काठमाडौं-१ को पेचिलो प्रतिस्पर्धाः मिश्रले उल्टाउलान् ०७४ को नतिजा ? – Nepal Press
काठमाडौंको चुनावी विश्लेषण सिरिज-१

काठमाडौं-१ को पेचिलो प्रतिस्पर्धाः मिश्रले उल्टाउलान् ०७४ को नतिजा ?

काठमाडौं । २०७४ सालको संसदीय चुनावमा तत्कालीन विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र ठूलो सरप्राइज दिनबाट सानो अन्तरालले चुकेको क्षेत्र हो– काठमाडौं १ । उनी केवल ८१८ मतले कांग्रेसका हेभिवेट उम्मेदवार प्रकाशमान सिंहसँग हारेका थिए । पाँच वर्षपछि फेरि सिंह र मिश्र आमनेसामने भएका छन् ।

चुनाव आउन एक महिना भन्दा कम समय रहँदा काठमाडौं- १ को प्रतिस्पर्धा कसको पक्षमा जाला भन्ने एकिन भन्न सकिने अवस्था छैन । सिंह र मिश्रसँगै एमालेका युवा उम्मेदवार किरण पौडेलबीच त्रिपक्षीय भिडन्त हुन सक्ने अनुमानसम्म गर्न सकिन्छ । यद्यपि, लोकप्रिय छविका पूर्वडीआईजी रमेश खरेल र स्वतन्त्र पार्टीका घण्टीछाप उम्मेदवार पुकार बम पनि दौडमा छन् ।

काठमाडौंमा पछिल्लो समय चुनावी नतिजाको पूर्वानुमान गर्न कठिन हुँदै गएको छ । विगतदेखि हेर्दा यसले सधैँ ‘परिवर्तन’ लाई आत्मसात गर्दै आएको देखिन्छ । त्यसमाथि पछिल्लो स्थानीय चुनावले नयाँ ट्रेन्ड काठमाडौंमा भित्र्याइदिएको छ- पार्टी होइन व्यक्ति हेर्ने । त्यसैले कुनै पनि उम्मेदवारले आफ्नो पार्टीगत भोट हेरेर ढुक्क हुनसक्ने अवस्था रहँदैन । तथापि, २०७४ सालको संसदीय चुनाव र यसै वर्ष सम्पन्न भएको स्थानीय चुनावले विश्लेषणको आधारशीला अवश्य प्रदान गर्छ ।

सुरूमा २०७४ सालको चुनावको चर्चा गरौँ । प्रकाशमानको बलियो अवस्था रहेको क्षेत्रमा सानो पार्टी विवेकशील-साझाबाट चुनाव लडेका मिश्रले कडा टक्कर दिए । चुनावअघि मिश्रको पक्षमा जबरजस्त माहोल थियो- खासगरि सामाजिक सञ्जालमा । उनले प्रकाशमानलाई हराएर सनसनी नतिजा ल्याउनसक्ने भविष्यवाणी भएका थिए । तर, जसोतसो प्रकाशमानले उनलाई टपे । उनले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्र १० हजार ११८ मतमा रोकिए । काठमाडौं-१ मा प्रकाशमानको यो ह्याट्र्कि जित थियो ।

उक्त चुनावभन्दा यसपालीको राजनीतिक परिवेश र माहोल निकै फरक छ । कुनै कुरा स्थिर छ त त्यो हो केवल प्रकाशमान । उनी त्यसबेला जे थिए, अहिले पनि त्यही छन् । अनि सबैभन्दा बढी बदलिएको माहोल कसैका लागि छ त, त्यो छ रवीन्द्र मिश्रका लागि । उनको राजनीतिक जीवन उथलपुथल नै भएको छ । उनी गणतन्त्रवादीबाट राजतन्त्रवादी बनेका छन् । संघीयता र हिन्दू-बौद्ध राष्ट्रको पक्षमा उभिएका छन् । र, सबैभन्दा महत्वपूर्ण उनी विवेकशील-साझाका अध्यक्षबाट पूर्वपञ्चहरूको पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष बनेका छन् ।

गणतन्त्रवादीहरूले आजका दिनसम्म पनि ‘छिःछिः र दूरदूर गर्ने पार्टी राप्रपा रोज्नु रवीन्द्र मिश्रको अत्यन्त बोल्ड डिसिजन थियो । राजसंस्थाको पक्षमा र धर्मनिरपेक्षता-संघीयताको विपक्षमा आफूलाई उभ्याउनु त्यत्तिकै साहसिक निर्णय थियो । यो निर्णयले उनलाई कहाँ पुर्‍याउनेछ भन्ने अबको चुनावले देखाउँछ । त्यस हिसाबले उनका लागि यो आफ्नो राजनीतिक एजेण्डाको परीक्षा पनि हो । सामाजिक सञ्जालमा अत्यधिक आलोचना खेपिरहेका उनले जनताको प्रत्यक्ष अभिमत जितेर आफूलाई सही सावित गर्ने अवसर पाएका छन् ।

