भोट माग्दै कुन्तीले भनिन्- राप्रपाले जित्दा कस्तो परिवर्तन हुन्छ भन्ने शंखरापुरले देखायो
काठमाडौं । काठमाडौं २ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम शंखरापुर नगरपालिकाले ६ महिनामा गरेर देखाएको बताएकी छन् ।
शंखरापुरमा आयोजित दीपावली र छठपर्वको शुभकामना आदनप्रदान तथा मतदातासँग अन्तरक्रिया कार्यक्रममा राप्रपाले जित्दा कस्तो परिवर्तन हुँदोरहेछ भन्न यो उदाहरण भएको उनले जिकिर गरिन् ।
‘राप्रपाले शंखरापुर नगरपालिका जित्दा त अघिल्ला प्रतिनिधिले पाँच वर्षमा गर्न नसकेका धेरै काम ६ महिनामा गरिसकेको छ भने अब प्रतिनिधिसभा र प्रदेशसभामा जितेर आयौं भने बल्ल यो ठाउँ बन्ने भयो’, पोखरेलले भनिन् ।
कोटेश्वरबाट भक्तपुरतिरको बाटो डाँडासम्म चिल्लो भएको तर आफ्नो क्षेत्रतिर एम्बुलेन्स छिर्नेसम्म बाटो नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको उनको भनाइ छ ।
पोखरेलले भनिन्, ‘हिजो तपाईंहरूले भोट हालेका व्यक्तिहरू मन्त्री, प्रधानमन्त्री भए यो क्षेत्रमा एकचोटि फर्केर आउनुभयो ?’
दुःखसुखमा साथ दिने मान्छे सोच्न र पटक-पटक पदमा पुगेर पनि काम नगर्नेलाई बिदाई गरेर नेतृत्व छान्न उनले मतदातासँग आग्रह गरिन् । यो क्षेत्रमा राप्रपाले जिते मात्रै धर्म, संस्कार, संस्कृतिको रक्षा र आवश्यक विकास हुनेमा उनको जोड थियो ।
कार्यक्रममा शंखरापुरका मेयर रमेश नापित, वडा अध्यक्षहरु, राप्रपाका क्षेत्रीय अध्यक्ष, उपाध्यक्ष, अग्रज नेता, कार्यकर्तालगायत सहभागी थिए ।