दाङमा दुई बालबालिकालाई एउटै खाल्डोमा हत्या गर्ने योजनाकारसहित केही पक्राउ
तुलसीपुर । दुई बालबालिकालाई तुलसीपुर उपमहानगरपालिकाको जंगलमा लगी एउटै खाडलमा हत्या गर्ने मुख्य योजनाकारसहित केही युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका- ६ निवासी २१ वर्षीय सुशील पुन मगर र मकावनपुर हेटौंडा नगरपालिका- ८ निवासी २४ वर्षीय सुवास थिङ छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका-१३ का केही युवालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये केहीले हत्या गरेको र केहीले शव व्यवस्थापनमा सघाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुरुमा शरद आचार्यको हत्या गरेका आरोपीले रोशनी महतारा चिच्याएपछि पोल खुल्ने डरले उनको पनि हत्या गरेको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले आधिकारिकरूपमा भने घटना विवरण सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले घटनाको सुक्ष्म अनुसन्धान जारी रहेको बताए ।
दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका वडा नं ६ थपगाउँ घर भई दमारगाउँमा मामाको घरमा बस्दै आएका १५ वर्षीय शरद आचार्यको शव तुलसीपुर-१३ जनकल्याण सामुदायिक वनको जंगलमा आइतबार दिउँसो एउटै खाडलमा हत्या गरेर पुरेको अवस्थामा भेटिएको थियो ।
उनीहरूको शव आइतबार बेलुका अबेरमात्रै पोष्टमार्टमका लागि भनेर तुलसीपुर ल्याइएको थियो । शव फेला परेको २४ घण्टा बढी बितिसक्दा पनि अझै पोष्टमार्टम हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए ।
यसैबीच उनीहरू दुईजनाको शवको पोष्टमार्टम फरेन्सिक विज्ञबाट गरिने भएको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका रेस्मी अधिकारीले जानकारी दिए ।
प्रहरीले आग्रह गरे अनुसार पाँच र छ वटा चेकजाँच गर्नसक्ने उपकरण तथा सम्बन्धित क्षेत्रका विज्ञ प्रादेशिक अस्पतालमा नरहेकोले घोराहीबाट बोलाइएको उनले बताए ।
घटना अनुसन्धानका लागि आइतबारदेखि नै तुलसीपुरमा खटिएका जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमका अनुसार तुलसीपुरका चिकित्सकले नमानेपछि पोष्टमर्टमका लागि शव घोराही पठाउने कि भनेर छलफल चलेको घोराहीबाट सम्बन्धित क्षेत्रका विज्ञ बोलाएर तुलसीपुरमै पोष्टमार्टम गर्ने निर्णय भएको छ ।