सरकारी गाडी दुरुपयोग गरेको भन्दै खानेपानीमन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण – Nepal Press

सरकारी गाडी दुरुपयोग गरेको भन्दै खानेपानीमन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण

तीन दिनभित्र प्रतिवेदन पेस गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रहरीलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको भन्दै खानेपानी मन्त्रीसमेत रहेका बारा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले उनलाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफै उपस्थित भई वा प्रतिनिधिमार्फ लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीले चुनावी प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था रहेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो । ‘तपाईंले चुनाव प्रचार प्रसारका क्रममा सरकारी (रातो तथा निलो) नम्बर प्लेट भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरेको हो होइन ? यदि निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी तपाईंबाट उक्त कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम तपाईंलाई किन कारबाही गर्नु नपर्ने हो ?’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

आयोगबाट मन्त्री चौधरीले प्रचारप्रसारका क्रमम सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी प्रयोग प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेश गर्न उक्त निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय, बारालाई समेत पत्राचार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर