प्रधानमन्त्रीकै गृह जिल्लामा कांग्रेस वडा समितिद्वारा चुनाव बहिष्कार, देउवासँग मात्रै वार्ता गर्ने अडान – Nepal Press

प्रधानमन्त्रीकै गृह जिल्लामा कांग्रेस वडा समितिद्वारा चुनाव बहिष्कार, देउवासँग मात्रै वार्ता गर्ने अडान

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली काङ्ग्रेसकै वडा समितिले चुनाव बहिष्कार गर्ने भएको छ ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको भन्दै भागेश्वर गाउँपालिका–५ को वडा समितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको उल्लेख गरिएको छ ।

थापामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ ।’

यस बिषयमा जिल्लाका कुनै पनि नेतासँग वार्ता नहुने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ । ‘यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्ला स्तरका नेपाली कांग्रेसका कुनै पनि नेताहरूसँग वार्ता नगरी स्वयम सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्र वार्ता गर्ने कुरा जानकारी गराइन्छ ’ विज्ञप्तिमा भनिएको छ ।

डडेल्धुरामा प्रतिनिधि सभा तर्फ प्रधानमन्त्री स्वयं उम्मेदवार छन् भने प्रदेश सभा २ मा काङ्ग्रेसकै गोविन्द बोहरा र १ मा गठबन्धनबाट माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर