एमालेमा पुस्तान्तरण भइरहेको छ : आनन्द पोखरेल
दोलखा । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले एमालेमा पुस्तान्तरण भइरहेको बताएका छन् । एमाले बैत्यश्वर गाउँपालिका कमिटीद्वारा आयोजित कार्यक्रममा पोखरेलले एमालेमा क्रमशः पुस्तान्तरण भइरहेको र यसको उदाहरण यही निर्वाचन पनि भएको बताउँदै अब एक महिना सबै नेता कार्यकर्ता सुतेर बस्ने बेला नभएको बताए ।
कार्यकर्ता, उम्मेदवार र मतदाता भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले एमालेको सरकारले देश समृद्ध बनाउन उल्लेख्य कार्य गरेको बताउँदै एमालेले समृद्ध देश निर्माणका लागि योजना निर्माण र तयारी गरेकाले यो अवसर एमालेलाई नै दिनुपर्ने बताए । उनले समृद्ध दोलखा निर्माणका लागि बाँकी अधुरा काम आफूले पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, ’हामी विपक्षी पार्टीलाई मित्रवत तरिकाले चुनावमा जानुपर्ने बताउँदै आएका छौँ र यसलाई हेक्का राख्न पनि अनुरोध गर्दछौँ’ ।
त्यस्तै, प्रदेशसभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठले बैत्यश्वर कम्युनिष्टको उद्गमस्थल रहेको भन्दै स्व. पशुपति चौलागाईंका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । चौंलागाईको अतुलनीय योगदानको उनले सम्झना गर्नुभयो। उम्मेदवार श्रेष्ठले आफ्नो पार्टी निष्पक्ष निर्वाचनको पक्षमा रहेको बताए ।