कस्तो बन्दैछ तिनाउमा सिग्नेचर पुल ?
रुपन्देही । रुपन्देहीको मुख्यभागमा रहेको बुटवलस्थित तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल बन्ने भएपछि यहाँको विकासमा थप पहिचान थपिने भएको छ ।
चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयारीको काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । आर्किटेक डिजाइन तयारीको काम अन्तिम चरणमा पुगेको पुल विश्व बैंकको सहयोगमा बन्न लागेको हो ।
अहिले भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले पुलको आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ । यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ ।
सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरि पोखरेलले अहिलेको पुल विस्थापित गरेर वा त्यसको तल वा माथि उपयुक्त स्थानमा सिग्नेचर पुल निर्माणको लागि डिजाइनको अन्तिम तयारी भइरहेको जानकारी दिए । यो पुल निर्माणसँगै बुटवलदेखि कपिलबस्तुको गोरुसिंंगे सम्मको सडक समेत विस्तार गरिने उनले बताए ।
सिग्नेचर पुल सामान्य पुल जस्तै मोटरेबल नै भए पनि नयाँ प्रविधिबाट निर्माण हुने पुल महाशाखाले जनाएको छ । झट्ट देख्दा नेटवर्क आर्क व्रिजजस्तै देखिने भए पनि यो आर्क व्रिजभन्दा अझ आकर्षक हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होमबहादुर केसीले बताए ।
चार लेनको पुलमा प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिंड्नका लागि फराकिलो फुटपाथसमेत रहने छ । यसका साथ पुलबाट बुटवलको उत्तर दक्षिणसँगै जितगढी किल्लाको दृश्य अवलोकन गर्नका लागि आकर्षक पार्क, र कफिसपहरू सञ्चालन गर्ने गरी डिजाइन भएको इन्जिनियर पोखरेलले बताए ।
शहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरूका लागि आकर्षण बनाउन तिनाउमा पानिका फोहोरा तथा आकर्षक लाइटहरूको व्यवस्था हुनेछ । महाशाखाका अनुसार यस्ता पुलहरूले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ । युरोपका धेरै देशहरूमा यस्ता पुलहरू बनेको र त्यहां लोकप्रिय भएकाले नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रको सवारी चाप समेत अत्यधिक बढेका कारण नयाँ सिग्नेचर ब्रिज निर्माणका लागि तयारी थालिएको हो । सडक विभाग अन्तर्गत पुल महाशाखाले भविष्यमा बुटवलको सवारी व्यवस्थापन र जितगढी किल्लाको पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुर्याउने गरी पुल बनाउन लागेको हो । रुपन्देहीलाई विकासको रोलमोडल बनाउने ड्रिम प्रोजेक्टहरु एकपछि अर्को पूर्ण हुँदा विकासमा नयाँ आयामहरु थपिएको छ ।
बन्ला त तिनाउमा जलविहार ?
कालिगण्डकी डाइभर्सन गरेर वा ड्याम बनाएर तिनाउको जलसतह बढाउने योजना अहिले प्रारम्भिक रूपमा अघि बढिरहेको छ । पानीको सतह तिनाउमा बढ्दा तिनाउलाई जलपर्यटनको विकास मात्र होइन, तिनाउमा जलविहार बनाउने उद्देश्यले सहित पुलको परिकल्पना गरेर योजना बुटवलमा पारेको एमाले उपाध्यक्ष एवं रूपन्देही क्षेत्र नं. २ का पूर्वसांसद विष्णु पौडेलले बताए ।
‘पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्लासमेत रहेकाले पर्यटनको अथाह सम्भावनालाई ध्यानमा राखेर सिग्नेचर ब्रिज निर्माण गर्ने योजना बनाइएको हो,’ उनले भने, ‘पुललाई मुलुकमा हालसम्मको सबैभन्दा नयाँ, आकर्षक र अत्याधुनिक प्रविधिसहित डिजाइन गरिनेछ, त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका सिग्नेचर ब्रिज डिजाइनरहरूबाट डिजाइन र स्टिमेटको भइरहेको छ ।’ तिनाउको सिग्नेचर पुल र चन्द्रौटासम्मको सडकका लागि ३५ अर्ब रकमको स्रोत सुनिश्चित भइसकेको छ ।
यसरी सम्भव भयो तिनाउमा पुल
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरू बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुसार विश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो ।
विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि पौडेलले बजेट विनियोजन गरेका थिए । तर अहिलेको सरकारले सबैलाई बजेट व्यवस्थापन गर्न नसकेपनि नेता पौडेलको क्षेत्रमा कटौती गर्न सकेन ।
एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भएको समयमा चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा गरी २ वटा विशेष प्रकारका आकर्षक डिजाइनमा सिग्नेचर पुल बनाउने गरी बजेट विनियोजन भएको थियो ।