नियमावली संशोधन गरेर चुनावको मुखमा फेरि अर्को लाइसेन्स बाँड्दै उद्योगमन्त्री बडू – Nepal Press

नियमावली संशोधन गरेर चुनावको मुखमा फेरि अर्को लाइसेन्स बाँड्दै उद्योगमन्त्री बडू

काठमाडौं । चुनावको मुखैमा उद्योगमन्त्री दिलेन्द्र बडूले गुट्खा उत्पादनका लागि नयाँ लाइसेन्स दिन काम सुरू गरेका छन् । मन्त्रिपरिषद्‍बाट पहिले नै निर्णय भएको भन्दै चुनावको मुखमा नयाँ लाइसेन्स वितरण हुन लागेको हो ।

सीमित बिचौलिया र व्यापारिक घरानासँगको मिलेमतोमा पछिल्लो समय बलियो बन्दै गएको वित्तीय गठबन्धनको निरन्तरता स्वरूप गुट्खाको लाइसेन्स दिइन लागिएको स्रोतले बतायो ।

विशेष आर्थिक क्षेत्र (सेज) मा मदिरा, हातहतियार, विष्फोटक पदार्थ र गुट्खालगायत सुर्तीजन्य उद्योग स्थापना गर्न नपाइने व्यवस्था छ । तर, उद्योगमन्त्रालयको अग्रसरतामा सरकारले नियम नै संशोधन गरेर सेजभित्र गुट्खा उत्पादनका लागि एक उद्योगलाई अनुमति दिने अन्तिम तयारीमा उद्योग मन्त्रालय रहेको छ ।

चुनवाको आचारसंहिता लागू हुनुपूर्व नै उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सेजमा गुट्खा उद्योग खोल्न पाउने निर्णय गरेको थियो ।

पी के श्री इन्ड्रष्ट्रिज प्रालिलाई सेजभित्र गुट्खा उत्पादन गर्न अनुमति दिने अन्तिम तयारी भएको छ । उद्योगमन्त्रालयले यसका लागि काम गर्दैछ । आज नै लाइसेन्स दिनको लागि मन्त्रालयमा बैठक डाकिएको छ ।

उद्योग मन्त्रालयका एक कर्मचारीले भने, ‘आज सेजमा गुट्खा उद्योगलाई सेजभित्र उद्योग खोल्न दिनको लागि बैठक बस्दैछ । मन्त्रालयमा सेजभित्र गुट्खा उद्योग खोल्ने निर्णयप्रति असन्तुष्टिका बीच नियमावली नै संशोधन गरेर लाइसेन्स दिनको लागि नै आज बैठक बस्न लागेको हो ।’

मन्त्रालयको निर्णयपछि त्यो फाइल उद्योग विभाग पुग्नेछ ।

पीकेश्रीले उद्योग स्थापना गर्न राजस्वसमेत तिरिसकेको छ । राजनीतिक पहुँचका कारण पनि अब सरकारले गुट्खा उत्पादनको लागि अनुमति दिनेमा उद्योग सञ्चालक निश्चिन्त छन् ।

गुट्खा उद्योग सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको नियमावली नै संसोधन गरेको छ । सेजमा स्थापना गर्न नपाइने उद्योगहरूको सूची संशोधन गरेर गुट्खा, मदिरा र सुर्तीजन्य उद्योगलाई समेत अनुमति दिने तयारी भएको थियो । तर, अहिलेका लागि गुट्खा उद्योगको मात्र लाइसेन्स दिन लागिएको हो ।

विदेश वस्तु निर्यात गर्नको लागि भनेर स्थापना भएको सेजमा उद्योगले करदेखि जग्गा र भवनको भाडासम्ममा छुट दिने गरेको छ । नियमावली संशोधन गरेर गुट्खा उत्पादन गर्न दिइए यस्ता उद्योगले पनि यी सहुलियत र छुट पाउनेछन् ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई सेजनमा गुट्खा खोल्ने विषय विभागको नभएको बताए ।

उनले भने, ‘मैले पनि सुनेको मात्रै हो । विभागमा कुनै फाइल आएको छैन । निर्णय भएर आयो भने हामीले काम गर्ने हो । तर, विभागले सुरुमा नै अनुमति दिने हैन ।’

भैरहवा र सिमरामा सेजको उद्योग स्थापना गर्ने प्लटहरू रहेका छन् । सरकारले मदिरा र सुर्ती तथा गुट्खाजन्य वस्तुको उत्पादन सेजमा नै गर्न दिने भन्ने भएपछि प्लटहरूको भाडा सम्झौता भइरहेको छ ।

यसअघि मन्त्री बडूले निर्वाचनको मिति घोषणासँगै रक्सी उद्योगको लाइसेन्स बाँडेका थिए । चुनाव खर्च उठाउन आफू निकटस्थ उद्योगीलाई रक्सीको नयाँ लाइसेन्स र पुँजी वृद्धि वितरण निर्णय गरेको उनीमाथि आरोप छ । सेजभित्र गुट्खा उद्योगको लाइसेन्स वितरणमा पनि ठूलो आर्थिक चलखेल भएको बताइएको छ ।

रक्सीको नयाँ लाइसेन्स वितरण ८ वर्षदेखि रोकिएको थियो । लगानी गर्न धेरै लगानीकर्ताहरू इच्छुक रहेको भन्दै उद्योग विभागमा आवेदनहरू थुप्रिएका छन् । तर मन्त्री बडू र उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले स्वार्थ मिल्नेलाई मात्र लाइसेन्स वितरण गरेको आरोप छ ।

चुनावपछि मात्रै सार्वजनिक गर्ने शर्त !

दसैं बिदा अघि नै राजस्व अनुसन्धानले ८ ट्रक सुपारीको सील नै नखोली छाडिदिएको थियो । तर, त्यो कुरा गोप्य राखेर दसैंपछि मात्रै सार्वजनिक भएको थियो । अहिले पनि चुनाव अघि नै सेजमा गुट्खाको उद्योग खोल्न लाइसेन्स दिएर चुनावपछि मात्रै सार्वजनिक गर्न गर्ने तयारी रहेको छ ।


प्रतिक्रिया

One thought on “नियमावली संशोधन गरेर चुनावको मुखमा फेरि अर्को लाइसेन्स बाँड्दै उद्योगमन्त्री बडू

  1. Investigate this man’s property, request for CIAA. This man must have accumulated through license distibution.

Leave a Reply

Your email address will not be published. Required fields are marked *