निरन्तर प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्छ: सोम कुमाल – Nepal Press

निरन्तर प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्छ: सोम कुमाल

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बुधबार पोखरा रंगशालामा एथलेटेक्समा ८ सय मिटर दौडमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले स्वर्ण पदक जितेका छन् । कुमालले मंगलबार पनि चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए।

गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन् । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले । उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी हुनुहुन्थ्यो, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्तासँगै उनमा थियो ।

आफ्नो कीर्तिमानले दिएको खुसीसँगै प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्ने उनले बताए । पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको जनाउँदै उनले निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिए । नवौँका लागि चार वर्ष प्रतीक्षा गरेको बताउँदै उनले राष्ट्रिय खेलकुद नियमित गर्न आग्रह गरे । उनको लक्ष्य अब राष्ट्रिय प्रतियोगिताबाट माथि उठेर दक्षिण एशियाली र एशियाली प्रतियोगितासम्म पुग्ने र देशलाई पदक दिलाउने छ ।

उनी भन्छन्, ‘देशमा प्रतियोगिता नियमित हुनुपर्दछ नत्र हाम्रो स्तर खस्किन्छ । नियमित खेल भयो भने साउथ एशियन र एशियन लेभलसम्म पुग्न सक्छौँ । यसका लागि देश लाग्नुपर्नेमा खेलाडी व्यक्ति मात्र लागि पर्दा हामी माथिल्लो स्तरमा पुग्न सकेका छैनौँ ।’ उनले सन् २०१८ मा इन्डोनेसियामा भएको ‘एसियन गेम्स’मा आठ सय मिटरको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि पदक ल्याउन सकेको छैन । सोमको अनुभवमा नेपालीसँग खेल्न विदेशी पनि डराएका हुन्छन् तर नेपालको खेल वातावरण नभएकाले उनीहरु हावी हुने गरेको कुमालले बताए ।

‘हाम्रोमा नियमित खेल्ने वातावरण छैन, ट्याकमा दुई÷तीन वर्षसम्म खेल नहुँदा कमजोर भएर बस्नुपर्ने बाध्यता छ । ट्रयाक हाम्रा लागि भगवान् हो, यही भनेर कुरेर बसेका छौँ हामी । राम्रो खेल देखाउन प्रतियोगिता नियमित आयोजना हुनुप¥यो ।’ उनी थप्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *