दाङ क्षेत्र नं १ : प्रतिस्पर्धामा तीन पूर्वसहकर्मी, कसले मार्ला बाजी ?
रुपन्देही । कुनै वेला एउटै दलमा एकै समुदायबाट चर्चामा आएका दाङका तीन सहकर्मी अहिले प्रतिनिधिसभामा मुख्य प्रतिस्पर्धी छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी मेटमणि चौधरी, सोही पार्टीबाट समानुपातिक सांसद बनेका शान्ता चौधरी र गंगा चौधरी यसपटक फरक मोर्चाबाट एक-अर्का प्रतिस्पर्धी भई चुनावी मैदानमा उत्रिएका हुन् ।
प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि, नेकपा एमालेबाट शान्ता र एमालेबाट विद्रोह गरेर हाम्रो नेपाली पार्टीबाट गंगाले दाङ १ मा उम्मेदवारी दर्ता गराएका छन् ।
तीन पूर्वसहकर्मी एउटै क्षेत्रमा उत्रिँदा यहाँको निर्वाचन रोचक बनेको छ । चौधरी बाहुल्य यस क्षेत्रमा तीनै जना चौधरी उम्मेदवार भएका कारण मत बाँडिने अनुमान गरिएको छ ।
तीन पूर्वसहकर्मी एक-अर्कोविरुद्ध चुनावी प्रसारप्रचारमा मतदातासमक्ष पुगेका छन् । यहीबीच क्षेत्र नम्बर १ मा कसले बाजी मार्ला भन्ने अड्कलबाजी हुन थालेको छ । नेकपा एसका उम्मेदवार मेटमणिलाई सत्ता गठबन्धनको बलियो साथ देखिन्छ । एमालेकी शान्तालाई पार्टीगत रुपमा बलियो संगठनको साथ छ । शान्तामाथि आफ्नो निर्वाचन क्षेत्र नभएको टुरिष्ट उम्मेदवारको आरोप छ । क्षेत्र नं १ मेटमणिको पुरानो निर्वाचन क्षेत्र हो । उनी २०७४ को निर्वाचनमा एमालेबाट यसै क्षेत्रमा विजयी भएका थिए ।
शान्ता क्षेत्र नम्बर १ का लागि नयाँ हुन् । उनको घर क्षेत्र नम्बर २ भए पनि पार्टीले निर्णय गरेर १ मा पठाएको हो । यही विषयलाई उठाउँदै गंगाले एमाले परित्याग गरेकी हुन् ।
यो क्षेत्रमा मेटमणि र शान्ताबीच नै मुख्य प्रतिस्पर्धा हुने स्थानीयले आंकलन गरेका छन् । मेटमणिको पार्टीको संगठन कमजोर भएकाले सत्ता गठबन्धन भए पनि चुनाव जित्न भनेजस्तो सजिलो छैन । देउखुरी क्षेत्रमा उनको पार्टी नेकपा एसले स्थानीय निर्वाचनमा १ वडाध्यक्ष र केही वडा सदस्यमात्रै जितेको छ । त्यसवेला १४५९ मात्र मत ल्याएको थियो ।
क्षेत्र भागबन्डाका समयमा गठबन्धनका दलबीच विवाद भएको थियो । नेपाली कांग्रेसले यस क्षेत्रमा दाबी गरेको थियो । कांग्रेसका योगेन्द्र चौधरीले उम्मेदवारी घोषणासमेत गरेका थिए । तर, केन्द्रबाट गरिएको भागबन्डामा नेकपा एसलाई परेपछि योगेन्द्रलाई कांग्रेसले समानुपातिकमा राखेको छ । तैपनि उनी सन्तुष्ट छैनन् । त्यसकारण पनि कांग्रेसबाट मेटमणिका लागि अन्तरघात हुने र त्यसको फाइदा शान्तालाई हुने एमाले निकट नेता-कार्यकर्ताको आंकलन छ ।
यस्तो छ निर्वाचन अंक गणित
यस क्षेत्रमा लमही नगरपालिका, गढवा, राजपुर र राप्ती गरी चार स्थानीय तह छन् । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअनुसार यो क्षेत्रमा कांग्रेस र माओवादी बलियो देखिन्छ । यहाँ माओवादी र कांग्रेसले २-२ वटा पालिका जितेका छन् । एमालेले कुनै पनि पालिका जितेको छैन । स्थानीय तहको मतलाई आधार मान्ने हो भने यस क्षेत्रमा एमालेको मत कम देखिन्छ ।
२०७४ सालको चुनावमा एमालेले जितेको लमही नगरपालिका र गढवा गाउँपालिका २०७९ मा गुमाएको छ । माओवादीले राप्ती र गढवा जितेको छ । अंक गणितअनुसार सत्ता गठबन्धनका उम्मेदवार मेटमणि सुरक्षित देखिन्छन् ।
यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा आएको मतभार अनुसार कांग्रेसको २९ हजार ७५७, एमालेको २७ हजार २५, माओवादीको १९ हजार २७६, राप्रपा २ हजार ३५०, एसको २ हजार ३४१ र जसपा ८०७ रहेको छ ।
तीनै जना एउटै पृष्ठभूमि अर्थात थारु समुदायबाट मात्र आएका नेता होइनन् । उनीहरु थारु समुदायको आन्दोलनमा पनि सँगसँगै सहकार्य गरेका एवम् थारु अधिकारका लागि संघर्ष गरेका नेतृत्वकर्ता हुन् । तर, पार्टी फुटका कारण एक-अर्काका प्रतिस्पर्धी हुन पुगेका छन् ।