१२ बुँदे सहमतिमा मैले, प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं : माधव नेपाल
‘एमाले परिवर्तनको बाधक हो, संविधानविरोधीसँग साँठगाँठ गर्दैछ’
कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियाको १२ बुँदे सहमतिमा आफूसहित प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको बताएका छन् ।
सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जनयुद्धका क्रममा मैले माओवादीलाई भेटेर कुरा गरेको थिएँ । १२ बुँदे सहमतिमा मैले प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं । कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिलेमात्रै होइन । पुरानो हो ।’
उनले सबै कार्यकर्तालाई गठबन्धन दलको औचित्यमा प्रस्ट पारेर चुनावी अभियानमा लाग्न निर्देशन दिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै अझै लोकतन्त्रमाथि खतरा रहेको जिकिर गरे ।
अध्यक्ष नेपालले भने, ‘हामीले समयमा कदम नचालेको भए लोकतान्त्रिक संविधान जोगिने थिएन । गणतन्त्रको रक्षा हुने थिएन । मुलुक प्रतिगमनतिर जाने थियो । सबै उपलब्धि सकिने थियो । अहिले पनि लोकतन्त्र जोखिममा छ ।’
उनले एमालेले संविधान विरोधीहरुसँग गठबन्धन गरेको आरोप लगाए । ‘एमाले प्रगति र परिवर्तनको बाधक भएको थियो । त्यसैले हामीले विद्रोह गरेका हौं । गठबन्धन दलका उम्मेदवारलाई जिताउन लाग्नुहोस् । मित्रवत् प्रतिस्पर्धा भएको ठाउँमा कलमलाई हेर्नुहोला । अन्य ठाउँमा गठबन्धनको उम्मेदवारलाई जिताउनु होला’, उनले भने।
प्रतिगामी शक्तिलाई पराजित गर्न एकजुट हुनसमेत उनले आह्वान गरे ।
एमालेलाई गाली गर्ने र कसले प्रधानमन्त्री खाने भन्ने् भन्दा अरू केही एजेण्डा नै रैनछ गठबन्धनको । यिनको खास एजेण्डा भनेको देश लुटने र भारतलाई बेच्ने हो ।