देउवा डडेल्धुरा नपुग्दै कांग्रेसका दुई जिल्ला सभापति कर्ण मल्लतिर खुले – Nepal Press

देउवा डडेल्धुरा नपुग्दै कांग्रेसका दुई जिल्ला सभापति कर्ण मल्लतिर खुले

कर्ण मल्ल भन्छन्- डडेल्धुरामा प्रचण्ड कांग्रेसविरुद्ध वास्तविक कांग्रेसको विद्रोह सुरू भयो

कैलाली । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज डडेल्धुरा जाँदै छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा निर्वाचन प्रचार प्रसारको क्रममा गृहजिल्ला जान लागेका हुन् । उनी बुधबार धनगढी बास बसे ।

४ दिने कार्यक्रम लिएर डडेल्धुरा जान लागेका प्रधानमन्त्री जिल्ला नपुग्दै कांग्रेसका दुई पूर्वजिल्ला सभापतिले प्रधानमन्त्री विरुद्धको उम्मेदवारलाई समर्थन गरेका छन् ।

देउवाविरुद्ध मैदानमा रहेका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई यहाँका दुई पूर्वसभापति रामचन्द्र चटौत र शेरबहादुर ढाटले समर्थन गरेका हुन् । उनीहरूले प्रतिनिधिसभामा मल्ललाई र प्रदेशसभामा डा. तारा जोशीलाई समर्थन गरेका छन् ।

प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएका मल्ल र गठबन्धनविरुद्ध उम्मेदवारी दिएका नेकपा एसका जोशीबीच पनि डडेल्धुरामा तालमेल छ । उनीहरू दुवैलाई दुई पूर्वसभापतिले समर्थन जनाएका हुन् ।

कांग्रेसका प्रभावशाी नेताको समर्थनपछि उत्साहित बनेको भन्दै बीपी कांग्रेसका सभापति मल्लले मंसिर ४ लाई आन्दोलनको रूपमा लिएको बताए । मल्लले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसलाई प्रचण्ड कांग्रेसको संज्ञा दिँदै देशमा संस्थागत भ्रष्टाचारको मुहान नै देउवा निवास रहेको आरोपसमेत लगाए । उनले देउवालाई ७ वटा प्रश्न राख्दै ती प्रश्नमाथि छलफल गर्न आफू देउवासँग एउटै मन्चमा बस्न चाहेको तर देउवा भागी हिँडेको खुलाए ।

प्रधानमन्त्री शक्तिको दुरुपयोग गर्दै आज निर्वाचन प्रचार प्रसारमा आइरहेको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर