बक्स अफिसमा फर्कियो दयाहाङको स्टारडम
तीन फिल्म लगातार हिट
काठमाडौं । वर्ष २०७९ अभिनेता दयाहाङ राईका लागि निकै फलिफाप पूर्ण बनेको छ । ओरालो लागिरहेको करिअरलाई पुनर्जीवन दिँदै उनले यसै वर्ष हिट चलचित्रको ह्याट्रिक गर्न सफल भए ।
दयाहाङको प्रमुख भूमिका रहेको कबड्डी ४ ब्लकबस्टर बनेको थियो । नेपाली चलचित्रका सबै व्यापारिक किर्तिमान तोडेको कबड्डी–४ ले २० करोडभन्दा माथिको व्यापार गरेको निर्माण पक्षको दावी छ । त्यसपछि दयाहाङ अभिनीत थप दुई चलचित्रले व्यापारिक सफलता हासिल गरेका छन् ।
अघिल्लो महिना प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ ले पनि आफूलाई ‘ब्लकबस्टर’ घोषणा गरेको छ । यद्यपि, व्यापारको अंक सार्वजनिक गरिएको छैन । यस्तै, गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ हिट उन्मुख छ । सामान्य ओपनिङ गरेको चलचित्रको व्यापार शनिवारबाट उकालो लागेको थियो । माउथ पब्लिसिटी राम्रो भएकाले चलचित्रले तिहारको बिदा उच्चतम सदुपयोग गर्न सक्ने निर्माण पक्षको आशा छ ।
यद्यपि, यी तीन वटै चलचित्रको सफलताको ‘सोलो क्रेडिट’ भने दयाहाङलाई जाँदैन । कारण तीन वटै चलचित्र मल्टिस्टारर हुन् । कबड्डी ४ र दुई नम्बरीमा दयाहाङको समानान्तर भूमिकामा सौगात मल्ल छन् । के घर के डेरामा उनीसँगै विपिन कार्कीको महत्त्वपूर्ण भूमिका छ ।
दयाहाङ, सौगात र विपिन तीनै जना अहिलेको जेनेरसेसनका अब्बल कलाकारहरूमा गनिन्छन् । सौगात र दयाहाङ चलचित्र ‘लुट’ बाट उदाएका थिए । उक्त चलचित्रमा सौगातको ‘हाकु काले’ चरित्र हिट भएको थियो । उनको तुलनामा दयाहाङको भूमिका लुटमा कम थियो । तर, ‘गोफ्ले’ को छोटो भूमिकामा पनि उनी प्रभाव छाड्न सफल भए । त्यसपछिका दिनमा यो जोडी निर्माता–निर्देशकको रोजाइमा पर्दै आएको छ । उनीहरूले दर्जनौँ चलचित्रमा एकसाथ अभिनय गरेका छन् । केही सफल र केही असफल भए ।
लुटपछि दयाहाङले वधशाला, साँघुरो, टलकजंग भर्सेस टुल्के, छड्केजस्ता टिपिकल चलचित्रहरूबाट आफूलाई प्रमाणित गर्दै गए । तर, बिस्तारै उनी सस्ता हुन थाले । उनको करिअरमा सबैभन्दा बढी टेवा चाहिँ कबड्डी सिरिजले नै दियो । ८ वर्षअघि रिलिज भएको कबड्डीपछि उनी खाली हात बस्नु परेन ।
दयाहाङलाई सोलो हिरोको रूपमा सफल साबित गर्ने चलचित्र चाहिँ झोले हो, जसको निर्देशन दीपेन्द्र के खनालले गरेका थिए । सानो बजेटमा बनेको उक्त चलचित्रले सफलताको स्वाद चाखेपछि दयाहाङको डिमान्ड ह्वात्तै बढ्यो । उनी कुनै कुनै समयका राजेश हमालजस्तै व्यस्त भए । यस क्रममा कतिपय वाहियात चलचित्रहरू पनि खेलिदिए । सबै चलचित्रमा उस्तै अभिनयले दर्शकलाई मोनोटोनस हुन थाल्यो । अनि, भटाभट चलचित्रहरू फ्लप भए ।
केही समयदेखि दयाहाङको स्टारडम खस्किँदै थियो । उनको एक खालको अभिनयभन्दा विपिन कार्कीको विविधतालाई दर्शकले रुचाए । बीचमा कोरोनाका कारण लामो समय नेपाली चलचित्र ठप्प प्राय रह्यो । चलचित्र क्षेत्र फेरि सक्रिय भएपछि दयाहाङको करिअर कता मोडिएला भन्ने प्रश्न थियो । अन्ततः कबड्डी सिरिज नै उनका लागि जीवनजल बनिदिएको छ । यसर्थमा उनले निर्देशक रामबाबु गुरुङप्रति निकै अनुग्रहित हुनुपर्छ ।
दयाहाङ परम्परागत ‘हिरो’ होइनन् । उनीसँग आकर्षक रूप र सिक्स प्याक बडी छैन । रुख वरिपरि हिरोइनसँग नाच्ने, मारमुङ्ग्री गरेर एक पटकमा एक दर्जन ‘गुन्डा’ ढाल्ने भूमिकामा न उनी रुचि राख्छन्, न उनलाई सुहाउँछ । अरू त अरू उनलाई आफ्नो बढेको बुढी घटाएर फिट देखिन पनि उति जाँगर छैन । र पनि नेपाली चलचित्रमा उनको आफ्नै शैली छ । ब्रान्ड छ । उनी विशुद्ध कलाकार हुन् ।
दयाहाङ स्टारडमबिनाका स्टार हुन् । चलचित्रबाहिर पनि उनी हिरोइज्म देखउँदैनन् । एउटा चलचित्र हिट हुनासाथ बडीगार्डहरु अघिपछि लगाएर हिँड्नेहरूको इन्डष्ट्रीभित्र उनी नितान्त फरक छन् । उनी चिल्लो कारमा होइन, सडकमा लुखुरलुखुर एक्लै हिँड्न रुचाउँछन् ।
दयाहाङ कसैको दयामायाले चलचित्र क्षेत्रमा स्थापित भएका पनि होइनन् । उनी आफ्नै संघर्षको बलमा यहाँसम्म आइपुगेका कलाकार हुन् । नाटकघरदेखि मल्टिप्लेक्ससम्मको उनको यात्रा कम्ती सकसपूर्ण छैन । यद्यपि, आजका दिनसम्म पनि नाटकलाई माया गर्न छाडेका छैनन् ।
दयाहाङमाथि सधैँ एक खालको अभिनय गरेको, चलचित्र छनोट गर्दा विचार नपुर्याएको, आफूले अभिनय गरेका चलचित्रको प्रचारप्रसारमा अल्छी गरेको जस्ता आरोपहरू लाग्ने गर्छन् । तीन चलचित्र सफल भएसँगै फेरि पनि दयाहाङको डिमान्ड बढ्ने निश्चित छ । अब भने उनले छनोटमा पक्कै सचेतना अपनाउनुपर्छ । अनि अभिनय र भूमिकामा दर्शकलाई नवीनता दिनै पर्छ । होइन भने अहिलेको सफलता क्षणिक मात्रै साबित हुन पनि सक्छ ।