जेरीले श्रीमान्‌सँगै मनाइन् जन्मदिन, डिभोर्सपछि विदेशिने सोच – Nepal Press

जेरीले श्रीमान्‌सँगै मनाइन् जन्मदिन, डिभोर्सपछि विदेशिने सोच

शंकरलाई गाली नगर्न जेरीको अनुरोध

काठमाडौं । सम्बन्धविच्छेदको प्रक्रियामा रहेका दोहोरी गायक-गायिका बबिता बानिया ‘जेरी’ र शंकर क्षेत्री हिजो साँझ एउटा जमघटमा अर्थपूर्णरूपले एकसाथ प्रस्तुत भए । त्यो जमघट थियो- जेरीको वर्थ डे सेलिब्रेसन ।

काठमाडौं जिल्ला अदालतमा श्रीमतीविरुद्ध डिभोर्सको मुद्दा दायर गरेका शंकर सहृदयीरूपमा जेरीको जन्मदिनको कार्यक्रममा सरिक भए । शंकरकै योजनामा जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो । जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन् । अनि, शंकरले पनि जेरीलाई खुवाए । तर, सम्बन्धविच्छेदको प्रसंगका कारण जन्मदिनको समारोह समग्ररूपमा भावुक बनेको थियो । उपस्थित कलाकारहरूको आँखामा आँशु थियो ।

जेरी र शंकरले एकअर्काप्रति सहानुभूति र सौहार्दता प्रस्तुत गर्दै सञ्चारमाध्यमसँग कुराकानी गरे । अहिलेसम्म सम्बन्धविच्छेद नभइसकेको बताए पनि यो अब टर्न नसक्ने उनीहरूले संकेत गरे । लालिगुँरास डेली युट्यूव च्यालनका सञ्चालक कमल सरगमसँग उनीहरूले आफूहरूको सम्बन्धबारे खुलेर कुराकानी गरेका थिए । दुवैले आपसी समझदारी र सहमतिमै सम्बन्ध टुंग्याउन लागेको बताए । यद्यपि, सम्बन्धविच्छेदका लागि जेरीभन्दा शंकरको बढी रुची रहेको सो वार्तालापबाट बुझ्न सकिन्थ्यो ।

सम्बन्धविच्छेको समाचार फैलिएसँगै खासगरि शंकरमाथि नकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । जेरीले यसलाई लिएर दु:ख व्यक्त गरिन् । आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्ने दर्शकहरूलाई आग्रह गरेकी छन् ।

आफ्ना फ्यान र शुभचिन्तकहरूलाई थप दु:खी तुल्याउने गरी जेरीले नयाँ खुलासा पनि गरिन् । उनले डिभोर्सपछि आफू विदेशिने सोचमा रहेको बताइन् ।

@shankarchhetri262

#trendingvideo #shankarchhetri9 #shankar #newtrend

♬ original sound – shankarchhetri262

‘म वा उहाँमध्ये एकजना विदेश जाने निश्चित छ,’ जेरीले भनिन्, ‘सायद म नै जान्छु होला ।’

जेरीको सहारामा शंकरले आफूलाई दोहोरीमा स्थापित गराएको भनेर आएका कमेन्टहरूप्रति पनि सरगमले जिज्ञासा राखेका थिए । शंकरले त्यसलाई स्वीकार गरेनन् ।

उनले भने, ‘कसैको सहाराले मात्र सफल भइन्छ भन्ने गलत हो । आफ्नो क्षमता पनि चाहिन्छ । मेरो कारणले पनि उहाँलाई केही हेल्प भयो होला ।’

जेरीले पनि आफूहरू दुवैले एक-अर्काको सपोर्ट पाएको बताइन् । संघर्षको अवस्थामा आफूहरू भेट भएको भन्दै उनले दुवैजना एकअर्काको सहारा बनेको उल्लेख गरिन् ।

जेरी र शंकर सम्बन्धविच्छेद टुंग्याउनका लागि बिहिबार अदालत गएका थिए । तर, एउटा सानो भाषिक व्यहोरा नमिलेर उनीहरूले सम्बन्धविच्छेदमा हस्ताक्षर गर्न पाएनन् । अदालतले हिजो आइतबार बोलाएको थियो । तर, आइतबार आफ्नो जन्मदिन परेकाले अदालत नगएको जेरीले बताइन् । आजबाट अदालत बिदा भएकाले अब तिहारपछि मात्रै उनीहरूको सम्बन्धविच्छेद टुंगिने भएको छ ।

सो अन्तर्वार्तामा उनीहरूले बोलेका कुराहरू संक्षेपमा :

जेरी :

डिभोर्सको चाहना मेरोभन्दा उहाँ (श्रीमान्) को बढी हो । डिभोर्स हुँदा मजति उहाँ दु:खी हुनुहुन्न होला । उहाँको अरु इच्छा पूरा गरिदिन नसके पनि यो इच्छा समयमै पूरा गरिदिन्छु भनेर अघि बढेको हो । समयले नै त्यसरी अगाडि बढाइसकेपछि आत्मसात गर्न सक्नुपर्दोरहेछ ।

