बागमतीमा २४ घण्टाभित्र ५ जनाले गरे आत्महत्याको प्रयास, ४ जनाको मृत्यु
हेटौंडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ५ जनाले आत्महत्या प्रयास गरेका छन् । आत्महत्या प्रयास गर्ने ५ मध्ये ४ जनाको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
बागमती प्रदेश कार्यालयका अनुसार गत शनिबार र आइतबार ५ जनाले आत्महत्याको प्रयास गरेका थिए । जसमध्ये ४ जनाले ज्यान गुमाएका हुन् ।
आत्महत्या गर्नेमा ७० वर्षका वृद्धदेखि २८ वर्षीय युवासम्म छन् । उनीहरुमध्ये ३ जना पुरुष र एकजना महिला छन् ।
आत्महत्या गर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका- ३ का २८ वर्षीया स्यारपुनि तामाङ, चितवनको भरतपुर महानगरपालिका- १३ का ४८ वर्षीय सुरेश कमैया चौधरी, काभ्रेको नमोबुद्व नगरपालिका- ९ का ६८ वर्षीय माइला तामाङ र दोलखाको कालिन्चोक गाउँपालिका- ६ का ७० वर्षीय मानबहादुर थामी रहेका छन् ।
त्यसैगरी सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका- ३ का ३७ वर्षीय राजु तामाङले विषादी सेवन गरी आत्महत्या प्रयास गरेका थिए । उनको उद्धार गरी हाल उपचार भैरहेको प्रहरीले जनाएको छ ।