काठमाडौं १० मा माओवादीको निर्णय- प्रदेशसभा २ मा पनि उम्मेदवारी कायमै राख्ने – Nepal Press

काठमाडौं १० मा माओवादीको निर्णय- प्रदेशसभा २ मा पनि उम्मेदवारी कायमै राख्ने

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० को प्रदेशसभा क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई गठबन्धनको आधिकारिक उम्मेदवार मान्ने निर्णय गर्दै जारी गरेको सर्कुलरप्रति नेकपा माओवादी केन्द्रको क्षेत्रीय समितिले असहमति जनाएको छ ।

गठबन्धनका शीर्ष नेताको बैठकले जारी गरेको आधिकारिक उम्मेदवारको सूचीमा काठमाडौं १० मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका राजन केसी र माओवादी केन्द्रका अञ्जना विशंखे र प्रदेशसभा १ मा कांग्रेसका पुकार महर्जन र माओवादीका दिलीप महर्जनबीच मित्रवत प्रतिस्पर्धा गर्ने भनिएको छ ।

तर, प्रदेशसभा २ मा भने एकीकृत समाजवादीका रमा आलेमगरको नाममात्रै राखिएको छ ।

गठबन्धनको सीट बाँडफाँटमा उक्त क्षेत्र एकीकृत समाजवादीको भागमा परे पनि माओवादीले गणेशबहादुर कुँवरलाई उम्मेदवार बनाएपछि दोहोरो उम्मेदवारी छ ।

माओवादीको काठमाडौं क्षेत्र नम्बर १० क्षेत्रीय कमिटीका इन्चार्ज पुरुषोत्तम सुनार र क्षेत्रीय इञ्चार्ज उर्गेन लामाले प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनको निर्णयप्रति क्षेत्रीय कमिटीको असहमति रहेको बताउँदै काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभा र प्रदेसभा १ र २ गरेर सबै क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवारी कायमै रहेको प्रस्ट पारेका छन् ।

गठबन्धनका शीर्ष नेताको बैठकले कुँवरको उम्मेदवारीलाई गठबन्धनको लिष्टमा नराखे पनि स्थानीय माओवादी नेतृत्वले मित्रवत प्रतिस्पर्धाका नाममा एकीकृत समाजवादीलाई छाड्न नसकिने जनाएको छ ।

‘मिति २०७९ साल कात्तिक ११ गते ४ दलीय गठबन्धनको विज्ञप्ति प्रकाशित भएकोमा काठमाडौं जिल्ला क्षेत्र नम्बर १० नेकपा माओवादी केन्द्रको ध्यानाकर्षण भएको छ । काठमाडौं जिल्ला क्षेत्र नम्बर १० मा उम्मेदवारी दर्ता गर्ने समयदेखि नै गठबन्धन नभएकाले उक्त विज्ञप्तिप्रति असहमति रहेको हुँदा प्रतिनिधिसभा सदस्य उम्मेदवार क. अञ्जना विशंखे, प्रदेशसभा १ सदस्य उम्मेदवार क. दिलीप महर्जन र प्रदेशसभा २ सदस्य उम्मेदवार क. गणेशबहादुर कुँवरसमेत ३ जनाको उम्मेदवारी यथावत कायम रहेकाले कोही पनि भ्रममा नपरी चुनावी अभियानमा सक्रिय भई परिचालित हुन स्थानीय नेता, कार्यकर्ता, शुभचिन्तक तथा सम्पूर्ण समर्थक जनसमुदायमा हार्दिक अपिल गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

One thought on “काठमाडौं १० मा माओवादीको निर्णय- प्रदेशसभा २ मा पनि उम्मेदवारी कायमै राख्ने

  1. देशव्यापी यहि हो । काँग्रेसले माओवादी र समाजवादीलाई भोट नहाल्ने उर्दी गरेको छ । बागीलाई जिताएर पार्टीमा प्रवेश गराउने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर