेत्रको रूपमा पनि लिइन्छ । तपाईँले लामो समय पत्रकारिता गर्नुभयो । के पत्रकारिता कहिलेकाहीँ कविताजस्तो हुन्छ ? तपाईँले भनेजस्तो ‘मन्त्र’ भइदिन्छ ?
पत्रकारिताले अहिले स्वरूप नै परिवर्तन गरिसकेको छ । पाठकले के कुरा रुचाउँछलाई छाडेर सम्पादक र प्रकाशकले के भन्न चाहिरहेको छ, पत्रकारिता त्यहाँ पुगेको छ । तर, हरेक चिज एउटा साइकल हो । कुनै न कुनै रूपबाट कुनै न कुनै चिजमा ट्रान्सफर्म भएर पुग्नुपर्ने ठाउँमा पुगिसकेपछि फेरि फर्केर कविता बन्न सक्ने, वाच डग नै हुने, समाजलाई रिफर्म गर्ने वेला पनि आउँछ होला ।
अहिले त पत्रिकामा कभर स्टोरी हेरेर थाहा हुन्छ, किन लेखिएको हो त्यो समाचार । लेखिनुपर्ने चाहिँ मानवीय रुचिको विषय हो । पत्रिकामा फगत धारणा मात्रै हुन्छ । जसरी सामाजिक सञ्जालमा धारणा मात्रै हालिन्छ । मलाई कुनै चिज मन परेन, लेखेँ, त्यो धारणा मात्रै हो । मैले मेरो धारणालाई क्रिटिकल्ली रिभ्यु गरेर हेरेको छु र ? क्रिटिकल्ली रिभ्यु गर्ने मान्छेमा हुनुपर्ने स्किल लोप भएर गइसक्यो । हुनसक्छ मेरा कवितामा पनि त्यसको असर होला ।
चार दशकभन्दा बढी समयदेखि निरन्तर लेखेर कवि, गीतकारको परिचय बनाउन तपाईँलाई कुनै प्रतियोगितामा भिड्नु परेन । अहिले तपाईँ स्वयं भने कविता नम्बरिङ गर्ने, प्रतियोगिताबाट विजेता छान्ने ठाउँमा हुनुहुन्छ । यो दोहोरो भूमिका कस्तो लागिरहेको छ ?
एकेडेमीले राष्ट्रिय कविता महोत्सवका लागि पञ्चायतकालमा एउटा शीर्षक दिन्थ्यो । त्यो शीर्षकमा कविता लेख्नुहुपर्थ्यो । त्यो वेला मधुपर्क र गोरखापत्र मात्रै थियो । त्यतातिर कविता छपाउन पठाएँ, कहिल्यै छापिएन । ०५२ सालतिरबाट मात्रै छापिएको हो । एकेडेमीमा दुई तीन वटा पठाएको थिएँ । तर, कहिल्यै सेलेक्ट भएन । हुँदा हुँदा एक जना साथीले ‘सामेल नै भएन मेरो’ भन्दा ‘ए पठाउनु, हुन्छ’ भनेर पठाउँदा पनि आएन ।
एउटा कवि पहिचान खोजेर बसेको मान्छे पनि हुँदो रहेछ । एउटा फेजमा पुगेपछि त्यो पनि नचाहिने रहेछ । कवि हुने हो । कविको जीवन बाँच्ने हो । कहिलेकाहीँ कविता लेख्नु पनि जरुरत हुँदैन भन्ने ठाउँमा पुगिन्छ ।
तर, नम्बरिङ गर्ने ठाउँमा पुग्दा समाज कसरी ट्रन्सफर्म भइरहेको छ, त्यो हेर्ने हो । संसारभर हेर्दा पोइट आइडल नयाँ कन्सेप्ट होइन होला । अरू रियालिटी शोहरु पनि भइरहेकै हुन्छन् ।
अब गायन रियालिटीकै कुरा गर्दा त्यहाँ अरूको गीत गाउन पाइयो । नृत्यमा अरूको गीतमा नाच्न पाइयो । अन्य रियालिटी शो पनि यही प्रकृतिका हुन्छन् । तर, साधना, जीवनको बोध, समाजप्रतिको गहिरो दृष्टिकोण र अध्ययनबाट सृजना हुने कविता र कविलाई अन्य रियालिटी शोले गायक, नृत्यकार बनाएजस्तो कवि बनाउँछ र ?
यो शो कवि बनाउन गरेको भन्दा पनि यसलाई मान्छेमा रहेको इन्ट्रोभर्टनेसबाट मुक्त भएर बाहिर निस्कने खुड्किलोको रूपमा लिनुपर्छ । म फाँडेर राख्छु भन्ने मान्छे आए भने आफैँ फाँडिएर जान्छन् । यो शो पैसाका लागि मात्रै होइन । कवितालाई एप्रिसियट गर्न कुन चाहिँ मान्छेले जानेको छ ? कुन चाहिँ स्कुलले जानेको छ ?
हामीले थोरबहुत कवितालाई एप्रिसइट गर्ने माहौल बनाउन सक्छौँ कि ! एक कवि कतै टिभी शोमा गएर अन्तर्वार्ता दिँदा मात्रै माहौल बन्दैन । तर, निरन्तर जाँदा केही असर होला कि । फाइनल्ली जो मान्छे पोएट आइडल हुन्छ, त्यहाँ शोको यात्रा टुंगिन्छ । त्यसपछि सबै क्लियर हुन्छ । यसलाई संशयपूर्ण तवरले हेर्नु पर्दैन ।
एउटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ
एउटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ
उल्लेखित कविता एमाले नेता मदन भण्डारीलाई सम्बोधन गरेर अत्यधिक प्रयोग भएको पंक्ति हो । तपाईँले लेखेको यो कविताको प्रसङ्गतिर जाऔँ न । कहिले कसरी लेख्नुभएको थियो ?
बुवा आन्दोलनमा लाग्नुभएकाले त्यसको प्रभाव पर्नु स्वाभाविक भयो । पञ्चायत गएपछि बहुदल आयो । तर, काम गर्ने तरिकाहरू उस्तै थियो । सिस्टम बदलियो, सोच बदलिएन । मदन भण्डारीले केही गर्छ भनेर सोचिरहेको वेला दुर्घटना भयो । म एकदमै आहत भएर लेखेको कविताको दुई वटा लाइन हो । त्यो पूरा कविता छ, संग्रह आउँदा निस्कन्छ ।
नेता भण्डारीको मृत्युपछि दृष्टि साप्ताहिकमा सप्लिमेन्ट निस्कियो । त्यहाँ कविता त्यही वेला गइसकेको हो । त्यस वेला छापिएन । तर, त्यो दुई लाइन चाहिँ संवेदना स्वरूप प्रकट गरियो । सबै पत्रिकाभरि त्यही भयो । नेपाल यात्रा पनि त्यही नारा राखेर गरे ।
सम्पादक अग्नीशिखा हुनुहुन्थ्यो । उहाँले बुधवार पत्रिका आउँदा ‘गत अंकमा छापिएको दुई हरफ यही कविताबाट उद्धृत गरिएको हो’ सम्पादकीय नोट लेख्नुभएको थियो । त्यो नजरअन्दाज भयो । र मदन भण्डारीद्वारा लिखित भनियो । त्यसमा मलाई केही फरक परेन ।
यो कविता मदन भण्डारीका लागि मात्रै लेखिएको होइन । प्रदीप गिरी पनि बित्नुभयो । उहाँका लागि पनि लेखिएको हो । तमाम योद्धाका लागि लेखिएको हो ।
आफ्नो सृजना एकदमै धेरै मासमा जाँदा र त्यसको क्रेडिट नपाउँदा अलि दुःखी महसुस भयो होला नि ?
एउटा समयमा स्वाभाविक रूपमा चित्त दुखेको थियो । मैले केही नेताहरूसँग कुरा गर्दा एकदमै हल्का रूपमा लिए । यति मात्रै हो, म मरेर जाँदा म आफूलाई योद्धा भनेर लेख्दिनँ । मदन भण्डारीले कविता लेख्नुहुन्थ्यो भने पनि मैले लेखेको र उहाँले लखेको शैलीमा कति भिन्नता छ, त्यो पनि हेर्नुपर्यो । अहिले त त्यस्तो केही लाग्दैन, चित्त पनि दुख्दैन ।
अघि नाराहरू चाहिँ खासै इन्जोय गर्दिनँ भनेर भन्नुभयो । यद्यपि तपाईँले लेखेको कविताको दुई लाइन नाराजस्तो भएर गयो, यसलाई कसरी लिनुहुन्छ ?
मैले लेखेको त्यो तरीकाले पनि होइन । अब त्यो नारा हो जस्तो पनि मलाई लाग्दैन । हाम्रो समाजमा आफ्नो धारणा राख्न एकदमै हतार गर्छन् मान्छेहरू । एक जना भाइले चाहिँ ‘मलाई यो विधवा भन्ने शब्द नै मन पर्दैन, शब्द कोषमा पाए हटाइदिनुपर्छ’ भनेर पनि भने ।
विधवा कुनै गाली होइन । विधवाको अगाडि विशेषण जोडियो भने त्यो विभेदकारी र अन्यायपूर्ण हुन्छ । तर विधवा भनेको स्टाटस हो । म विवाहित हो भने विवाहित । यदि मेरी श्रीमती बितिन् भने म विदुर । डिभोर्स भएको छ भने म डिभोर्सी भएँ । विवाह नै भएको छैन भने सिंगल भएँ ।
त्यो स्टाटस जनाउने शब्द उडाइदिनुपर्छ भन्ने पनि आए । यही कविता ‘मैले लेखेको हो’ भनेर भन्दा दासढुंगा भन्ने फिल्ममा हालेका मान्छेले ‘चर्चित हुन भन्ने ?’ भनेर भने । ‘म चर्चित हुनका लागि यो काम गरेँ भने तिम्रा लागि अहिले म जन्मिएको छैन’ भनेर फोन राखेँ ।
नेतालाई फोन गर्दा हल्का रूपमा प्रकट भए । फिल्मको प्रसङ्गमा चर्चित हुन खोजेको आरोप थाप्नुभयो । सृजनालाई हामी किन यति हल्का रूपमा लिन्छौँ ?
यसमा म यसै भन्न सक्दिनँ । एउटा कुरा त सर्जकले आफ्नै सृजनामा सम्मानजनक रूपमा काम गरिरहे जस्तो लाग्दैन । साधना गर्दैनन् । म कसरी स्थापित हन सकूँ, कसरी चर्चित हुन सकूँ भन्नेतिर मात्रै लागेका छौँ ।
पपुलर हुनका लागि गाह्रो हुँदैन । तर पपुलर हुँदा कविता गुमिसकेको हुन्छ । मलाई पपुलर हुनु छैन । तर, मेरो जीवन कसरी बिताइरहेको छु, त्यो महत्त्वपूर्ण हो । म बाँचुन्जेल खुसी हुन्छु । मरेपछि मलाई के हुन्छ, केही चासो छैन । मेरो कारणले मैले जानेर कसैको चित दुखाएको छैन । अभरमा पर्दा पनि अरूलाई दुःख नदिऊँ लाग्छ । म आफू सही ठाउँमा बसेर काम गर्न सक्छु भने सधैँ अरूका लागि गर्छु । र मस्तीले जीवन बाँचिरहेको छु । म चाहिँ त्यतातिर किन यस्तो छ भनेर सोच्दै सोच्दिनँ ।
पोएट आइडलप्रति सामाजिक सञ्जालमा भत्र्सनाहरु आइरहेका छन् । कविता लेख्ने जमातबाटै एकदमै आलोचना खेपिरहेको छ, किन ?
त्यसबारे निर्माण टिमले ख्याल गरिरहेको होला । त्यसलाई रुचिकर, अझै परिमार्जित गरेर लैजाला नि । आलोचनाले झनै शक्ति प्रदान गर्छ जस्तो लाग्छ । सबैको आ आफ्नो बोल्ने अधिकार छ । विरोध गर्यो भनेर त्यसको विरोध गर्ने, झगडा गर्ने होइन । काम गर्ने हो ।
क्षेत्रप्रताप अधिकारी र पोएट आइडललाई लिएर पनि प्रश्नहरू उठिरहेका छन् नि ?
क्षेत्रप्रताप अधिकारीको ठाउँमा अरू कोही भए पनि राजतन्त्र मन पराउनेले राजाको विषयमा गीत लेख्थे नै । उहाँ साझा यातायातको कन्डक्टर मान्छे साझाको चेयरम्यानसम्म हुनुभयो । त्यहाँसम्म पुग्नलाई राजा महेन्द्रले टपक्क टिपेर राखिदिएको होइन । उनको प्रतिभाले पुगेको हो ।
कवि भएपछि उनीहरू सन्तको लेभलमा पुग्नुपर्छ । मलाई कसैले अपमान गरेको छ भने त्यसबाट सिक्ने हो कि अरूलाई अपमान नगरूँ ! कविले गाली गर्दैन । कविसँग घृणा हुँदैन । कविसँग अहंकार हुँदैन ।
०००