अहिलेसम्म धेरै तथ्यहिन समाचारहरू पनि आइरहेका छन् । हामी अदालति प्रक्रियामा गएको सत्य हो । तर, हाम्रो मुद्दा विचाराधीन छ, आजका दिनसम्म । भोलि अलग भएपनि नभए पनि प्रेममा बदला हुँदैन । टाढा भए पनि ऊ सुखी होस्, खुसी होस् ।

शंकरलाई गाली नगर्न अपिल गर्छु । सत्यतथ्य नबुझी उसलाई गालीगलौज नगरिदिनु होला । हामीले सहमतिमा नै लिएको निर्णय हो । विचारमा विचलन आएपछि पछि नराम्रो हुनुभन्दा बच्चाका लागि पनि यो निर्णय लिएका हौं । सम्बन्ध सकिँदैमा जिन्दगी सकिने होइन । सरसल्लाहमा अगाढि बढेका हौं ।

हामीले सँगै बिताएका क्षणहरू कहिल्यै भुल्न सक्दिन । ती कुनै पनि क्षण भूल्ने खालका पनि छैनन् । नचाहेर पनि भाग्यमा भएका कुराहरू स्वीकार गर्नुपर्ने हुन्छ ।

हामी अलग भएपछि मेरो नेपाल नबस्ने सोच छ । अलग भयौं भने उहाँ र ममा एकजना बस्दैनौं । आमा जता नानी (छोरी) उतै हुन्छ ।

(आफ्नो सहारामा शंकर हिट भएको बारे) दर्शकले आफ्नो कोणबाट विश्लेषण गर्न पाउनुहुन्छ । केही हदसम्म मेरो सपोर्टले काम गर्‍यो पनि होला । मेरो गायन शैलीलाई दर्शकले मन पराएर म चर्चामा आएँ । उहाँ अलि छायाँमा पर्नुभयो । तर, हाम्रो एक-अर्कालाई सपोर्ट थियो । स्ट्रगल पिरियडमै भेट भएको हो हाम्रो । त्यसैले एक-अर्कालाई सहारा दिँदै अघि बढेका हौं ।

हाम्रो सम्बन्ध नछुटोस् भन्ने सबै सुभेच्छुकको चाहना छ । तर, चाहेर पनि दर्शक-स्रोताको चाहना पूरा गर्न सक्दिनौं होला । अदालतले आजै बोलाएको थियो । तर, आजै सम्बन्धविच्छेद गर्दा मेरो जन्मदिन विछोडको दिन हुने भयो । त्यसैले आज नजाने निर्णय लिएँ ।

शंकरः

मैले मात्र सोचेर भएको डिसिजन होइन यो । बाहिरबाट हेर्नेहरूलाई आन्तरिक कुरा थाहा नहुन सक्छ । हाम्रो दुश्मनी भएको होइन । सहमतिमै हो । वैचारिक कुरा नमिल्न थालेपछि सधैँ झै-झगडा भएर बस्नुभन्दा सरसल्लाहमै अलग भएका हौँ ।

बच्चाको विषयमा धेरैले चिन्ता प्रकट गर्नुभएको छ । बच्चाका लागि भोलि के गर्ने भन्ने हामीले पक्कै सोचेका छौं । सबै कुरा सल्लाह गरेर, बुझेर अगाडि बढिरहेका छौं । अरुभन्दा हामी नै बढी चिन्तित छौं ।

(जेरीको सपोर्टले हिट भएको बारे) कसैको संगतले मात्रै म सफल भएको होइन । क्षमता नभए संगतले मात्र हुँदैन । सहकार्यमा उसलाई पनि फाइदा यो होला । संगतले मात्र हुन्छ भने तपाईं पनि आउनुस्, जेरीसँग संगत गर्नुस्, अगाडि बढ्नुछस् । भोलि बुझ्नुहुन्छ मेरो क्षमता कति छ । भविष्यले बुझाउँछ ।

हाम्रो केस अदालतमा गइसके पनि फाइनल भइसकेको छैन । तिहारपछि प्रक्रिया टुंगिन्छ । श्रीमान्-श्रीमतीको सम्बन्ध अब नरहला । धेरै सोचेर अगाडि बढेका हौं । समय सधैँ एकनास नहुँदो रहेनछ । हामीबीच व्यक्तिगतरूपमा भन्दा केही दुश्मनी छैन । हिजो हामीलाई मन पराइदिनुभएको थियो भने भोलिको दिनमा पनि सहकार्य नहोला भन्न सकिन्न ।

श्रीमान्-श्रीमतीको सम्बन्ध सल्लाहमा टुंग्याउने प्रक्रियामा छौं । भइरहेको सम्बन्ध टुंग्याउँदा खुसी त भइँदैन । छोरीको कुरा पनि छ । छोरी पाँच वर्ष नपुगेसम्म कानूनीरुपमा आमासँगै रहने हो । भोलि जोसँग पनि हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर