प्रतिक्रान्तिकारी कम्युनिष्टभन्दा कांग्रेस धेरै उत्तम : प्रचण्ड (भिडिओ) – Nepal Press

प्रतिक्रान्तिकारी कम्युनिष्टभन्दा कांग्रेस धेरै उत्तम : प्रचण्ड (भिडिओ)

'दुईतिहाइको सरकारबाट १७ साल फर्काउने खतरा भएपछि गठबन्धन'

रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो निर्वाचन ठूलो राजनीतिक लडाइँ भएको बताएका छन् ।

लुम्बिनीस्तरीय गठबन्धन दलका कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘करिब दुईतिहाइको बहुमत पाएको सरकारबाट संविधान उल्टाउने र १७ साल फर्काउने खतरा भएकोले हामीले यो गठबन्धन बनाएका हौं ।’

ओली सरकारविरूद्व पार्टीभित्र लड्ने प्रयास गरेको भन्दै प्रचण्डले मंसिर ४ मा त्यो विषय सम्झन कार्यक्तालाई आग्रह गरे ।

नेता दाहालले गणतन्त्र र लोकतन्त्रविरूद्व भएको षड्यन्त्र प्रयासलाई पराजित गरेको र त्यो अबको चुनावबाट सफल हुनेवाला भएको जिकिर गरे ।

‘प्रतिगमनकारी गठबन्धन रोज्ने कि लोकतन्त्र, गणतन्त्र र लोकतन्त्र जोगाउने गठबन्धन रोज्ने भन्ने फैसला मंसिर ४ गते हुनेछ’, प्रचण्डले भने ।

रूस र चीनका कम्युनिष्ट पार्टीको उदाहरण दिँदै उनले कुन शक्तिलाई लिएर हिँड्ने भन्ने सिक्नुपर्ने औंल्याए ।

‘प्रतिगमन र प्रतिक्रान्तिकारी नेपाली कांग्रेस धेरै उत्तम हो, नेपालका सबै उपलब्धि कांग्रेससँग मिलेर भएका छन्, यसको अवस्थालाई बुझौं’, दाहालले भने ।

शान्ति सम्झौता गर्दा नै कांग्रेस-माओवादीले एकअर्कामा भोट हालिसकेको भन्दै प्रचण्डले अहिले गठबन्धनमा भोट दिन सकिन्न भन्ने विषय कुनै मानेमा उपयुक्त नभएको बताए । गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधव नेपाल नभएको भए शान्ति सम्झौता नहुने भन्दै उनले गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर