महापुरुष: भावनाको भेल, नमिलेको तालमेल
काठमाडौं । कमेडी जनराका हिट निर्देशक प्रदीप भट्टराई र हास्यव्यंग्यका महारथी मह जोडीको गठजोड । पक्कै पनि दर्शकले भरपुर हाँसो मनोरञ्जनसहित उत्कृष्ट चलचित्रको अपेक्षा गर्छन् ‘महापुरुष’ बाट । आज शुक्रबारबाट रिलिज भएको ‘महापुरुष’ दर्शकले सोचेभन्दा केही पृथक यस अर्थमा छ कि यसले हाँसोमा भन्दा आँसुमा बढी जोड दिएको छ । लेखक-निर्देशकले भावनाको ओभरडोज पस्केका छन् । तपाईं हाँस्नेभन्दा पनि रुने मनस्थिति लिएर हलमा जाँदा राम्रो हुन्छ ।
‘महापुरुष’ एक मध्यमवर्गीय एकल बुवाको कथा हो । आफ्ना सन्तानका निम्ति जीवनको ऊर्जाशील समय र सपना खर्चेका उनका निम्ति दुनियाँ भनेकै सन्तान हुन् । जेठो छोरो एक निजी स्कुल चलाएर बसेका छन् । उनी लेखक पनि हुन् । कान्छो छोरो भने विदेश पलायन हुने कोसिसमा छन् ।
उनीहरुको घर शहरको एक गल्लीमा मात्रै छैन, त्यस टोलका आफ्नै नीति-नियम छन् । आदर्श टोलमा धेरैथोक आदर्श छन् । तर, टोलको फलामे गेटभन्दा बलियो र अग्लो गेट बनेर त्यही कथित ‘आदर्श’ ठिंग उभिएको छ । जसलाई भत्काउन सिंगो टोलको आदर्श नै भत्काउनु पर्नेछ । र, आदर्श टोलको आदर्शले सधैं भनिरहन्छ, ‘तिम्रो इच्छा, आकांक्षा र रहरहरु त्यही आदर्शको पर्खालमुनि कुहिएर बस्नुपर्नेछ ।’
बुवाको भूमिकामा रहेका हरिवंश आचार्य कान्छो छोरासँग छन् । तर, भित्रभित्रै रित्ता छन् । बाहिरबाहिरै भरिएका छन् । सन्तानका लागि आफूलाई बिर्सिएका छन् । कान्छो छोरोको विदेश जाने चक्करमा एक युवतीसँग भेट हुन्छ । समयान्तरमा उनीहरुको विवाह पक्का हुन्छ । जेठो छोरो ‘भगवान जस्ता मेरा बा’ पुस्तक लेखिरहेका छन् । पुस्तकमा बाका आदर्शहरु समेटिएका छन् ।
तर, कथामा ट्वीस्ट त्यतिवेला आउँछ, जब छोराहरुलाई आदर्श पढाएर बूढो भएका बुवाको थिएटर कलाकार गौरी मल्लसँग प्रेम बस्छ । आफैंभित्र एक्लो भएका बुवाले आफूलाई एक्लो ठान्न छाड्छन् । वर्षौंदेखि छोराहरुका मुस्कानका निम्ति गुमेको उनको मुस्कान फिरेर आउँछ । र, आफ्नै जीवनलाई रंगीन देख्न थाल्छन् । तर, आदर्शनगर टोल र आदर्श छोराहरुका निम्ति यो पाच्य हुँदैन । न कान्छो छोराकी दुलही हुन लागेकी युवतीको परिवारलाई नै पाच्य हुन्छ । यी घटनाक्रमले निम्त्याउने परिणतिको कथामा घुमेको छ ‘महापुरुष’ ।
अब केही सैद्धान्तिक कुरा गरौं । सिनेमा मेकरले दर्शकलाई ‘बक्स अफिस’ मात्रै सोच्ने कि चेतनाको भण्डार पनि ? दर्शकले टिकट किनेर मनोरञ्जनमात्रै लिन्छन् कि सिनेमामा यथार्थता खोज्छन् ? समाजलाई सिनेमाले यथास्थितिमा राखेर हेर्नुपर्छ कि गतिशीलतामा ? र दर्शकलाई कहाँ राखेर मेकरले सिनेमा बनाउँछ वा उक्त सिनेमालाई दर्शकले केका लागि हेर्छ ?
‘महापुरुष’ हेरेपछि उब्जिने सवाल हुन् यी । सिनेमा सकिइसकेपछि हलबाट लुखुरलुखुर निस्कँदै गर्दा यी सवालका जवाफ कनिकुथी त पाउलान् । तर, धितमर्दो जवाफका लागि भने थोरै सकस भने अवश्य हुनेछ ।
फिल्ममा सुरुमै सडकको ब्रेकरमा ब्रेक लागेको छ । बुवालाई बोकेर हिँडिरहेका कान्छो छोराको बाइक सडकको ब्रेकरमा ठोक्किन्छ । बुवा त्यहीँ पछारिन्छन् । तर, छोरो सरर जान्छ । भलै पार्किङ गर्ने वेलामात्रै झस्किन्छ, पछाडि बसेका बुवा खै ?
निर्देशक प्रदीप भट्टराईको ‘महापुरुष’ मा यस्ता पत्यार नलाग्ने दृश्यहरु अरु पनि छन् । बाइकमा पछाडि बसेको मान्छे तल खसिसक्दा पनि थाहा नपाउने सिनेमामा मात्रै सम्भव होला । तर, भट्टराईले त्यही ब्रेकरलाई अर्को सिनमा सुन्दर तवरले प्रयोग गरेका छन् ।
कथा निकै अगाडि बढिसकेपछि जब कान्छो छोरो त्यही ब्रेकरमा आइपुग्छ, उसको पछि बुवा नभए पनि उसले बिस्तारै बाइक चलाउँछ । उक्त दृश्यले बुवा बाइकमा नभए पनि उसको मनभित्र यसरी गडिसकेका छन्, जसलाई कुनै पनि ब्रेकरले पछार्न सक्दैन । र सिनेमाको समाप्ती र सुरुवातको संकेत नै त्यही ब्रेकर हो ।
सिनेमाको अर्को सिनमा कान्छो छोरोले बुवाकी प्रेमिकालाई फोनमा धम्काउँछ । त्यसको परिणति के बन्छ भने बुवा रातारात गएर प्रेमिकालाई घरमा ल्याउँछ । तर, यो घटना आदर्श टोलका लागि जायज चिज हुँदै होइन । झनै बुवालाई भगवान बनाएर पुस्तक लेखिरहेका जेठो र विदेश जाने तयारीमा रहेका कान्छो छोराका लागि पाच्य हुने सवालै रहेन ।
मध्यराति घरमा आएकी बुवाकी प्रेमिकालाई छोराहरुले घरबाट निकाल्छन् । बुढेसकालले छोएकी महिला कसैको प्रेमिका भएकै कारण झमझम पानी परिरहेको वेला घरबाट निस्कन बाध्य हुन्छिन् । जाने कहाँ हो, टुंगो छैन । पुग्ने कहाँ हो, ठेगाना छैन । र पनि पानीमा रुझ्दै आदर्श टोलबाट बाहिरिन्छिन् ।
एकल पुरुष वा महिलाप्रति परिवार र समाजले हेर्ने दृष्टिकोण अझैसम्म पनि उस्तै अनुदार छ भन्ने पक्कै झल्काउँछ यो दृश्यले । तर, एउटी अवला नारीलाई मुसलधारे पानी परिरहँदा साँझमा घरबाट लखेटिएको दृश्य चाहिँ ‘विभत्स’ नै लाग्छ । जति कठोर भए पनि नेपाली समाज साँझमा आएको पाहुनालाई यस्तो दुर्व्यवहार गर्ने हदसम्म चाहिँ विकृत भइसकेको छैन ।
स्क्रिप्टमा त्रुटि, प्राविधिक कमजोरी यथेष्ट हुँदाहुँदै भावनात्मक रुपमा सिनेमाले दर्शकलाई कताकता च्वास्स छोइरहन्छ । झनै उमेर हुँदासम्म बच्चाका लागि सबथोक खर्चिएर बुढेसकालमा तिनै सन्तानले वृद्धाश्रम पुर्याएकाहरुले सिनेमा हेरे कस्तो भावनात्मक उछाल आउँदो हो ? बुढा बाआमालाई चिसो सिमेन्टको चिसो ओतमा राखेर युरोप-अमेरिका पुगेकाहरुले सिनेमा हेरे सबैभन्दा पहिला कसलाई सम्झँदो हो ? भावनात्मक कोणबाट सिनेमाले दर्शकलाई छुन्छ । बाआमाको त्यागलाई सम्झाइदिन्छ ।
सिनेमामा कथित आदर्शका निम्ति छोराहरुले आफ्नो पितालाई बन्धक जस्तै बनाउँछन्, बुवाको खुशी खोस्छन्, बुवाको मुस्कान खोस्छन् र अस्पतालको बेडसम्म पुर्याउँछन् । तर, शिक्षित छन् दुवै छोरा । त्यस्ता सन्तान त्यति निर्दयी र कठोर बन्न सक्छन् र ? दर्शकको मनमा प्रश्न उब्जन सक्छ । सायद, त्यति गएगुज्रिसकेको छैन नेपाली समाज !
सामान्य तरिकाले क्यामेरा चलाइएको ‘महापुरुष’मा अत्यधिक संवाद चलाइए पनि ती काव्यिक छन् । कवितात्मक संवादले दर्शकलाई छुन्छ । घरिघरि अनावश्यक लाउड पाश्र्वले मीठो संवादलाई स्पष्ट पार्न सकेको छैन । तर, प्रेम र आफ्नोपनको खोजीमा हिँडेको बुवाको कथालाई मिहीन ढंगले सिनेमामा उतार्न निर्देशक भट्टराई सफल छन् । ‘जात्रा’मा कथालाई जति मीठो र आर्कषक तवरले बुनेका छन्, त्यो भने ‘महापुरुष’मा कम देखिन्छ । दर्शकलाई बढी भावुक बनाउन खोज्दा भने खाली ठाउँहरु प्रशस्त छाडिएका छन् । ठिक्क भावुक बनाउन खोजेको भए झनै सुन्दर देखिन सक्थ्यो ।
सिनेमामा नवअभिनेता अरुण क्षेत्रीले अभिनयमा अब्बल सावित हुने लक्षण देखाएका छन् । नवअभिनेत्री अन्जना बराइलीको अभिनय ठीकठाकै छ । हरिवंश र मदनकृष्ण श्रेष्ठले आफूलाई पात्रमा फिट राखेका छन् । जेठो छोरोको भूमिमा रवीन्द्रसिंह बानियाँ गज्जब छन् । गौरी मल्लको अभिनय सदाबहार सुन्दर छ ।
समग्रमा ‘महापुरुष’ परिवारसहित बसेर हेर्नलायक सिनेमा हो । यसभित्रका कमी-कमजोरी र त्रुटिहरुले चलचित्रलाई ‘उत्कृष्ट’ बन्नबाट चाहिँ रोकेको छ ।