तर, मिश्रका लागि प्रतिकूलताहरू धेरै देखिएका छन् यस चुनावमा । अघिल्ल्लो चुनावमा सामाजिक सञ्जालको माहोल उनको पक्षमा थियो, त्यो यसपाला छैन । त्योभन्दा पनि महत्वपूर्ण चाहिँ, उनले प्राप्त गर्न सक्ने सम्भाविक भोट नै यत्रतत्र बाँडिनसक्ने खतरा छ । खासगरि, सुशासन पार्टीबाट उम्मेदवार बनेका पूर्वडीआईजी रमेश खरेलले मिश्रको लक्ष्यमा आघात पुर्‍याउन सक्छन् । त्यसमा चोट थप्न सक्छन्, घण्टीका उम्मेदवार पुकार बमले ।

मिश्रलाई मन पराए पनि पछिल्लो समय उनले अँगालेको एजेण्डाबाट असन्तुष्ट एउटा तप्काले खरेललाई रोज्न सक्ने देखिँदैछ । अनि अघिल्लो चुनावमा उनलाई भोट हालेको अर्को तप्का यसपालि घण्टीको उम्मेदवार को छ भनेर चासो दिइरहेका छन् । त्यसैले खरेल र बमले स्वयम् चुनाव जित्नेसम्मको ल्याकत नराखे पनि मिश्रको बाटोमा तगारो बन्ने देखिँदैछ । त्यसैको पूर्वानुमान गरेर हुन सक्ने मिश्रको टीमले पनि ‘यसपालि भोट बाँडिनु हुँदैन’ भन्ने सन्देशलाई जोड दिएर प्रचारप्रसार गरिरहेको छ ।

अब कुरा गरौं प्रकाशमान सिंहको । माथि नै भनियो कि उनी स्थिर छन् । काठमाडौंमा आफ्नै राजनीतिक लिगेसी भएका भेट्रान हुन् प्रकाशमान । राष्ट्रिय राजनीतिमा उनी बहुत प्रभावशाली र लोकप्रिय नेता होइनन् । तर, आफ्नो निर्वाचन क्षेत्रमा उनको बलियो पकड छ । अनि कांग्रेसको आफ्नो भोट प्लस गठवन्धनको समर्थनका कारण उनले आफूलाई जितनजिक ठानेका छन् ।

अघिल्लो चुनावनको तुलनामा सिंहको लोकप्रियता न बढेको छ, न खस्केको छ । साथै, उनीसँग मतदातालाई उत्साहित पार्न सक्ने एजेन्डा, विचार, खुबी, ल्याकत पनि केही छैन । र पनि उनी बलिया छन्, यही सत्य हो । तर पनि ढुक्क हुन सक्ने अवस्था भने छैन । उनले लगातार चौंथोपटक जित दर्ता गर्न केही चुनौतीहरूबाट पार हुनुपर्छ ।

सिंहका लागि यसपाली सबैभन्दा ठूलो प्रतिकुलता भनेको मतदाताको मनस्थिति हो । आफ्नो पार्टी वा गठवन्धनका प्रतिवद्ध भोटबाहेक अरु भोट उनलाई आउन सक्ने अवस्था देखिँदैन, किनकी राजनीतिकरूपमा तटस्थ मतदाताहरू पनि यसपाला पार्टी होइन, व्यक्ति हेर्ने मनस्थितिमा छन् । पुरानालाई पन्छाएर नयाँलाई टेस्ट गर्ने दाउमा छन् ।

यी दुवै मापदण्डमा सिंह स्वत पछि पर्छन् । स्वतन्त्र मतदाताहरूले उनलाई ‘टेस्टेड एन्ड फेलर’ नेताहरूकै सूचीमा राख्ने भएकाले उनले आफ्नो पार्टीका प्रतिबद्ध भोटमै भर पर्नुपर्ने हुन्छ । र, पार्टीकै मतदाताहरूले पनि नयाँ अनुहारको खोजी गर्ने सोच बनाए भने चाहिँ उनलाई अप्ठेरो पर्नसक्छ । त्यसो त महाधिवेशनमा सभापति लडेर दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाएको र त्यसबापत श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनाएको भन्दै कांग्रेसको एउटा पंक्ति यसपटक उनको विपक्षमा छ ।

यसका साथै प्रकाशनले परम्परागतरूपमा पाउने गरेका बानेश्वरका विशेषगरी काभ्रेलीहरूको भोट रमेश खरेलतिर जाने र करुवा चिन्हको बीपी कांग्रेसका उम्मेदवारले पनि उनको केही भोट काट्नसक्ने अनुमान छ ।

सिंह र मिश्रमात्र होइन, चुनावी दौडमा एमालेका किरण पौडेल पनि छन् । उनको लक्ष्य पनि चुनाव जित्ने नै हो । यस क्षेत्रमा मिश्रले एमालेको समर्थन प्राप्त गर्नका लागि निकै प्रयास गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई ग्रीन सिग्नल पनि देखाएका हुन् । तर, मिश्र राप्रपामा प्रवेश गरेपछि एमालेले आफ्नै उम्मेदवार उठायो । युवासंघका अध्यक्ष पौडेललाई उठाएर एमालेले युवामत आकर्षित गर्न खोजेको छ । उनको दाबेदारी कति बलियो छ अहिल्यै भन्न सकिँदैन, तर कम्तीमा उनले एमालेको मत सुरक्षा गर्न सके भने जितको भागिदार बन्ने कतिपयको आँकलन छ ।

स्थानीय चुनावमा व्यक्त अभिमतलाई हेर्दा यस क्षेत्रमा कांग्रेसको घाँटी-घाँटी आउँछ एमाले । उक्त चुनावमा वडाअध्यक्षहरूले प्राप्त गरेको कुल मत परिणाममा एमालेभन्दा कांग्रेस थोरै मतले मात्रै अगाडि छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका १०, ११, २९ र ३१ वडाहरू पर्छन् । यी समग्र वडाबाट कांग्रेसका वडाध्यक्षहरूले ९ हजार ८ सय ९५ र एमालेका वडाध्यक्षहरूले ९ हजार ५ सय ४१ मत पाएका छन् । माओवादी केन्द्रलाई आएको ११ सय ५९ मत कांग्रेसको मतमा गाभिँदा सिंह पौडेलभन्दा केही अगाडि देखिन्छन् ।

यस क्षेत्रका वडाहरूमा राप्रपाको ११४९ मत छ भने विवेकशील साझाको मत नगण्य छ । त्यसैले राप्रपाका मिश्रले पार्टीगत भोटबाट खासै आशा राख्न सक्दैनन् । कांग्रेसका सिंहलाई भने पार्टीगत भोट नै काफी हुन सक्छ । एमालेका पौडेलले पार्टीका भोट सुरक्षित राख्दै युवा जनमत आकर्षित गर्न सके आशा राख्ने ठाउँ छ । सुशासन पार्टीका खरेल र स्वतन्त्र पार्टीका बम तटस्थ मतदाताहरूमा भर पर्नुपर्नेछ । यसअघि प्रकाशमानमा जाने गरेका मत यसपटक बाँडिए भने नतिजा फेरिन पनि सक्छ ।

यही क्षेत्रबाट नेपाल मजदूर किसान पार्टीका हरिशरण श्रेष्ठ, विवेकशील साझा पार्टीका शंकर बन्जाडे, जनमत पार्टीका हरेन्द्र चौधरी, हाम्रो नेपाली पार्टीका डम्बर शाह लगायतले उम्मेदवारी दिएका छन् । यस्तै, स्वतत्र उम्मेदवारका रूपमा देव शर्मा, निर्जल शाह, दुर्गापसाद लिम्बू, सीता तामाङ, केसी, कुलबहादुर तामाङ, गोमा खतिवडा अधिकारी, सुनिता बसेल लगायत पनि दौडमा छन् । तर, चार उम्मेदवारबाहेक अरुको चर्चा छैन ।


प्रतिक्रिया

One thought on “काठमाडौं-१ को पेचिलो प्रतिस्पर्धाः मिश्रले उल्टाउलान् ०७४ को नतिजा ?

  1. संसदीय चुनावमा स्थानीय चुनावमा जस्तो एक्लो जितेर काम गर्ने होइन, समुहमा बहुमतले जित्नुपर्छ किनभने स्थानीय चुनावमा जित्नेले कार्यकारी अधिकार प्राप्त गरेको हुन्छभने संसदीय चुनाव जित्नेहरू मिलेर बहुमतले कार्यकारी प्रमुख चुन्नुपर्छ यसर्थ कुनै एउटा दललाई बहुमत पुग्नेगरी मतदान गर्नुपछ। अब कुन दललाई बहुमत दिने? यो प्रश्नमा केन्द्रीत हुनुपर्नेछ। उपलब्ध दलहरूमध्ये कुन दलले बहुमत खोजेको र सोअनुरूप उम्मेदवार उठाएको छ अनि देशको पक्षमा उसको विगतको व्यवहार र भोलिका लागि आजको प्रतिबद्धता कस्तो थियो र छ, सुक्ष्म विश्लेषण गरेर गुणदोषको तुलना गरेर कुनै एक दल रोज्नुपर्छ। त्यो दल कुन हो जनताले चिन्नु पनि पर्छ। जनतामा त्यो चिन्ने क्षमता विकास गर्नु देशभक्त तथा वामपन्थी शक्तिको मुख्य जिम्मेवारी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर