मधेसबाट धेरै सीट जित्न नसकिए कांग्रेसको नेतृत्वमा सरकार बन्दैन : आरजू – Nepal Press

मधेसबाट धेरै सीट जित्न नसकिए कांग्रेसको नेतृत्वमा सरकार बन्दैन : आरजू

जनकपुरधाम । नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणाले मधेश प्रदेशबाट धेरै सिट ल्याउन नसकिए कांग्रेस नेतृत्वमा सरकार नबन्ने बताएकी छन् ।

धनुषाको लक्ष्मीनियामा आयोजित कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा आज बोल्दै नेतृ राणाले मधेसबाट धेरै सिट जित्नुपर्ने बताइन् । उनले देश विकासका लागि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिइन् ।

‘कांग्रेसले नागरिकता जस्ता समस्या समाधान गरी देशमा समाजवाद, शान्ति र विकास चाहेको थियो’, उनले भनिन्, ‘तर ०७४ को चुनावमा कम्युनिस्टले बहुमत ल्याएर सरकार बनायो । कम्युनिस्टहरूले भने देशलाई पछाडि धकेल्ने काम गर्‍यो र कांग्रेसले देशको नेतृत्व गर्नुपर्ने अवस्था आयो ।’

फरक विचार बोकेका दलहरू मिलेर सरकार बनाउँदा धेरै दिन नचल्ने धेरैको अनुमान फेल भएको उनले बताइन् । उनले भनिन्, ‘विगतका सरकार अत्याचार गरेपछि फेल भयो । यो सरकार देश हितमा धेरै काम गरेको छ । र गर्न बाँकी कामहरू गर्न पुनः कांग्रेस नेतृत्वमा सरकार बनाउन गठबन्धनका उम्मेदवारहरूलाई जिताउनुपर्छ ।’

उनले गठबन्धन बनेकाले माओवादी, एकीकृत समाजवादी, लोसपा पार्टीको चुनाव चिन्हमा मत हाल्नुपर्ने अनौठो समय आएको बताइन् ।

उनले गठबन्धनका अन्य दलका उम्मेदवारलाई भोट हाल्न नहिचकिचाउन आफ्ना पार्टीका नेता कार्यकर्तासँग अपिल पनि गरिन् ।

नेतृ राणा छठ मनाउन जनकपुरधाम आएकी थिइन् । उनी जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरी घाट पुगेर छठी मैयाको आराधना तथा पूजाआजा गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर