अखिल भारत एकता समाजको आरोप : पाँच दलले राष्ट्रहितमा काम गर्न सकेनन्, देश बाहिरका मतदाताको अधिकार खोसियो – Nepal Press

अखिल भारत एकता समाजको आरोप : पाँच दलले राष्ट्रहितमा काम गर्न सकेनन्, देश बाहिरका मतदाताको अधिकार खोसियो

रुपन्देही । अखिल भारत नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरुलाई सम्बन्धित देशबाटै मताधिकारको प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यान्वयन नगरेकोमा विरोध जनाएको छ ।

संगठनले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एकता समाजको लामो समयसम्मको संघर्षबाट विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यान्वयन नभएकोप्रति आपत्ति जनाएको हो ।

एकता समाजले भारतीय सीमा क्षेत्रमा हुने लुटपाट तथा अपमानजनक व्यवहारमा पर्ने नेपालीहरुका लागि काम गरिररहेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै एकता समाजका अध्यक्ष देवबहादुर लामिछानेले भारतमा रहेका नेपालीहरुको सुरक्षा अवस्था दयानीय रहेको बताए । ‘नेपालीहरुले कमाएको धन सम्पतिको सुरक्षा हुन नसक्दा नेपालीहरु पीडित छन् । त्यसका लागि सरकारले राज्यस्तरबाटै उचित कदम चाल्नुपर्ने आवश्यकता छ’, उनले भने ।

भारतमा काम गर्ने मजदुरहरुका लागि सहज बैँकिङ सुविधा नहुँदा हुन्डीको मारमा पर्ने गरेको उनले बताए । एकता समाजले भारतमा काम गर्ने मजदुरहरु, बिरामी भई उपचार गर्न जानेहरू र अध्ययनका लागि भारत गएका विद्यार्थीहरुलाई लक्षित गरी सहज बैँकिङ कारोवारका लागि राज्य स्तरबाट पहल कदमी लिन माग गरेको छ ।

एकता समाजले भारतद्धरा अतिक्रमण गरेको भूमि फिर्ताका लागि ठोस रुपमा कुटनीतिक पहल लिन सरकारसँग माग गरेको छ । समाजका महासचिव महेन्द्र बस्यालले भारतले निरन्तर नेपाली भूमिको अतिक्रमण गरिरहेको भन्दै त्यसमा सरकारले कुटनीतिक तवरले समस्याको समाधान खोज्नुपर्नेमा त्यसो गर्न नसकेको बताए ।

समाजले नेपालमा हालसालै निर्माण सम्पन्न भएका गौतमबुद्ध विमानस्थल तथा पोखरा विमानस्थलमा भारतबाट सीधा उडानको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । भारतबाट सीधा उडान भएमा दुवै देशका जनतालाई परस्पर लाभ हुने र नेपालको पर्यटनमा सहयोग पुग्ने समाजले विश्वास लिएको छ ।

राष्ट्रिय जनमोर्चासमेत समेल भएको पाँच दलीय गठबन्धनको सरकारले गरेका राष्ट्रघाती कामहरु एमसीसी सम्झौता, र नगरिकता विधेयकलगायतलाई खारेज गर्नुपर्नेमा समाजको जोड छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर