गोविन्द केसी समर्थक धरानका स्वतन्त्र उम्मेदवार भन्छन्: पार्टीहरुको पापको घडा भरिसक्यो ! – Nepal Press

गोविन्द केसी समर्थक धरानका स्वतन्त्र उम्मेदवार भन्छन्: पार्टीहरुको पापको घडा भरिसक्यो !

धरान । डाक्टर गोविन्द केसीको आठौं अनसन सुरु भएको थियो । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोगको कुरा केसीले उठाएका थिए । उनको पक्षमा प्रदेश १ मा सामाजिक सञ्जालमा समर्थनका आवाजहरु आउन थालेका थिए । सडकमै फाट्टफुट्ट समर्थकहरु आएका थिए । संगठित रुपमा आएका सडक ऐक्यबद्धताहरु मुड हुँदा ओर्लन्थे, मुड नहुँदा मौन हुन्थे ।

तर, एक व्यक्ति थिए जो एक्लै प्रदेश १ का धरान, इटहरी र विराटनगरका सडक-सडकमा गोबिन्द केसीको पक्षमा एक्लै उभिन्थे । उनी बोल्दैन थिए । उनका ब्यानर र चित्रहरु बोल्थे । उनी भाषण गर्दैनथे । उनका आफैंले बनाएका चित्रहरुले बोल्थे ।

अहिले ६० वर्षमा हिँड्दै गरेका उनै व्यक्ति अर्थात् बासु चालिसे सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार छन् । उनी वान म्यान आर्मी हुन् । एक्लै हिँड्छन् । एक्लै पर्चा बोक्छन् र बाँड्दै हिँड्छन् ।

धरान ७ पानमारा बस स्टपनजिकै घर भएका चालिसे मर्निङ वाक गरेरै चुनाव प्रचारमा हिँड्छन् । उनी भन्छन्, ‘मर्निङ वाक झिसमिसेमै हिँड्छु । जहाँ पुग्दा उज्यालो हुन्छ, त्यही प्रचार सुरु गर्छु । हिँडेरै पानमारा, बराह क्षेत्र र कालाबन्चर पुगेको छु ।’

राष्ट्रिय झण्डा ओढेर पुलती चुनाव चिह्नको चित्र लाएर हिँड्ने चालिसेलाई राजनीतिक दलहरुसँग हदैसम्म झोंक चलेको छ । भन्छन्, ‘पार्टीहरुको पापको घडा भरिसक्यो ।’

जसरी पनि सत्तामा हालिमुहाली गर्ने उद्देश्य पार्टीहरुको भएको भन्दै चालिसे भन्छन्, ‘सेना, प्रहरी, अदालत, अख्तियार र आयोग सबै पार्टीकै कब्जामा छन् । जनताको कब्जामा छैनन् ।’

दलहरुले देशको लागि धेरै अपराध गरेको आरोप लगाउँदै चालिसे थप्छन्, ‘त्यसैबाट जोगिन गठबन्धन गरेका हुन् ।’

स्वतन्त्र उम्मेदवारको रुपमा धरानमा मूलतः एमालेबाट निर्वाचित पूर्वमेयर मनोज मेन्याङ्बोको चर्चा छ । सुकुमबासी नेता कुमार कार्कीदेखि पूर्वपाइलट कुलबहादुर लिम्बूसम्मको पनि चर्चा छ । उनीहरुको चुनावी अभियानमा जमात हिँड्छ । तर, चालिसेको जमात छैन । उनले एक्लै चुनावी अभियान चलाइरहेका छन् । उनले आफ्नो चित्रकलाको खुबी चुनावी प्रचारमा लगाएका छन् ।

२०७० सालमा नेपाल बैंकबाट अवकाश पाएका चालिसेलाई राजनीतिक मुद्दामा चासो बढेको पहिलो संविधानसभाको म्याद ६ महिना थप्न लाग्दाबाटै हो । ‘जब म्याद थप्न लागे तब उनीहरुले भत्ता खानमात्रै हो, संविधान बनाउन हैन भनेर मैले भनेको थिएँ । भयो पनि त्यही’, चालिसे भन्छन्, ‘त्यो वेला कर्मचारी भएकाले खुलेर विरोध गर्न सकिएन । भित्रभित्रै चै गरेको हो ।’

अवकाश भएपछि भने आफूलाई खुलेर विरोध गर्ने ऊर्जा मिलेको उनी बताउँछन् । भन्छन्, ‘अवकाश भएपछि मैले खुलेर सडकमै विरोध गर्न थालें । अरु कुरेर बसिन एक्लै विरोध गरें ।’

२०७४ मै चुनावी तयारीमा लाग्न समर्थकहरुले भने पनि आफूले तयारी नगरेको चालिसेले बताए । उनले भने, ‘अस्तिको स्थानीय चुनावमा उठ्न खोजेको थिएँ । तर, पानीको मुद्दा बोक्ने हर्क साम्पाङ उठेकाले उनको मत काटिएला भनेर उठिनँ । स्वतन्त्रहरुको मत काटिएमा फेरि खराब मान्छेहरु नै कुर्सीमा पुग्ने डर थियो ।’

धराने र अरु मिडियामा खासै चर्चामा नआएका चालिसेका केही रोचक चुनावी मुद्दा छन् । उनी एक जिल्ला एक सांसद, दश सदस्यीय मन्त्रिमण्डल र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा छन् । विदेशिएका नेपालीहरुलाई इन्टरनेटबाट मतदानमा सहभागी गराउनुपर्ने उनको मुद्दा छ । राइट टु रिजेक्टदेखि राइट टु रिकलसम्म उनका चुनावी मुद्दाहरु छन् ।

नागरिकता विधेयकको विपक्षका उनी चुनाव जितेमा सांसदले पाउने तलबको आधा लिने र आधा विकासमा लाउने पक्षमा छन् । आफूले व्यङ्ग्यात्मक कार्टुन र प्लेकार्ड बोकेर परिवर्तनको लागि दशकदेखि बोल्दै आएको भन्दै चालिसेले चुनावी मुद्दा २० बुँदामा लेखेका छन् ।

आफ्ना मुद्दाका बारेमा उनी भन्छन्, ‘नचाहिँदो गर्न नसकिने ठूल्ठूला झूटो सपना बाँडेर भोट माग्ने मेरो उद्देश्य होइन । म नेपाललाई नेपाल बनाउन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *