इटहरीका वडा अध्यक्ष र हेडमास्टरको कार्यक्रमः बुहारी पढाउने-साक्षरता बढाउने
इटहरी । केही महिना अगाडि सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो । कुनै गाउँको जस्तो देखिने एक घरको भित्तामा लेखिएका ठूला अक्षरको सन्देश बोकेको तस्वीरले सामाजिक सञ्चालमा धेरै फन्को मार्यो । ‘बुहारी समूह’ को नाममा दिइएको सन्देशमा लेखिएको थियो, ‘मलाई दुलाह होइन किताब देउ ।’
इटहरी उपमहानगरपालिका- ३ को सरस्वती माविका हेडमास्टर लेखनाथ भट्टराईले भने यो योजना यो सन्देश भाइरल हुनुभन्दा धेरै अगाडि नै ल्याएका थिए ।
इटहरी- ३ बौकाझोडामा रहेर तत्कालीन कक्षा १० सम्म सञ्चालन भएको विद्यालयलाई पढाइ छोडेका बुहारीहरुको अध्ययन केन्द्र बनाउने तथा कक्षा ११ र १२ मा स्तरोन्नति गर्न र स्थानीय साक्षरता बढाउन भट्टराईले यो अवधारणा ल्याएका थिए ।
‘वेलावेला विद्यालयले अभिभावकको कार्यक्रमहरु गर्दा हस्ताक्षरको ठाउँमा हस्ताक्षर गर्न भन्दा ल्याप्चे लगाउन खोज्ने महिलाहरु धेरै भेटियो’, बुहारी पढाउने अवधारणा आउनुको कारण खोतल्दै भट्टराईले भने, ‘त्यो कुराले बुहारी पढाएमा यस्तो अवस्था आउँदैन भन्ने लाग्यो । अनि हामी यो कार्यक्रममा अगाडि बढ्यौं । छोरी त पढैकै हुन् । हामीले बुहारी पढाउने विशेष योजनामा काम गर्यौं ।’
दुई दशकदेखि विद्यालयको हेडमास्टर भएका भट्टराईको अवधारणालाई गत स्थानीय चुनाव जितेर आएका इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीले समेत सहयोग गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्षदेखि वडाका गिनेचुनेकाहरुसम्मले सहयोग गरे । कक्षा ११ र १२ को पठनपाठन गर्ने र त्यहाँ बुहारीलाई प्राथमिकतामा राख्ने कुरामा वडाले आर्थिक सहायताको कार्यक्रम ल्यायो । २५ प्रतिशत पढाइ खर्च वडाले नै दिने निर्णय गरेको हेडमास्टर भट्टराईले सुनाए । उनले भने, ‘वडामा आफ्नो छात्रवृत्तिको योग्यता खुलाउँदै निवेदन दिएपछि पाउने व्यवस्था छ ।’
वर्षको सबै खर्च जोड्दा १३ हजार हाराहारी रकम शुल्क लाग्नेमा त्यही शुल्कको २५ प्रतिशत बुहारीको पढाइको रकम वडाले दिने निर्णय भएको वडा अध्यक्ष सुवेदीले बताए ।
स्थानीय चुनाव अगाडि डेढ दशक इटहरीकै कविर स्कुलमा शिक्षण गरेका अध्यक्ष सुवेदीले भने, ‘इटहरीका अन्य वडाभन्दा यो वडाको शिक्षाको अवस्था पछि परेकाले यस्तो व्यवस्था गरिएको हो । सरस्वती विद्यालयमा मात्रै नभएर अन्य बाल कक्षादेखि विभिन्न विद्यालयहरुमा पनि शिक्षा सहयोगका कार्यक्रमहरु छन् ।’
बुहारी पढाउने साक्षरता बढाउने लक्ष्य भए पनि सजिलो भने नभएको हेडमास्टर भट्टराईले बताए । ‘हामीले घरघरमा गएर पढ्न उमेरले छेक्दैन पढ्नुपर्छ भन्दा धेरैले त कतै कमिसन र नाफा खान पो यस्तो गरेको हो कि भनेर मान्नुभएन’, हेडमास्टर भट्टराई भन्छन्, ‘कतिपयलाई त महिनौं र वर्षौं लगाएर सम्झाउँदामात्रै काम भएको छ ।’
हेडमास्टर भट्टराईले आठ वर्ष पढ्न घचघच्याएपछि विद्यालय जोडिएकी एक सदस्य हुन् सुकमाया तामाङ । ४५ वर्षकी तामाङकी एक्ली छोरी इटहरीमा स्नातक दोस्रो वर्षमा पढ्छिन् । सुकमाया भने अहिले कक्षा ८ मा भर्ना भएकी छिन् । खोटाङको सुर्केमा पढेको अधुरो शिक्षा पूरा गर्न उनी अहिले कस्सिएकी छन् ।
तर, उनी यही गर्न केही वर्ष अगाडिसम्म आनाकानी गर्ने गर्थिन् । ‘सरले मलाई आठ वर्ष अगाडिदेखि पढ्न भन्नुभएको थियो’, सरस्वती स्कुलको चमेनागृह सञ्चालक समेत रहेकी सुकमाया भन्छिन्, ‘तर मैले एक पनि राम्रोसँग नपढेको भन्दै टारिरहे । पछि छोरीले पनि कस्तो कस्तोले त पढ्यो । तपाईं नि पढ्नु भनेपछि आँट आएर पढ्न सुरु गरें ।’
सुकमायाले आफूले मिलाएर बोल्न नजान्ने भएकाले पढेपछि राम्रोसँग बोल्न जान्ने आश गरेको सुनाइन् । भनिन्, ‘पढेपछि बोल्न त जानिँदोरहेछ ।’
आठ वर्ष अगाडि मोरङको गोविन्दपुरबाट इटहरी विवाह गरेर आएकी २७ वर्षकी रमा मगर पनि अहिले कक्षा १० मा भर्ना भएकी छन् । कक्षा ३ मा पढ्ने एक छोरा र अर्को एक काखे बालककी आमा रमालाई अहिले पढ्न जाँगर चलेको छ ।
विद्यालयका हेडमास्टर कक्षको भित्तामा सन्त मनुको वाणी ठूलो अक्षरमा लेखिएको छ । जसमा भनिएको छ, ‘जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता प्रशन्न हुन्छन् ।’ नारीको अध्ययनको चाँजोपाँजो गर्ने कार्यक्रम विद्यालयले ल्याएपछि देवता प्रशन्न भए भएनन् त्यसको देखिने कुनै उदाहरण छैनन् । तर, स्वयं नारीहरु भने प्रशन्न भएका छन् । जसका उदाहरण हुन सुकमाया तामाङ र रमा मगर ।
सुकमाया र रमा त दुई उदाहरणमात्रै हुन् । सरस्वतीमा गत भदौ १ गतेबाट सुरु भएको कक्षा ११ मा पढ्ने ८८ जनामा धेरै यस्ता अनुहारहरु छन् । यस्तै कक्षा १० सम्मका ६०० विद्यार्थीमा पनि यस्ता अनुहारहरु छन् । आफ्नो नाम राम्रोसँग लेख्न सक्ने, चेक बनाउन वा भौचर भर्न सक्ने, मोबाइल चलाउन सक्नेदेखि साक्षर बनाउने लक्ष्यमा बुहारी पढाउने कार्यक्रमले धेरै प्रभावकारी काम गरेको हेडमास्टर भट्टराईको तर्क छ ।
अंग्रेजी, नेपाली र सामाजिक जस्ता अनिवार्य विषयका पुस्तकहरु कक्षा ११ लाई निःशुल्क दिने प्याकेज पनि यही कार्यक्रमै जोडिएको उनले बताए ।
अहिले गाउँमा बुहारीहरुले पढ्ने क्रमले राम्रो लय समातेको उनी बताउँछन् । ‘यो सजिलो काम त होइन रहेछ’, २०२६ सालमा स्थापना भएर हालसालै स्वर्ण महोत्सव मनाएको विद्यालयका हेडमास्टर भट्टराई भन्छन्, ‘असम्भव पनि छैन रहेछ ।’