रुपन्देही मर्चवारवासी भन्छन्,- धेरै हण्डर खाइसकेका छौँ, झूटा आश्वासन दिनेलाई मत दिन्नौँ – Nepal Press
सीमाका मतदाताको आवाज

रुपन्देही मर्चवारवासी भन्छन्,- धेरै हण्डर खाइसकेका छौँ, झूटा आश्वासन दिनेलाई मत दिन्नौँ

रुपन्देही । रुपन्देहीको दक्षिणी क्षेत्रका मतदाता चुनावी समयमा उम्मेदवारहरुले दिने आश्वासनले थाकिसकेका छन् । चुनावको बेला आएर विकासका योजना सुनाउने उम्मेदवारहरु जितेपछि फर्केर आउने कष्ट समेत गर्दैनन् । पराजित हुनेहरूको पनि मुख हेर्न साइत नै कुर्नुपर्ने अवस्था छ ।

भौतिक पूर्वाधार मात्रै होइन आधारभूत रूपमा रहेका स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको सेवा लिनका लागि पनि स्थानीयले धेरै सास्ती पाउनुपरेको छ । तराईको सुगम जिल्ला, भारतसँग सीमा जोडिएको, बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएको यो क्षेत्रमा उपचारका लागि पनि जिल्ला सदरमुकाम जानुपर्ने स्थानीयको गुनासो छ ।

९५ प्रतिशत कृषिमा आधारित भएकाहरू मल र बिउको लागि नेपाली प्रहरीको कुटाई खाएर भारतबाट ल्याउनुपर्ने बाध्यता सुनाउँछन् । तर यहाँ अहिलेसम्म जनतासँग घुलमिल हुनै नखोज्ने नेताहरूको प्रभाव भएकाले सचेत हुनुपर्ने आवाज उठेको छ ।

जिल्ला सदरमुकाम भैरहवा र २२ किलोमिटर मात्रै दक्षिण पश्चिममा रहेको मर्चवार क्षेत्रको विकासलाई हेर्ने हो भने असन्तुलित र असमान देखिन्छ । समुन्नत मानिएको रुपन्देहीमा रहेर पनि मर्चवारमा सडक, बिजुली, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, सिँचाइजस्ता विकासका पूर्वाधारहरू छैनन् तर यस क्षेत्रबाट निर्वाचित हुने सांसदले प्रभावकारी काम गरेको स्थानीयको मात्रै गुनासो छैन बाहिरबाट सो क्षेत्रमा जानेहरूले पनि बताउन थालेका छन् ।

त्यस क्षेत्रका नेताहरूले मर्चवार राज्यबाट विकासमा सधैँ पछाडि पारिएको आरोप लगाउँदै आए पनि स्थानीयहरू भने यहाँबाट जितेका नेताहरूको पनि कमजोरी रहेको बताउन थालेका छन् । ‘यहाँ धेरै नेताहरू चुनावका बेला मात्रै आउने गर्छन्, चुनावपछि फर्कने, स्थानीयका समस्याहरू सुन्ने बानी नै छैन,’ स्थानीय विपिन यादवले गुनासो गरे ।

‘भारतसँग सीमा जोडिएको, कृषिमा निर्भर रहेको र अधिकांश तराई मूलका नागरिकको बसाई रहेकाले पनि यहाँ पूर्वाधार विकाससँगै अन्य धेरै काम हुन सकेको छैन । तर नेताहरू आफ्नो स्वार्थमा मात्रै ध्यान दिन्छन्’, यादवले भने ।

कोटहीमाई गाउँपालिकाका वडा नं ६ सुधा मिश्राले चुनावको बेला मात्र गाउँ आउनेलाई यस पटक भोट नदिने बताइन् ।

‘अब हामीले धेरै कुरा बुझ्न थालेका छौँ, चुनावको बेला गाउँ आउनेलाई अब जनताले पत्ताउने छैनन्, हामीले पाएका दुःखमा साथ नदिनेलाई किन माया गर्ने ? यहाँको बाटो, छैन, किसानलाई कुनै सुविधा छैन, उपचारका लागि भैरहवा जानुपर्छ, बच्चा पढाउन बाहिरै पठाउनुपर्छ, यस्तो नेतालाई गाली गर्न पनि गाउँमा नबस्नेलाई नपाइने रहेछ’, उनले भनिन् ।

भारतीय सीमासँग जोडिएको मर्चवार सुगम जिल्लाको दुर्गम भेगका रूपमा परिचित छ । कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाको क्षेत्र नै मर्चवार हो । यो त्यही ठाउँ हो, जहाँ हरेक निर्वाचनमा मतदाताले मत फेर्छन् र मतको सदुपयोग नभएकोमा सधैँ पछुतो पनि मान्छन् । गरिबी, अशिक्षा र बेरोजगारी समस्यामा रहेका नागरिकसँग खेल्नु नेताहरूको पुरानै बानी हो । भनिन्छ, ‘मर्चवारमा जसले पैसाको बिटो फाल्छ, उसैले चुनाव जित्छ ।’ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसँगै मर्चवारमा यस्तै चुनावी चर्चा बढ्न थालेको छ ।

कोटहीमाई गाउँपालिका अखिलेश मौर्यले नेताहरूले मतदातालाई निरन्तर ढाँट्दै आएको बताए । ‘मजस्ता युवा बेरोजगार भएर बस्नुपरेको छ, अहिले त यो सानो चिया पसल सञ्चालन गरेको छु, यसपालि गतिलो उम्मेदवार नभए त भोट दिन्न,’ उनले भने ।

२ छोरा र एक छोरीका बुबा बनिसकेका मौर्य कक्षा १० पढ्दापढ्दै आर्थिक अभावका कारण पढाइ छाडेको बताउँछन् । आर्थिक अभावका कारण स्वदेशै केही गर्ने आँटका साथ गाउँमै काम सुरु गरेको उनले बताए ।

‘हाम्रो दुःखका बारेमा नेतालाई ५ वर्षसम्म कुनै वास्ता हुँदैन । गरिब जनतालाई हेर्ने नेता कोही भएनन्, बूढा र यसअघि जितिसकेका नेतालाई मत दिने मन छैन, मर्चवारको विकास गर्ने, किसान, मजदुरको समस्या बुझ्ने नेता हामीलाई चाहिएको छ’ उनले भने ।

मर्चवार रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ । यहाँका नागरिकले यो पटक मुद्दा हेरेर भोट दिने बताएका छन् । मझगावाका ३२ वर्षीय धर्मेश राजभरले युवाको सपना देख्ने र त्यसलाई पूरा गर्ने नेताको खोजीमा रहेको बताए ।

‘म एक बेरोजगार युवा हुँ, २०७४ सालको निर्वाचनमा पनि हाम्रा लागि रोजगारी दिन्छौँ भनेर नेताहरू आएका थिए,’ उनले भने, ‘बेरोजगार भएपछि बाध्य भएर म विदेश गएँ ।’

धर्मेश ०७४ को निर्वाचन लगत्तै युएई गएका थिए । उनले विदेशमा ४ वर्ष बसेर फर्किए पनि फेरि उतै जानुपर्ने बाध्यता रहेको सुनाए ।

‘नेताहरूले आफ्नालाई मात्रै हेरे,’ उनले गुनासो पोखे, ‘कम्तीमा पनि मजस्ता युवाहरूलाई मर्चवारमै रोक्ने नेता चाहियो ।’ मर्चवारमा कृषि भूमि भए पनि सिँचाइको अभावका कारण किसान प्रताडित छन् ।

सरकारको नहरमा पानी नै नआउने समस्याले सताएको उनले बताए। ‘न किसानले रोपाइँ गर्ने बेला पानी पाउँछन्, न त गतिलोसँग बिजुली नै आउँछ,’ उनले भने । ३२ वर्षका उनले खेती गर्न पनि आफ्नो जग्गा धेरै नहुँदा समस्या भएको बताए ।

६८ वर्षका रामकिशोर हरिजनको भनाइ पनि उस्तै छ । नेताहरूलाई यहाँका समस्याबारे गम्भीर नबने भोट दिने मन नभएको उनले बताए । ‘मर्चवारी नागरिकले अझै भरोसायोग्य नेता भने भेटेका छैनन् । मर्चवारमा अझै पनि सडक गतिलो बन्न सकेको छैन । भरपर्दो शिक्षा उपलब्ध हुन सकेको छैन । स्वास्थ्य चौकी, बिजुली, खानेपानीको समस्या उस्तै छ । कृषि भूमि रहेको यहाँ किसानले समयमा मल, बिउ पाउँदैनन् । ’ उनले भने ।

यो क्षेत्र मधेस केन्द्रीत दलहरूको बाहुल्य क्षेत्र हो । २०४८ सालयताको निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले जित निकाल्न सकेकै छैनन् यहाँ । कांग्रेसले पनि २०७४ सालमा मात्रै जितेको हो । अहिले बिस्तारै कांग्रेस एमालेले संगठन बलियो बनाउँदै लगेका छन् ।

२०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता मर्चवार भेग पर्ने तत्कालीन रुपन्देही क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । २०५१ सालमा राप्रपाबाट सर्वेन्द्रनाथ शुक्ला विजयी भए । २०५६ सालको चुनावमा सद्भावनाले दोस्रो पटक चुनाव जित्दा यज्ञजित शाह सांसद बने । २०६४ सालको संविधानसभाको चुनावमा तत्कालीन क्षेत्र नम्बर ६ बाट मधेशी जनाधिकार फोरमका ओमप्रकाश यादव र २०७० को अर्को संविधानसभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भए ।

२०७४ सालमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमोद यादव विजयी भए । दुवै प्रदेशसभा पनि कांग्रेसले नै हात पार्‍यो । त्यसैले मर्चवारी जनताले विकासमा परिवर्तन खोजेको देखिन्छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत जोड्दा यो क्षेत्रमा शुक्लाको पार्टी अगाडि देखिन्छ ।

लोसपाको १६,२२६, कांग्रेसको १५,६२७, जनमत पार्टीको ७,७३४, एमालेको ७,६०५ मत वडाध्यक्षहरूले पाएका छन् । यो तथ्यांकले पनि बिगतमा पछाडि रहेका ठूला पार्टीहरु प्रतिस्पर्धामा आएका छन् । अहिले यहाँबाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला, जसपा,एमाले र राप्रपाको तालमेलबाट ओमप्रकाश गुल्जारी, कांग्रेस,माओवादी, नेकपा एस, जनमोर्चाको गठबन्धनबाट प्रमोद यादव र जनमत पार्टीबाट भोपेन्द्र यादव मैदानमा छन् । यी बाहेक स्वतन्त्र रूपमा उम्मेदवार बनेकाहरू पनि धेरै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर