झापा आउँदै ओली, चुनावी अभियानमा ४ दिन व्यस्त हुने
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी अभियान तथा प्रचारका क्रममा आज झापा आउँदैछन् । ४ दिनसम्म उनी मतदातासँगको भेटघाट, कार्यकर्ता भेलामा सहभागी हुने बताइएको छ ।
झापा एमालेका अनुसार ओली दिउँसो २ बजे भद्रपुर विमानस्थल उत्रिनेछन् । शुक्रबार अपरान्ह स्थानीय सिटी गार्डेन होटलमा आयोजना हुने एमाले-राप्रपाको संयुक्त भेलालाई उनी र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्नेछन् ।
अध्यक्ष ओलीले आजै क्षेत्र नम्बर ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले पोलिटब्युरो सदस्य एवं झापा-५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार ओलीले क्याम्पस मोडमा दमक वडा नम्बर ५, ८ र ९ र ५ का मतदातासँग अपरान्ह ४ बजे र दमकस्थित पशुपति मन्दिरमा वडा नम्बर ६ र ७ का मतदातासँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।
शनिबार दमक-३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको छ । यसैगरी कमल गाउँपालिकाको बाह्रघरेमा शनिबार मध्यान्ह मतदाता तथा कार्यकर्ता भेला राखिएको छ । दिउँसो २ बजे वडा ९ र १० को संगम चोकमा भेला छ । अपरान्ह ४ बजे वडा १ र २ का बासिन्दासँग हिमालय माध्यमिक विद्यालयमा भेटघाट र अन्तरक्रिया छ ।
कात्तिक १३ गते गौरादह र गौरीगञ्जकेन्द्रित कार्यक्रम छ ।
कात्तिक १४ गते बिहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा भेला आयोजना गरिएको छ । प्रत्येक भेलामा अधिक मतदाता र कार्यकर्तालाई सहभागी गराउन प्रत्येक टोल कमिटीलाई निर्देशन दिइएको छ । चुनावी तालमेलमा रहेको राप्रपाले पनि कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको छ । भेलामा ओलीलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जनजीविकाका सवालसँग सम्बन्धित सुझाव दिन सकिने बताइएको छ ।