काकी र हजुरआमाको हत्या गरेर १० वर्ष जेल बसेर छुटेका सुरेश फेरि अर्को हत्यामा संलग्न
काठमाडौं । दुई जनाको हत्या गरेको कसुरमा १० वर्ष जेल जीवन कटाएर आएका एक पुरुषले फेरि अर्को व्यक्तिको हत्या गरेका छन् ।
शुक्रबार राति साढे १० बजे चितवनकाे माडी नगरपालिका -४ शितलपुर घोसरी बस्ने ३४ वर्षीय जीवन नेपालीकाे उनकै घरको कोठामा नवलपरासीकाे गैडाकोट नगरपालिका – ७ घर भएका ३४ वर्षीय सुरेश बहादुर कुमालले हत्या गरेका हुन् ।
कुमाल २ महिनादेखि जीवन नेपाली कै घरमा बस्दै आएका थिए । कुमालले घर परिवारका अन्य सदस्य कोही पनि घरमा नभएको मौका छोपी नेपालीको धारिलो हतियार खुकुरीले पछाडीबाट टाउकोमा पटक पटक प्रहार गरी घाँटीको रुद्रघण्टीको भागमा रेटी बिभत्स हत्या गरेका थिए ।
त्यसपछि ५० मिटरको दुरीमा पर्ने४० वर्षीया रुपा नेपालीको घरमा गई कोठामा सुती रहेकी रुपाले कानमा लगाएको सुनको रिङ कानको लोती समेत च्यातिने गरी लुछीतानी लुटेर रुपाको घाँटी थिचे ।
मर्यो भन्ने लागे पछि त्यहाँबाट भागेर फरार भएका थिए । घटना सम्बन्धमा घटनाको जानकारी पाउना साथ तत्काल यस कार्यालय तथा इलाका प्रहरी कार्यालय माडी चितवनबाट खटीएको प्रहरी टोलीले कुमाललाई हिजो शनिबार बिहान सवा पाँच बजेको माडी नगरपालिका- ३ बसन्तपुर स्थित भित्री सडक खण्डमा शंकास्पद तवरले लुकी छिपी हिडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले बताए
घटनास्थल तथा शव जाँच प्रकृती मुचुल्का गर्ने लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी निजलाई यस कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धानका कार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ ।
सुरेशले बिगत १० वर्ष अगाडि आफ्नै हजुरआमा र काकीको हत्या गरेको कसूरमा नवलपरासी जिल्ला अदालतको आदेशले सर्वस्व सहित जन्म कैद ठहर भएको थियो ।
तर ठहर भएको कैद यही २०७९ सालको संविधान दिवसको अवसरमा मिनाहा भई कारागार कार्यालय भिमफेदी मकवानपुरबाट छुटेका थिए । मृतक जीवन नेपाली कारागारमा हुँदा चिनजानभएको थियो । कारागारबाट छुटेर आएपछि नेपालीको घरमा नै बस्दै आएका थिए ।