मनाङ, मुस्ताङलगायतका ८ जिल्लामा निर्वाचन सामग्री पुग्यो, ५१ जिल्लामा धमाधम लगिँदै
काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको हो ।
यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव ऋषीराम भुसालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार यी बाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पठाउने कार्य सकिएको छ ।
यद्यपी ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको भुसालले बताए । उनका अनुसार आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गर्नुपर्ने हुन्छ ।