सही राजनीतिक दल र नेता चुन्ने अवसर हो आमनिर्वाचन – Nepal Press

सही राजनीतिक दल र नेता चुन्ने अवसर हो आमनिर्वाचन

देश यति वेला चुनावको माहोलमा छ । संविधानसभाबाट संघीय गणतन्त्रात्मक संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचन हो यो । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको माहोल, सत्ता गठबन्धनको कसिलो चुनावी गठबन्धन र केही स्वतन्त्र व्यक्तिहरुले हासिल गरेको अनपेक्षित परिणामले गर्दा आगामी निर्वाचनपछिको राजनीतिक परिदृश्य कस्तो हुने हो ? सबैमा कौतुहलता छ । अर्कोतिर आम नागरिकमा राजनीतिप्रति चरम निराशा र वितृष्णा छ । बेथिति, चरम महँगी र कुशासनले गर्दा उनीहरुमा उत्साह छैन । राजनीतिक अस्थिरताको लामो चक्रव्यूह व्यहोरेका नेपालीहरुमा उही नियति दोहोरिने हो कि भन्ने चिन्ता छ ।

लोकतन्त्रमा राजनीतिको माध्यमबाट नीति बन्छन् । ती नै नीति-नियम, ऐन-कानूनबाट जनता शासित हुने हो । राजनीति सर्वव्यापी विषय हो । यो हाम्रो दैनिकीसँग जोडिएको हुन्छ । त्यसैले राजनीतिप्रति जतिसुकै वितृष्णा भए पनि हामीसँग अर्को उत्तम विकल्प छैन । राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ । यति वेला देशमा भरोसा गर्न योग्य नेता र नेतृत्वको अभाव महसुस भैरहेको छ । नेता व्यक्ति हो र नेतृत्व सामूहिक विषय हो । सामाजिक मुद्दाहरुको उठान गर्ने व्यक्ति नेता हो र त्यो मुद्दालाई आत्मसात गर्ने, निर्णय गर्ने समूह नेतृत्व हो । नेता व्यक्ति हो र नेतृत्व सामूहिक विषय हो ।

के नेपालको अविकासको जड राजनीतिक व्यवस्था वा प्रणाली हो ? २००७ सालयता सात-सात वटा संविधान फेरिए । जहाँनिया राणा शासन, तीस वर्षे पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था हुँदै अहिले धर्म निरपेक्षतासहितको सङ्घीय गणतन्त्रमा आइपुग्दा राजनीतिक व्यवस्था परिवर्तनले सामाजिक, आर्थिक विकास र समृद्धिलाई किन सम्बोधन गर्न सकेन ? अझै पनि केही नेता र राजनीतिक पार्टीले अभ्यास हुन बाँकी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्छ भन्ने एजेण्डासमेत मुखरित गरेको पाइन्छ । कोही राजतन्त्रात्मक हिन्दू राज्य हुनुपर्छ भनिरहेका छन् । केही संघीयता खारेजीको मुद्दा बोकिरहेका छन् । सापेक्षमा हेर्दा कुनै पनि राजनीतिक व्यवस्था तथा प्रणाली खराब छैनन् । सबैका आ-आफ्नै गुण र दोष छन् । ‘नाच्न नजान्ने आँगन टेढो’ भन्ने उखान चरितार्थ भैरहेको छ ।

आम नागरिकमा राजनीतिप्रति चरम निराशा र वितृष्णा छ । बेथिति, चरम महँगी र कुशासनले गर्दा उनीहरुमा उत्साह छैन । राजनीतिक अस्थिरताको लामो चक्रव्यूह व्यहोरेका नेपालीहरुमा उही नियति दोहोरिने हो कि भन्ने चिन्ता छ ।

समाज र राजनीतिक नेतृत्वका बीचमा महत्वपूर्ण सम्बन्ध रहेको हुन्छ । त्यसैले अक्सर भन्ने गरिन्छ- जस्तो समाज छ, त्यस्तै किसिमको नेतृत्व जन्मिन्छ । माओ, लेनिन, क्यास्ट्रो, महाथिर, हो चि मिन्ह वा समकालीन विश्वका चर्चित नेताहरुजस्ता हाम्रा नेता किन भएनन् वा जन्मिएनन् भनेर पनि भन्ने गरिन्छ । चामत्कारिक नेतृत्वको कल्पना गर्नु अन्यथा होइन । नेतृत्वमा अपवाद गुण भएका, विलक्षण प्रतिभा बोकेका कोही भैदिएको भए सायद देशको हालत अहिले देखिए जस्तो गञ्जागोल हुन्थेन होला ।

नेतृत्व तीन तरिकाबाट जन्मिन्छ । पहिलो हो जन्मँदै त्यस्तो विलक्षण प्रतिभा हुनु । त्यस्ता व्यक्तिहरुको व्यक्तित्व, बोली र व्यवहारले सबैलाई सम्मोहित पार्छ । दोस्रो हो, करिश्मा । यस्तो गुण मेहनत र परिश्रमबाट परिष्कृत हुन्छ । मान्छे हेर्दा शारीरिक रुपमा नराम्रो वा दुर्बल भए तापनि उनीहरुप्रतिको आम आकर्षण छुट्टै हुन्छ । तेस्रो हो, कानूनी वैधानिकता । नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता हो । यद्यपि कानूनी वैधानिकता हुँदाहुँदै पनि पहिलो र दोस्रो गुणको अभावमा वास्तविक नेता जन्मिँदैन ।

नेता र नेतृत्व आफैले बनाएको नियम र कानूनको परिधिभित्र बस्नुपर्दछ । त्यस्तो नियम र कानूनअन्तर्गत देशको संविधान, नीति–नियमहरु वा पार्टीका आफ्नै विधि र विधानहरु पर्दछन् । तर, व्यवहारमा ठीक विपरीत अवस्था देखिन्छ । पार्टीका विधान, देशको कानून र संविधानविरोधी हर्कत यिनै नेता र नेतृत्वबाट पटक-पटक भैरहेको छ । जसले गर्दा असल प्रजातान्त्रिक पद्धती, मूल्य र मान्यतामा विश्वास गर्ने राजनीतिक संस्कार अझै बस्न सकिरहेको छैन ।

प्रजातन्त्रको दुहाई दिएर जीवन राजनीतिमा समर्पण गरेका, जेल, नेल र कष्टप्रद भूमिगत जीवन व्यतित गरेर आएका वर्तमान नेतृत्व पंक्तिमा तानाशाही प्रवृत्तिले टाउको उठाउन खोजिरहेको देखिँदैछ । नागरिकको सर्वोच्चतालाई उनीहरुले आत्मसात गर्न सकेका छैनन् । व्यवहारमा अहिलेको नेतृत्व ढुलमुले र चरम अवसरवादी भैरहेको छ । आफूले व्यवहारमा लोकतान्त्रिक आचरण बोकेका र सामूहिक नेतृत्व हुनुपर्छ भन्ने सोच भएका आदर्शवादी नेताहरु ओझेल पर्दै गएका छन् । प्रतिस्पर्धात्मक क्षमताको आधार भन्दा पनि नातावाद र कृपावादमा आफ्ना मान्छेलाई टिकट दिने परिपाटी संस्थागत हुँदै जानु लोकतान्त्रिक संस्कार होइन ।

राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ । यति वेला देशमा भरोसा गर्न योग्य नेता र नेतृत्वको अभाव महसुस भैरहेको छ । नेता व्यक्ति हो र नेतृत्व सामूहिक विषय हो ।

एउटा व्यवसायिक कर्पोरेट हाउस चलाउन व्यवस्थापक हायर गरेर लिन सकिन्छ । तर, देशको भाग्य र भविष्यसँग प्रत्यक्ष जोडिने नेता र नेतृत्व भाडामा वा करारमा लिन सकिन्न । देश बनाउने यिनै नेताको कार्यभार हो । इतिहासमा संघर्ष, आन्दोलन र जनपरिचालनमा पोख्त नेताहरुले अहिले राजकीय भूमिका निर्वाह गर्ने ठाउँमा पुग्दा कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्न सकिरहेका छैनन् । व्यवस्थापकीय कमिकमजोरी प्रशस्त देखिने गरेका छन् । तसर्थ, नेतृत्वको रुपान्तरण अहिलेको आवश्यकता हो । असल नेतृत्वका गुण अनुशरण गर्ने, सिक्ने, नक्कल गर्ने विषय पनि हो । विश्वका सफल नेताहरुबाट हाम्रा नेताले पनि सिक्नुपर्दछ । तर, देखावटी र बनावटी कुरा, चालढाल, लवाइ, खवाइमात्र नक्कल गरेर असल नेता बन्न सकिन्न । चुनाव जसरी पनि जित्ने झूटा आश्वासन बाँड्ने र निर्वाचित भएपछि कर्तव्यच्युत हुने संस्कार बदल्नुपर्छ । तबमात्र जनआक्रोश र वितृष्णा घट्छ ।

नेताहरु व्यापारी, विभिन्न व्यापारिक प्रतिष्ठानका लगानीकर्ता र ठेकेदारमा परिणत भएका छन् । ठूला होटेल, अस्पताल, विद्यालय, उद्योग, मेडिकल कलेज, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरुका अदृश्य पार्टनर हुने गरेका छन् । यसले गर्दा उनीहरुको निष्ठा र इमानदारीमा गम्भीर प्रश्न उठ्ने गरेको छ । खासमा राजनीति गर्ने नेताको काम नीतिनियम बनाउने हो । त्यसैको आधारमा चुस्त दुरुस्त प्रणाली स्थापना गरेर प्रणालीगत रुपमा कार्य गर्ने र गराउने परिपाटी हुनुपर्छ । निश्चित विधि प्रक्रिया र मापदण्ड बनेपछि नेतृत्व गर्नेले त्यसैको परिधिभित्र रहेर कार्य गर्ने गराउने हो ।

पछिल्लो समय नव-धनाढ्य वर्गको उदय हुँदैछ समाजमा । यो वर्गको चरित्र ढोंगी हुन्छ । दलाल पूँजीपतिहरुको वर्ग हो यो । खासै मेहनत नगरी छोटो अवधिमा नै खास गरेर घरजग्गाको दलाली व्यवसायबाट अपारदर्शी ढंगले रातारात धनी भएको वर्ग हो यो । पैसा र सम्पत्ति प्रशस्त भएपछि यो वर्गलाई अब समाजमा प्रभुत्व जमाउने, पहिचान बनाउने र आफूलाई विशिष्ट देखाउन तल्लीन हुन्छ । यही वर्गले राजनीति विकृत बनाइरहेको छ । पैसाको बलमा टिकट हात पार्ने र जनतालाई झुक्याएर, पैसा खर्च गरेर माननीय बनिरहेका छन् ।

नेताहरु व्यापारी, विभिन्न व्यापारिक प्रतिष्ठानका लगानीकर्ता र ठेकेदारमा परिणत भएका छन् । ठूला होटेल, अस्पताल, विद्यालय, उद्योग, मेडिकल कलेज, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरुका अदृश्य पार्टनर हुने गरेका छन् । यसले गर्दा उनीहरुको निष्ठा र इमानदारीमा गम्भीर प्रश्न उठ्ने गरेको छ ।

लोकतन्त्रको उच्चतम अभ्यास गरिरहेका छौं अहिले हामी । अभिव्यक्ति स्वतन्त्रता संविधानको मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । सँगसँगै नागरिकको कर्तव्य, दायित्व र जिम्मेवारीहरु पनि संविधानमा लिपिबद्ध छन् । तर, त्यतातिर खासै चासो दिएको पाइन्न । नेता, कार्यकर्ताहरु जस्तै गरी सर्वसाधारण जनतासमेत ध्रुवीकृत भएको देखिन्छ । खासमा इस्युमा आधारित भएर बहस छलफल हुनुपर्दछ । तर, हामी आफ्नो पार्टी र गुट सापेक्ष भएर कित्ताकाट भैरहेका छौं । सामाजिक सञ्जाल यति वेला कुण्ठा पोख्ने चौतारी भएको छ । सार्वजनिक मिडियाहरु पनि नियतबस नै कसैको तेजोबोध गर्न उद्यत देखिन्छन् । यसले सर्वसाधारणमा चरम निराशा छाइरहेको छ ।

यति वेला हामी परिस्थितिजन्य घटना अर्थात पोष्ट कोभिड महामारीसँग जुधिरहेका छौं । कोभिड महामारी नियन्त्रणको दौरानमा अवलम्बन गरिएको लकडाउन र खर्चले गर्दा थला परेको अर्थतन्त्र अझै लयमा फर्किन सकेको छैन । समाजलाई सही बाटोमा हिँडाउने नेता, नेतृत्व र राजनीतिक दलहरु आन्तरिक किचलोमा फसेका छन् । जनजीविकाका मुद्दा ओझेल परेका छन् । निमुखा, श्रमजीवीहरुको आवाज बोलिदिने कोही छैन ।

अर्थतन्त्र गम्भीर संकटोन्मुख छ । सबै मिलेरमात्र अप्ठ्यारो परिस्थितिको सामना गर्न सकिन्छ । विश्व राजनीतिको प्रभाव खास गरेर रुस-युक्रेन युद्ध, अमेरिका र चीनबीचको व्यापार युद्ध आदिको कारणले भविष्य कता जाने हो यसै भन्न सकिने स्थिति छैन । यस्तो विषम परिस्थितिमा आशा र भरोसा गर्न सकिने सबल नेतृत्वको खोजी गर्ने र चुन्ने तथा खराबमध्येबाट नै किन नहोस् तुलनतात्मक हिसाबले सही राजनीतिक दल र नेता चुन्ने अवसर हो आमनिर्वाचन । तसर्थ हामी सबैले आफ्नो सार्वभौम अधिकारको विवेकसम्मत प्रयोग गरौं र असल नेतृत्व चुनौं । अस्तु !

(लेखक पौडेल लुम्बिनी वाणिज्य क्याम्पसका अध्यापक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *