प्रचण्डका प्रतिस्पर्धी अब्दुस भन्छन्- गोरखाको इतिहासमा म गर्व गर्छु, उहाँ सिध्याउन खोज्नुहुन्छ
प्रचण्डलाई चुनाव हराउन दिए ५ आधार
गोरखा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा कान्छा उम्मेदवार हुन्- अब्दुस मियाँ । २९ वर्षे मियाँ अहिले गोरखा २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । सत्तागठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको प्रतिस्पर्धामा मैदानमा भएकाले पनि अब्दुस देशभरको चासो र चर्चामा रहेका उम्मेदवारमध्येका एक हुन् । कुनै समय वैकल्पिक राजनीतिको एजेण्डा लिएर विवेकशील साझामा रहेका मियाँ यो पटक प्रचण्डलाई पराजित गर्दै संसद यात्राको दाउमा छन् । प्रस्तुत छ मियाँसँगको चुनावकेन्द्रित कुराकानी नेपाल टकमा :-
– चुनावी माहोल कस्तो चलिरहेको छ ? प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
राम्रो छ । गोरखामा आम मान्छेले हेर्दा पनि एकजना गोरखामै जन्मे, हुर्केको स्थानीय उम्मेदवार छु भने अर्को उम्मेदवार विभिन्न ठाउँहरूबाट भागेर आएको जस्तो उम्मेदवार भएका कारण राम्रो माहोल छ । मेरो उम्मेदवारीले जनता उत्साहित छन् । मलाई भेट्न ३ सय बढी फोनहरू गरिरहनुभएको छ । यो त राम्रो र स्वीकारिएको माहोल हो जस्तो लाग्छ मलाई ।
– तपाईंको एजेन्डा के छ ?
युवाका विषयलाई म संसदसम्म पुर्याउन चाहन्छु । मैले राष्ट्रियस्तरमा पार्टटाइम जबको परिकल्पना गरेको छु । कलेज, विश्वविद्यालय पढ्ने विद्यार्थीले पढ्दै, कमाउँदै गर्न सक्ने गरी पार्टटाइम जबको सेवा दिन चाहन्छु । मेरो सधैँको प्राथमिकता भनेको कल्याणकारी राज्य स्थापना गराउनु हो । कल्याणकारी राज्यमा शिक्षा, स्वास्थ्य, यातायात, सामाजिक सुरक्षाजस्ता आधारभूत सेवाका लागि सरकारले लगानी गर्ने र अरू क्षेत्रमा निजी क्षेत्रले काम गर्छ । गोरखाको बारेमा रहेर कुरा गर्दा देशको उत्कृष्ट १० मध्ये एक-एक वटा कलेज, अस्पताल, उद्योग स्थापना गर्न चाहन्छु । म केही नयाँ कुरा नेपालमा प्रयोग गराउन चाहन्छु- जस्तै: विश्वव्यापी सामान्य आम्दानी (युनिभर्सल बेसिक इनकम) । यो भनेको गरिबीको रेखामुनि रहेका केही प्रतिशत (अहिलेलाई मानौं १० प्रतिशत) नागरिकलाई मासिक ५ हजारका दरले दिने हो । ५ वर्षसम्म मासिक ५ हजार ती परिवारलाई दिएपछि उनीहरूको अवस्था त मिडिल इनकम लेभलमा पुगिहाल्छ नि । गरिबी उन्मुलनका लागि आजसम्म कति योजना चलाइए ? काम हुन सक्यो त ? गरीबी उन्मुलनका लागि संसारका केहि देशले अपनाएर पास भइसकेको प्रक्रिया हो । गरीबी उन्मुलन गर्ने नेपालको लक्ष्य हो भने युबिआइको विकल्प छैन । यसरी नयाँ कुरा संसदमा म उठाउँछु ।
– माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डविरुद्ध मैदानमा हुनुहुन्छ । उहाँ एउटा हेभीवेट नेतामाथि तपाईँले जित्ने आधार के छन् ?
मैले नजित्नुपर्ने आधार र कारण दुवै छैन । एक त म स्थानीय उम्मेदवार हुँ, जुन मैले अघि पनि भनिसकेँ । यहाँ मेरो सञ्जाल र गोरखासँगको सम्बन्ध, मलाई गरिएको स्वीकार एकदमै उच्च छ ।
दोस्रो, ऐतिहासिकरूपमा एकजना पात्र जो चाहिँ गोरखाको इतिहासप्रति गौरव गर्छ र अर्को उम्मेदवार जो गोरखाको गौरवलाई सिध्याउन पटकपटक प्रयास गरेको छ । वैचारिक रूपमा दुई ठ्याक्कै विपरीत ध्रुव भएको र मैले चाहिँ गोरखाको पक्षमा लडेकाले मैले जित्ने आधार छ ।
तेस्रो, देशमै युवा नेतृत्व स्थापित हुनुपर्छ भन्ने माहोल छ । पटकपटक परीक्षण भइसकेका नेताभन्दा युवालाई राजनीतिमा देख्न चाहन्छौं भन्ने जुन भाष्य स्थापित हुन लागेको छ, युथ लिडरसिपको ट्रेन्ड स्थापित हुन लागेको छ । यही ट्रेन्ड अनुसार पनि म मेरो प्रतिस्पर्धी (प्रचण्ड) भन्दा आधाभन्दा कान्छो भएकाले युवाहरूको उम्मेदवार म भएँ ।
चौथो चाहिँ गोरखाको प्रतिनिधि को ? भन्दा अब्दुस कि प्रचण्ड भनेर यहाँका जनताले बुझेका छन् । अब्दुस मियाँ चाहिँ अबको २५ वर्ष गोरखाको प्रतिनिधि बन्छु भन्ने पात्र हो । अर्कोतर्फ प्रचण्ड चाहिँ यो पटकलाई म गोरखा आइदिएँ भनेजस्तै त छ । गोरखाको वर्तमान र भविष्य पनि अब्दुस मियाँ नै भएकाले म मेरा प्रतिस्पर्धीभन्दा बलियो नै छु ।
अंकगणितको कुरा गर्ने हो भने पनि मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ, उहाँको पार्टी माओवादीको मत २२ हजार करिब छ । तर, माओवादीविपरीत मत चाहिँ ४३ हजार मत छ । यसकारण मेरो लक्ष्य चाहिँ ४३ हजार मत हो । उहाँले जति बल लगाएपनि उहाँको पुँजी भनेको यहाँ २२ हजार मतमात्र हो । अंकगणितको आधारमा पनि म नै बलियो छु । त्यसैले मैले जित्ने आधार छन्, र यिनै आधारले अब गोरखामा इतिहास रचिन्छ भन्नेमा ढुक्क छु ।
– माओवादीको मतमा कांग्रेस, नेकपा एस, नेपाल समाजवादीलगायतको मत थपिँदा एमालेलाई भारी पर्छ नि त हैन ?
नेपालमा गठबन्धनको राजनीति केही प्रतिनिधि नेतालेमात्रै गरेका छन् । ती नेताले गरेको राजनीति आम जनताको तहमा मान्यता पाएको मैले महसुस गरिनँ । नेपाली कांग्रेसका सदस्य र मतदाताले रुखमा भोट हाल्न पाइएन भन्ने दु:ख गठबन्धन छ भन्ने खुसीभन्दा ज्यादा छ । आम कांग्रेसी मतदाताले गठबन्धन स्वीकारेका छैनन् । विशेषत अझै जहाँ नेपाली कांग्रेसका मतदाताले सबैभन्दा बढी घृणा गर्ने उम्मेदवार उठेका छन्, त्यहाँ त कांग्रेसका मतदाताले प्रचण्डलाई मत हाल्छन् त ? त्यसैले गठबन्धनका शीर्ष नेताले जति नै जोडबल गरेपनि त्यसको असर १० प्रतिशत भन्दा बढी हुने मैले देख्दिनँ ।
– काठमाडौं ६ मा स्वतन्त्र उठ्ने तयारी थियो । एकाएक कसरी गोरखा आउन तयार हुनुभयो ?
बीचमा म कुनै पनि दलमा संलग्न थिइनँ, विवेकशील पार्टीपछि । निर्वाचन नजिकिँदा युवाहरूले मुख्य सहरमै चुनाव लड्नुपर्छ भन्ने भाष्य एकहदसम्म मैले स्वीकार गरिसकेको थिएँ । मलाई लागिसकेको थियो कि म २९ वर्षे उम्मेदवार उठेँ भने काठमाडौंले स्विकार गरेर जिताउन सक्छ । मैले त्यसबारे निर्णय लिएर साथीभाइसँग सल्लाह पनि लिइसकेको थिएँ । तर, म पार्टी राजनीतिमै विश्वास गर्ने मान्छे भएको र आगामी २५ वर्ष स्वतन्त्रको राजनीति गरेर नसकिने भएकाले पार्टी चाहिन्छ भनेर निर्णय लिएँ, नेकपा एमाले प्रवेश गरेँ । त्यसपछि त मेरोमात्रै निर्णयको कुरा भएन पार्टीको निर्णय पनि मैले मान्नुपर्यो ।
त्यसलगत्तै प्रचण्ड गोरखा २ बाट लड्ने भएपछि मलाई पार्टीका नेताले फोन गरेर प्रचण्डसँग चुनाव लड्न प्रस्ताव गर्नुभयो । मैले सहर्ष त्यसलाई स्वीकारेँ, पार्टीले आफ्नो प्रधान शत्रुसँग चुनाव लड्न आफ्ना पूरा संगठनबाट सबैभन्दा कान्छो उम्मेदवार छानेको थियो । जुन राजनीति प्रचण्डले गर्नुभयो, त्यो गलत हो भन्ने कोणमा मेरो वैचारिक राजनीति अडिएकाले यो लडाइँ लड्नुपर्छ भन्ने मलाई लाग्यो । त्यसबाहेक जुन ठाउँमा म जन्मेँ, हुर्केँ त्यहीँ ठाउँमा लड्न पाउनु सौभाग्य पनि थियो । भाग्यले जुराएको हुनुपर्छ म यहाँबाट चुनाव लड्नु अलिकति मेरो चाहना, अलिकति पार्टी निर्णयको मिश्रण नै हो ।
– एमालेसँग कहिलेबाट सम्पर्क भएको थियो ? कस्तो अफरपछि गोरखामा लड्न तयार हुनुभयो ?
म निशर्त एमालेमा प्रवेश गरेको हुँ । एमाले प्रवेश गर्नुअघि मैले कुनै औपचारिक/अनौपचारिक कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीदेखि कोही पदाधिकारीसँग पनि भेट भएको थिएन । खासमा सर्वेन्द्र खनाल पार्टी प्रवेश गर्ने कार्यक्रम थियो र उहाँले मलाई पनि ‘हेर्न जाऊँ’ भनेर लैजानुभएको थियो । म त्यही कार्यक्रममा गएपछि एमाले प्रवेश गर्छु भन्ने सोचेको हुँ । सुरुबाटै म सेन्टर लेफ्ट पोलिटिक्स गर्छु भन्ने थियो, भविष्यमा कुनै एउटा पार्टी प्रवेश गर्छु भन्ने पनि त्यसअघि नै सोचेको थिएँ । राष्ट्रियता, सार्वभौमसत्ता, सीमाका विषयमा एमालेको पोजिसन मेरो पोजिसनसँग मेल खाइरहेको थियो, केबल पार्टी अलग थियो । यो कोहेरेन्सले वैचारिक रूपमा म एमालेसँग नजिक नै थिएँ । म पार्टी प्रवेश गर्दैछु भन्ने कोहीलाई पनि थाहा थिएन । मैले स्वयं पनि त्यही कार्यक्रममा गएर निर्णय गरेको हुँ । त्यसैले म एमाले प्रवेश गर्नुमा केही लेनदेन थिएन ।
– पहिले ओलीको कटु विरोधी एकाएक उही केपी ओलीका काम कसरी राष्ट्रवादी लाग्यो ?
त्यो कुनै पनि व्यक्ति लक्षित थिएन । केपी ओलीमात्रै नभएर कुनै पनि दलका कुनै पनि नेताबारे मात्रैको टिप्पणी होइनन् । मैले पार्टीको कुरा गरेको हुँ, पोलिटिकल स्ट्यान्ड लिने बेला पार्टीका अवस्थाले गर्दा एमालेमा वैचारिक मेल भयो भनेको हुँ । उदाहरणका लागि, नागरिकता विधेयकको बेला एमालेको पोजिसन हेर्नुहोस् । विधेयक रोकियो, म खुसी छु त्यसमा । पात्रको त कुरै छैन, पार्टीको पोजिसनको कुरा हो ।
– एमालेसँग वैचारिकरूपमा पहिला नै मेल थियो भन्नुहुन्छ, वैकल्पिक राजनीतिको मुद्दा उठाउँदा त एमालेलगायत ठूला दल प्रधान शत्रुजस्ता थिए नि फेरि ?
गुण र दोषका आधारमा मैले जो पनि सार्वजनिक नेतृत्वमा थिए/छन्, उनीहरूका विषयमा, पक्ष विपक्षमा मेरो टिप्पणी हिजो पनि थियो र भोलि पनि रहनेछ । त्यही त हो राजनीति भनेको, लाइभ पोलिटिक्स भनेको के हो त ? त्यसैले जस्तो समयमा जस्तो राजनीतिक घटनाक्रम बढिरहेको छ, जो-जो त्यसको जिम्मेवार छन्, उनीहरूका विषयमा त धारणा बनाउन पाइयो नि । यही त हो स्वतन्त्रता ।
– फेरी अघिकैमा थपेँ, वैकल्पिक राजनीतिको एजेण्डा मूलधारका पार्टीविपरीत त थियो नि होइन ? अहिले त्यही पुराना भनिएकामध्येकै पार्टीमा हुनुहुन्छ ?
वैकल्पिक राजनीति एक हिसाबले प्युरिस्ट अप्रोच थियो र अहिलेको प्राक्टिकल अप्रोच हो । कति कुरा त राजनीतिमा मैले सिकेर आफूलाई बढाउने हो । हिजो जसरी मैले भ्रष्टाचार, कुशासनको विरोध गर्थेँ, त्यसैको निरन्तरता नै हो आजको मेरो राजनीति पनि ।
– भन्न खोजेको पहिलाको राजनीति यथार्थभन्दा परको थियो ?
होइन, हिजोको आन्दोलन पनि गलत त कहाँ थियो र ?
– प्रचण्डले यसअघिका चुनावभन्दा गोरखामा रिल्याक्स फिल गरिरहेको भन्दै जित्नेमा कन्फिडेन्स छु भनिरहनुभएको छ । तपाईंको चाहिँ कन्फिडेन्स कस्तो छ ?
अघि नै पनि मैले किन चुनाव जित्छु भन्नेबारे व्याख्या गरिसकेँ । त्यसले नै मेरो कन्फिडेन्स देखाउँछ । उहाँको जित्ने आधार त के छ र ? ‘गठबन्धन छ, जित्छु’ भन्नु बाहेक उहाँको जित्ने आधार के हो ? उहाँ न यहाँ जन्मनु भएको न हुर्कनुभएको हो । न उहाँले यहाँ भोट हाल्नुहुन्छ, आफैँलाई भोट हाल्न पाउनुहुन्न । यति हुँदा उहाँले चुनाव जित्ने केही पनि त आधार छैन ।
माओवादीको मत २२ हजार करिब छ । तर, माओवादीविपरीत मत चाहिँ ४३ हजार मत छ । यसकारण मेरो लक्ष्य चाहिँ ४३ हजार मत हो । उहाँले जति बल लगाएपनि उहाँको पुँजी भनेको यहाँ २२ हजार मतमात्र हो । अंकगणितको आधारमा पनि म नै बलियो छु । त्यसैले मैले जित्ने आधार छन्, र यिनै आधारले अब गोरखामा इतिहास रचिन्छ भन्नेमा ढुक्क छु ।
– बाबुराम भट्टराईले त प्रचण्डलाई नै उपयुक्त पात्र मानेर ठाउँ खाली गर्नुभएको होला नि ?
बाबुराम भट्टराईले सक्रिय राजनीतिबाट बिदा लिनुभयो, म उहाँको त्यो निर्णयलाई एकदमै सम्मान गर्छु । युवा अब सक्रिय राजनीतिमा आउनुपर्छ भनेर बोल्दै आउनुभएको छ । तर, उहाँ गठबन्धनमा भएको हुँदा राजनीतिकरूपमा अप्ठेरो पनि उहाँलाई परेको छ । यसो प्रचण्डका लागि मत मागेकोजस्तो गर्नुपरेको छ । खासमा अब प्रचण्डलगायतका नेतालाई रिटायरमेन्ट लिनुपर्छ भनेर बाबुराम भट्टराईले व्यवहारत देखाउनुभएको हो । मुखले भन्न नसकेपनि उदाहरण दिएरै यो लहरको नेतृत्व बाबुराम भट्टराईले गर्नुभएको छ ।
– वैकल्पिक राजनीतिको मुद्दा उठाउने रवीन्द्र मिश्र, तपाईंलगायतका नेता पुरानै मुलधारका पार्टीमा फर्कनुपर्ने नियति किन आइलाग्यो ?
नयाँ दल खोल्नुमात्र वैकल्पिक राजनीति थिएन । हामी राजनीतिक संस्कार विकास गर्ने कुरा गरेका थियौं । जुन विषय राजनीतिक मुलधारमा ल्याउन खोजेका थियौं, ती प्रयास नै वैकल्पिक राजनीति थियो । नयाँ प्लेटफर्म बनाएर इमान्दारीका साथ काम गरौं भनेर लागेका थियौं, तर त्यो वैचारिक ध्रुवीकरणले असफल भयो । तर, राजनीतिक संस्कार विकासको काम त जहाँ भएपनि त गर्न सकिहालिन्छ नि ।
– ‘नो, नट अगेन’ अभियान पनि चलिरहेको छ नि अहिले, यसप्रति तपाईंको धारणा कस्तो छ ?
यो एउटा जनताको आवाज हो । परिक्षित नेताहरूलाई फेरि नचुनौं भनेर उठेको जनताको आवाज हो । नयाँ र युवा नेतृत्व आवश्यक छ भनेर भन्नुको नयाँ उपाय नो, नट अगेन हो ।
– भनेपछि अब तपाईंकै पार्टी अध्यक्ष केपी ओलीका लागि पनि अब नो, नट अगेनको बेला हो ?
राजनीति एकै कुरालेमात्र निर्धारित त हुँदैन नि । राजनीतिलाई उमेरले पनि निर्धारण गर्छ तर उमेरले मात्रै पनि राजनीतिलाई निर्धारित गर्दैन । मलाई प्रचण्डजीको उमेरसँग मात्र कहाँ समस्या हो र ? मलाई त उहाँको राजनीतिक सिद्धान्तप्रति नै विमत्ति हो । उहाँले जे लाई क्रान्ति भन्नुहुन्छ, उहाँको क्रान्तिको परिभाषासँग नै मेरो विमति हो । उहाँका जे योजना छन्, तीप्रति नै मेरो असहमति हो ।