सत्यमोहनका किस्सा: माधव घिमिरेसँग शीतयुद्ध, हरिभक्तको अपमान !
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी आफ्नो विराट छवि निर्माण गरेर १०३ वर्षमा परलोक भए । आजीवन न कुनै विवादमा तानिए, न कुनै लफडामा मुछिए । शान्त र शौम्य स्वभावले जोशीका कर्मलाई झनै प्रज्वलित गरिदियो । अन्ततः एक मिथकजस्तो जीवन बाँचेर गए ।
अथक मेहनतको जगमा भव्य परिचय निर्माण गरेका जोशीले जति दिन स्वास फेरे, उति नै दिन अगणित काम गरे, कहिल्यै थाकेनन् । उनको त्यही ऊर्जा र मिहेनतमाथि पनि छुट्टै डिस्कोर्स हुनसक्छ । त्यसैले त उनले आफू लामो समयसम्म बाँच्नुको कारणमाथि अध्ययन गर्न किस्ट मेडिकल कलेजका विद्यार्थीलाई शरीर नै दान दिए ।
झण्डै छ दर्जन हाराहारी पुस्तक लेखे । हुलाक टिकटमा छापिए । न्युजिल्याण्ड पुगे । कर्णालीका खोँच र पहाड छिचोलेर लोकगीतहरु बटुले । त्यहाँका मान्छेका जिब्रोमा झुण्डिएका गीतहरुलाई दस्तावेजीकरण गरे । तिनै गीतहरुमार्फत् इतिहास र सभ्यताको गोहो पत्ता लगाउने पदचिह्नहरु छाडेर गए ।
जोशीले एउटा जुनीमा अथाह कामहरु मात्रै गरेनन्, उत्तिकै ‘लक्की’ सावित पनि भए । बाँच्दाखेरि नै आफ्नो कामलाई न्याय हुने सम्मान विरलै मानिसले पाउँछन्, त्यसमा जोशी एक हुन् । नत्र मानिसहरु बाँच्दासम्म उछित्तो काड्छन्, मृत्युपछि सम्मान प्रकट गर्छन् ।
२०१६ मा पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक भए । चीन गएर अरनिकोबारे अध्ययन गर्ने पहिलो नेपाली भए । तीनपटक मदन पुरस्कार प्राप्त गरे (२०१३, २०१७, २०२८) । सुप्रबल दक्षिण बाहु, अदिकवि भानुभक्त पुरस्कार, पद्मश्री साधना सम्मान पाए । ०७८ मंसिर १ मा ई-पासपोर्ट प्राप्त गर्ने पहिलो नेपाली बने । उनको तस्बिर अंकित चाँदीको सिक्का पनि निष्कासन गरियो । पञ्चायतकालमा नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य सचीव भएर लामो समय काम गरे । आजीवन सदस्य भए ।
अर्कातिर उनी यस्ता भाग्यमानी हुन्, जसले पाँच-पाँच राणा प्रधानमन्त्रीको शासन झेले- चन्द्र शमशेर, भीम शमशेर, जुद्ध शमशेर, पद्म शमशेर र मोहन शमशेर । त्यस्तै पाँच पूर्वराजा भोगे- त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र शाह । प्रजातन्त्रपछि झण्डै दुई दर्जन प्रधानमन्त्रीहरुका साक्षी बने ।
जोशीले राज्यको सेवा-सुविधा पनि यथेष्ट प्राप्त गरे । बाँच्दैखेरि उनका कामहरु अत्यधिक प्रशंसित भए । उनी यस्ता भाग्यमानीमध्ये एक हुन्, जसले आलोचना खासै खेप्नु परेन । मुद्रा संकलन गर्दा होस् या लोकगीत संकलन गर्दा, सधैं प्रशंसित भए । दरबारले पनि उनलाई टेकोबार दिइरह्यो । मदन पुरस्कार जितेका ‘हाम्रो लोक संस्कृति’, ‘नेपाली राष्ट्रिय मुद्रा’ र ‘कर्णाली लोक संस्कृति’ पुस्तकहरु दरबारकै प्रोजेक्ट थिए । जोशीको जागिरे काम थिए ती पुस्तक ।
माधव घिमिरेसँग शीतयुद्ध
सत्यमोहनजस्तै लामो उमेर बाँचेका प्रतिष्ठित व्यक्तित्व थिए कवि माधव घिमिरे । जानकारहरुका अनुसार जोशी र घिमिरेबीच एक खालको आन्तरिक टकराव थियो । उमेरका हिसाबले समकालीन, सँगै नेपाल सरकारको जागिर सुरु गरेका, दरबारसँग दुवैको पहुँच जस्ता समानता उनीहरुमा थिए । सत्तासँग नजिक रहने स्वभावका कारण उनीहरुबीच कसले राम्रो नियुक्ति खाने र सम्मान पाउने भन्नेमा अघोषित प्रतिस्पर्धा नै थियो । त्यो दौड घिमिरेको मुत्युपछि मात्रै सकिएको थियो ।
दुवैको प्रतिस्पर्धाको असर प्रस्ट रुपमा सार्वजनिक कार्यक्रमहरुमा देखिने गरेको एक साहित्यकार बताउँछन् । ती साहित्यकारका अनुसार एकजनालाई प्रमुख अतिथि बनाएर बोलाउँदा अर्को कार्यक्रममा आउनै आनाकानी गर्थे । घिमिरे प्रमुख अतिथि हुँदा जोशी विशेष अतिथिसमेत स्वीकार्दैन थिए । जोशीका लागि पनि त्यही थियो ।
उनीहरुबीचको तिक्ततामाथि धेरैले खेल्ने ठाउँ पाएको समीक्षक राजकुमार बानियाँको विश्लेषण छ । सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ पदवी पहिला नइ प्रकाशनले दिएको थियो । नइ प्रकाशन नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंले खोलेको संस्था हो, जुन पुरस्कार र सम्मानमा अत्यधिक केन्द्रित छ ।
प्रसाईं भन्छन्, ‘उहाँ ९५ वर्षको हुँदा एउटा किताब लेखेको थिएँ । किताबको नाम ‘शताब्दी पुरुष सत्यमोहन’ थियो । पछि उहाँलाई हाम्रो त्रिमूर्ति निकेतनबाट ‘शताब्दी पुरुष’ र पाँच लाख रुपैयाँको सम्मान दियौं । पछि सरकारबाट पनि त्यो सदर भयो । त्यसवेला उहाँलाई एकेडेमीको कूलपति खाने इच्छा थियो । तर, दिएनन् । पछि मैले सोधेँ, तपाईलाई शताब्दी पुरुष राम्रो कि दशवटा कुलपति ? उहाँले मलाई शताब्दी पुरुष भए हुन्छ भनेपछि हामीले दियौं ।’
तर, त्रिमूर्ति निकेतनले जोशीलाई शताब्दी पुरुष दिनुको पछाडि माधव घिमिरे कारक रहेको एक साहित्यकारकोे तर्क छ । उनका अनुसार नइ दम्पतीले माधव घिमिरेलाई नै शताब्दी पुरुष बनाउन चाहन्थे । तर, नइ प्रकाशनले नै घिमिरेलाई ‘राष्ट्रकवि’ को पदवी दिइसकेको थियो । त्यसैले सन्तुलन मिलाउनका लागि जोशीलाई शताब्दी पुरुषको उपमा दिइयो ।
साहित्यकार पुष्कर लोहनीले नेपाल म्यागजिनमा बोलेका थिए, ‘आफैंले उचालेर राष्ट्रकवि बनाएका माधव घिमिरेलाई खसाल्न शताब्दी पुरुषको नाटक मञ्चन गरिएको छ । अहिलेको जमानामा आलुको भाउमा तक्मा बाँड्नु राजा-महाराजाको नक्कल हो ।’
नइ दम्पतिले सयौंलाई पुरस्कार बाँड्दा यिनै साहित्यकार लोहनीलाई पनि भानुभक्त पुरस्कार दिएका रहेछन् । तर, उनी स्वयम्लाई थाहा थिएन । लोहनी भानुभक्तलाई आदिकवि नै नमान्ने साहित्यकार हुन् । पछि एक महिलाले झोलामा हालेर घरमा प्रमाणपत्रि ल्याइदिएपछि फोनमा फिर्ता लैजाऊ भन्दा हुन्छ-हुन्छ भनेर लिन नआएको लोहनीको भनाइ छ ।
‘शताब्दी पुरुष’ पदवीमा नइ दम्पतीले जोशीलाई रोज्नुको थप कारण खोतल्न गणतन्त्र आएपछिको समयलाई हेर्नुपर्छ । गणतन्त्र आएपछि घिमिरेले सम्मानहरु कम पाउन थाले । दुवै दरबारका प्यारा भए पनि गणतन्त्रपछि जोशीलाई बढी मान्न थालियो । यसले पनि जोशी र घिमिरेको तिक्तता बढाउन झनै मलजल गरेको धेरैको बुझाइ छ ।
समीक्षक बानियाँ प्रश्न गर्छन्, ‘शताब्दी पुरुष शब्दमै अन्योल छ । शताब्दी पुरुष उमेरले हुने कि विचारले ? जुन विचारकको विचारले सय वर्ष दुनियाँलाई गाइड गर्यो, ऊ पो हुनुपर्ने हो शताब्दी पुरुष !’
जब हरिभक्तको चित्त दुखाए
०३५ सालमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव हुँदा जोशीले प्रसिद्ध कवि तथा गीतकार हरिभक्त कटुवालको चित्त दुखाएको अर्को प्रसंग चर्चित छ । कटवाल त्यसवेला एकेडेमीको एउटा प्रोजेक्ट (शोधग्रन्थ) मा काम गरिरहेका थिए । उनले आफू खाने र बस्ने खर्च जुटाइरहेका थिए । सानो विवादका कारण प्रज्ञा प्रतिष्ठानको गेटमै आएर जोशीले कटुवाललाई ‘तिमीलाई त्यो विद्दतवृत्ति मैले दयाले दिएको हो’ भनिदिए ।
जोशीको भनाइले चित्त दुखाएका कटुवालले त्यसबेलाका युवा कविहरुलाई गुनासो गरे । उनीहरुले एकेडेमीमै निवेदन लेखेका थिए । यस प्रकरणबारे ०३७, फागुन अंकको ‘अभिव्यक्ति’ पत्रिकामा प्रकाशित हरिभक्त स्मृति अंकमा समाचार प्रकाशित छ ।
‘समीक्षा’ साप्ताहिकबाट
विद्वतवृत्ति हो कि दयाको भिक्षा ?
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवले उक्त प्रतिष्ठानको विद्वतवृत्ति प्राप्त गरेका कवि हरिभक्त कटुवाललाई अपमानित गर्नुभएकोले श्री विद्वतवृत्तिबाट राजीनामा गर्नुभएको छ । उक्त अपमानजनक कार्यलाई निन्दा गर्दै ३५ जना साहित्यिकहरुले दिएको वक्तव्य –
‘नेपाली साहित्यका प्रख्यात कवि श्री हरिभक्त कटुवालले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्धारा प्रदत्त २०३५ सालको विद्दतवृत्ति त्याग गर्नुभएको कुरा आएको छ । उहाँले विद्दतवृत्ति त्याग्नुपर्ने कारण प्रतिष्ठानका सदस्य सचिव श्री सत्यमोहन जोशीको उहाँप्रतिको दुर्व्यवहार हो भनी बताउनुभएको छ । यसरी देशको साहित्य, कला र संगीतका लागि प्रतिष्ठापित सर्वोच्च संस्थाका वेतन भोगी सदस्यसचिवद्वारा एकनजा कविलाई ‘तपाईंलाई यो वृत्ति दया गरी दिएको हो’ जस्तो हीन कुरा भन्नु साह्रै दुःखलाग्दो कुरा हो । विद्वतवृत्ति दिइएकोले आठ महिनाभित्रै सोधग्रन्थ नबुझाएकोले सो वृत्ति बन्द गरिदिनु युक्तिसंगत देखिँदैन । आठ महिनामा कुनै सोधग्रन्थ तयार गर्नु कुनै खेलाँची होइन भन्ने थाहा नपाउनेहरुले नेपाली सरस्वतीको मन्दिरमा बस्न सुहाउँदैन ।
कवि कटुवालप्रति गरिएको यस्तो अमर्यादित दुर्व्यवहारले समस्त साहित्यिकहरुमा दुःखको लहर उब्जाएको छ । सदस्यसचिवले जनप्रिय कवि कटुवालप्रति गरेको दुर्व्यवहारपूर्ण नीतिको हामी क्षोभ प्रकट गर्दछौं । श्री जोशीद्वारा कवि कटुवालप्रति गरिएका शब्दहरु हामीलाई पच्न नसकेको हुँदा ती बौद्धिक स्तरमा अपशब्द भन्न सकिने शब्दहरु फिर्ता लिइयोस् ।’
हस्ताक्षरकर्ताः शैलेश आचार्य, विमल कोइराला, कृष्ण भुषण बल, विनोद अश्रुमाली, अशेष मल्ल, योगेन्द्र तिमल्सिना, कृष्ण रेग्मी, वासु शशि, सन्तोष भट्टराई, विमल निभा, राजव, ईश्वर बल्लभ, विश्वमोहन श्रेष्ठ, वैरागी काइँला, कृष्ण प्रधान, कणद महर्षि, जगदीश घिमिरे, गोपाल भण्डारी, गोपी श्रेष्ठ, किशोर पहाडी, शैलेन्द्र साकार, जनेन्द्र जीवन, गगन विरही, विष्णुविभु घिमिरे, ध्रुव सापकोटा ।
यसपछि पत्रिकामा सम्पादकीय पनि प्रज्ञाप्रतिष्ठानको नेतृत्व ठीक दिशामा अगाडि नबढेको भनेर लेखिएको छ । साथै पोखराका वियज वजिमय, तिर्थ श्रेष्ठ, उषा शेरचन लगायत दर्जनबढी साहित्यकारले पनि वक्तव्य जारी गरेका थिए । तर, तत्कालीन सदस्यसचिवले सयौं साहित्यकारको आवाजलाई नजरअन्दाज गरेको बताइन्छ ।
अर्काको काममा आफ्नो नाम !
२०२९/३० सालतिर साहित्यकार पुष्कर लोहनीले तत्कालीन राजा वीरेन्द्र शाहको रुचिमा ‘पर्यायवाची शब्दकोष’को काम गरिरहेका थिए । केही व्यक्तिहरुले भाषा बिगार्न थालेको भन्दैपछि वीरेन्द्रकै निर्देशनमा लोहनीले शब्दकोषको काम सुरु गरे ।
लोहनीले त्यसवेला दरबारका भित्रिया नारायणप्रसाद श्रेष्ठको माध्यमबाट उक्त प्रोजेक्ट पाएका थिए । त्यसवेला प्राज्ञ सूर्यविक्रम ज्ञावली थिए । उनैको अन्डरमा काम थाले लोहनीले । हरेक महिना कामको प्रगतिबारे दरबारमा रिपोर्ट बुझाउँथे ।
करिब दुई वर्ष लोहनीले ज्ञवालीकै अन्डरमा रहेर काम गरे । ज्ञवालीको पदावधि सकिएपछि जोशी सदस्यसचिव भएर आए । जोशीको अन्डरमा लोहनीले काम गरिरहे । लोहनी भन्छन्, ‘तर, शब्दकोष तयार भएर प्रेसमा जानेवेला सत्यमोहनले गडबडी गर्नुभयो । उहाँले तिम्रो काम सकियो, भोलिदेखि काम छैन भन्नुभयो ।’
त्यसपछि लोहनी नारायणप्रसादकहाँ गए । श्रेष्ठले त्यसवेलाका कुलपति केदारमान श्रेष्ठलाई फोन गरे । तर, जोशी टसमस भएनन् ।
लोहनी भन्छन्, ‘एक महिनासम्म काम नपाएर बसेँ । दरबारले यो कामको श्रेय पुष्कर लोहनीलाई दिनू, उसैलाई भूमिका लेखाउनू भनेको थियो । तर, नारायणप्रसादकै कुरा टेरेनन् जोशीले । उनले भूमिका आफैं लेखे । मैले सबै भूमिका लेखेको थिएँ, उहाँले त्यसलाई तोडमोड गरी आफ्नै बनाएर लेख्नुभयो । मेरो नाम शब्द संकलन र सम्पादनमा मात्रै राखिदिनुभयो ।’
‘पछि कान्तिपुरमा पर्यायवाची शब्दकोषबारे एक लेख छापियो । त्यसमा सबै सत्यमोहनलाई क्रेडिट दिइएको थियो । म कान्तिपुरको अफिस गएँ । को सम्पादक हुनुहुन्थ्यो थाहा भएन । त्यहाँ एउटा लेख लेखेर छाडिदिनुस् भने । मैले त्यसै गरें’, लोहनी थप्छन्, ‘भोलिपल्ट जाँदा यो विवादित आर्टिकल लेख्दा कन्ट्रोभर्सी हुन्छ, नराखौं भन्नुभयो । तपाईं आफ्नो पत्रिकामा लेख्नुस् भन्नुभयो । पछि मैले अर्को एक पत्रिकामा आठवटा लेख लेखें ।’
कर्णाली मा बिज्ञहरुकप टिम खटिएको र ती टिमले नै गाउँ गाउँ मा गएर संकलन गरेको हो । सत्य मोहन लाई एकेडेमी ले लिडर बनाएको हो । तसर्थ त्यो ग्रन्थमा टिमलाई मपु दिइएको हो । अरुको काम आफ्नो बनाउने भनेर
एकेडेमीका प्युनलाई पनि ज्ञात थियो भन्ने सुनिएको हो ।
साहित्य मा कुनै महान कविता कथा उपन्यास लेखेर सृजनात्मकताको उच्च प्रतिभा नदेखाएको ब्यक्तीलाई वाङमय पुरुष रे । वाङ भनेको साहित्य बिधा हो कुनै ब्यक्ति होइन । 85 वर्षसम्म कसैले नचिन्ने मान्छेलाई बूढो भनेर दिनमा 3. बिमोचन जाने कारण सजिलो भयो अरुलाई र फेमस भए उनी ।