मोरङ ३ को चुनाव नसर्ने, उम्मेदवार निधन भएको ठाउँमा मनोनयन प्रक्रिया आजैबाट थालिने – Nepal Press

मोरङ ३ को चुनाव नसर्ने, उम्मेदवार निधन भएको ठाउँमा मनोनयन प्रक्रिया आजैबाट थालिने

काठमाडौं । मोरङ ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन नसर्ने भएको छ ।

उम्मेदवारको निधनको औपचारिक जानकारी आएपछि आजबाटै निर्वाचन मनोनयन प्रक्रिया सुरू हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल प्रेसलाई बताए । यहाँ कांग्रेसले अब अर्को व्यक्तिलाई मैदानमा सार्नुपर्नेछ ।

उनले भने, ‘निर्वाचन हुने मितिको सात दिनअघि उम्मेदवारको निधन भएमा निर्वाचन रोकिँदैन । हामीलाई औपचारिक जानकारी आउनासाथ आजैबाट मनोनयन प्रक्रिया सुरू गर्छौँ ।’

प्रदेश १ का प्रदेश निर्वाचन अधिकारी लेवनकाश्यप अधिकारीले नेपाली कांग्रेसका लागि मात्रै मनोनयन दर्ता गर्न छोटो समय राखेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए ।

उनले भने, ‘छोटो समय राखेर कांग्रेसका लागि मनोनयन दर्ता गराउने निर्वाचन कार्यातालिका सार्वजनिक हुनेछ । सोही कार्यतालिकामा उम्मेदवारको मनोनयन दर्ता गराइ तोकिएकै मितिमा निर्वाचन हुनेछ । ’

निधन भएका थापा प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत हुन् । सो क्षेत्रमा एमालेका किशोर राई चुनावी मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर