सुर्खेतमा गठबन्धनलाई बढ्याे ‘भोट ट्रान्सफर’ नहुने चिन्ता – Nepal Press
चुनाव-७९

सुर्खेतमा गठबन्धनलाई बढ्याे ‘भोट ट्रान्सफर’ नहुने चिन्ता

सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतका २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा समेत यी दुई राजनीतिक शक्तिबीच मुख्य प्रतिस्पर्धा देखिएको हो ।

सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार छन् । २०७४ को निर्वाचनमा नेकपा माओवादी र नेकपा एमालेको वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका ध्रुवकुमार शाहीसँग झण्डै तीन हजार मतान्तरले पराजित खड्का यसपालि उही माओवादीको आडमा सहज संसद छिर्ने दाउमा छन् ।

गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामअनुसार सुर्खेत क्षेत्र नम्बर १ मा गठबन्धन बलियो देखिन्छ । यहाँ कांग्रेस पहिलो शक्ति देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरुले ३६ हजार ९२८ मत प्राप्त गर्दा दोस्रो बनेको एमालेले ३४ हजार ८४३ मत पाएको छ ।

माओवादीले ५ हजार ७५, राप्रपाले ६६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६३४ मत पाएको छ । यो मत परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार खड्काको पक्षमा ४२ हजार ६३७ मत देखिन्छ । जुन मत एमालेको भन्दा ७ हजार बढी हो ।

गठबन्धनमा गडबड नभए खड्काले स्वतः चुनाव जित्ने देखिन्छ । स्थानीय तहमा लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन बनाएर चुनावमा गएका थिए ।

गठबन्धनले लेकवेशीबाहेक अन्य दुई पालिकामा जित हात पार्न सकेन । गठबन्धनबाट कांग्रेसले प्रमुख जितेको लेकवेशीमा कांगे्रसका भोट ट्रान्सफर नहुँदा माओवादीले उपप्रमुख जित्न सकेन । अन्य पालिकामा पनि माओवादीलाई अपेक्षाकृत कांग्रेसबाट भोट जान सकेन ।

कर्णालीमा गठबन्धनको मुख्य चुनौती नै भोट ट्रान्सफर नहुनु हो । माओवादीका भोट कांग्रेसमा सहजै जाने तर कांग्रेसका भोट माओवादीमा नजाने डर गठबन्धनमा छ । यो तथ्य स्थानीय तहको मत परिणामले बताइसकेको छ ।

यो क्षेत्रका दुई प्रदेशसभातर्फ प्रदेश १ (१) मा नेपाली कांग्रेसका खड्क पोखरेल र १ (२) मा माओवादीका कृष्ण जिसी उम्मेदवार छन् । एमालेले १ (१) मा पूर्वमाओवादीसमेत रहेका ठम्मर विष्ट र १ (२) मा डण्डीप्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । पोखरेललाई माओवादीका कारण चुनाव जित्न सहज छ भने जिसीका लागि कांग्रेस निर्णायक छ ।

गठबन्धनभन्दा कमजोर देखिएको एमालेका विष्ट र शर्मालाई गठबन्धनभित्र खेल्न नसके हार्ने निश्चित छ । स्थानीय तहको निर्वाचनमा चिङ्गाड गाउँपालिकामा कांग्रेसलाई हराउन लागेको भन्दै माओवादीप्रति कांग्रेस सन्तुष्ट नरहेको बताउने गरिएको छ ।

यस्तै सुर्खेत २ मा प्रतिनिधिसभामा कांग्रेसका र प्रदेशतर्फ माओवादी र कांग्रेसका उम्मेदवार छन् । कांग्रेसका हृदयराम थानी प्रतिनिधिसभा उम्मेदवार छन् । प्रदेश २ (१) मा कांग्रेसका कालीप्रसाद शाक्य र २ (२) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार छन् । प्रतिनिधिसभामा एमालेका अमृत बीसी र प्रदेशसभामा यामलाल कँडेल प्रदेश २ (१) र २ (२) मा ताराकेशर गौतम उम्मेदवार छन् ।

प्रतिनिधिसभामा गठबन्धनलाई सघाउने तर, प्रदेशसभामा मित्रवत प्रतिस्पर्धा गर्नै भन्दै समाजवादीले क्षेत्र नम्बर २ का दुइटै प्रदेशसभामा आफ्ना उम्मेदवार उठाएको छ । समाजवादीले २ (१) मा शिवप्रसाद उपाध्याय र २ (२) मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवाललाई उम्मेदवार बनाएको छ ।

दुवै क्षेत्रमा गठबन्धनबाटै बागी उम्मेदवारी परेपछि प्रदेशसभामा रोचक चुनावी भिडन्त हुँदैछ । स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा एमालेले पाएको मत १६ हजार ३८ छ भने कांग्रेसले १५ हजार ४८४ पाएको छ ।

यद्यपि वडाको मतलाई आधार मान्ने हो भने १४ वडामध्ये ५ वडा जितेको कांग्रेससँग १६ हजार १६३ मत छ । १० वटा वडा जितेको एमालेसँग १८ हजार ६१५ मत छ । यस्तै माओवादीसँग ३ हजार ५५८ मत छ ।

यहाँ माओवादी-कांग्रेसको मत जोड्दा १९ हजार ७२१ हुन्छ । वीरेद्रनगर नगरपालिकामा गठबन्धन गरेका माओवादी र कांग्रेसले हार व्यहोर्नुपरेको थियो । तत्कालीन समयमा टिकट वितरणलाई लिएर कांग्रेसभित्र हावी भएको गुटबन्दीले संस्थापन इतर पक्षको असहयोगका कारण कांग्रेसले प्रमुखमा झिनो मतान्तरले पराजित हुनुपरेको थियो । माओवादीले उपप्रमुखमा कांग्रेसले पाएको मतको आधा पनि पाएन ।

गठबन्धन भएकै कारण कांग्रेसलाई सुर्खेतमा चुनाव जित्न सजिलो देखिए पनि माओवादीका उम्मेदवार भने कांग्रेसबाट नै असुरक्षित छन् । प्रतिनिधिसभामा उम्मेदवार बनेका हृदयराम थानी २०७४ को निर्वाचनमा एमालेका नवराज रावतसँग हारेका थिए । सहकारीमन्त्री भइसकेका थानीलाई सहकारीकर्मी रहेका एमालेका नयाँ अनुहार अमृत बीसीले चुनौती दिइरहेका छन् ।

स्थानीय तहको मत परिणामले थानीलाई चुनाव जित्न सहज हुने देखिन्छ । माओवादी र कांग्रेसको मत ४१ हजार ३६६ छ । गठबन्धनलाई चुनाव जित्न सहज हुने अर्को पक्ष कांग्रेसभित्रको सन्तुलन हो । टिकट वितरणमा स्थानीय तहको निर्वाचनमा रुष्ट भएका थानीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएपछि तत्कालका लागि कांग्रेसको आन्तरिक किचलो अन्त्य भएको बताइएको छ ।

यस्तै एमालेका बीसी पनि बलिया उम्मेदवार हुन् । स्थानीय तहमा एमालेका वडाध्यक्षहरुले पाएको मत ३० हजार ४६९ छ । बीसीको मुख्य चुनौती एमालेका सांगठनिक भोट जोगाउनु र गठबन्धनभित्र खेल्नु हो । पश्चिम कांग्रेसमा जिल्ला समन्वय समितिमा माओवादीले दिएको धोका र गठबन्धनभित्र टिकट वितरणलाई लिएर असन्तुष्ट बनेको पक्षको भोट काट्न सके बीसी उदाउनसक्ने सम्भावना छ ।

यस्तै प्रदेशसभा २ (१) मा गठबन्धनबाट कांग्रेसका कालीप्रसाद शाक्य र एमालेका यामलाल कँडेलबीच मुख्य प्रतिस्पर्धा हुनेछ । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा चुनावी भिडन्त गरेका शाक्य र कँडेल ३ दशकपछि पुनः चुनावी मैदानमा देखापरेका छन् । कँडेल २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

शाक्य कांग्रेसका पुराना नेता हुन् । पार्टीभित्र समन्वयकारी भूमिका खेल्दै आएका शाक्य गठबन्धनको बलमा बाजी मार्ने दाउमा छन् । कँडेलले चुनाव जित्ने मुख्य आधार बलियो संगठन र लोकप्रियता भएको बताउँदै आएका छन् । गठबन्धनमा कुनै टसल नभए कँडेलको दोस्रो पटकको प्रदेशसभा यात्रामा ब्रेक लाग्ने निश्चित छ ।

कँडेलको अर्को चुनौती समाजवादीका शिवप्रसाद उपाध्याय हुन् । तत्कालीन एमालेभित्र विद्रोही छवि बनाएका उपाध्यायले कँडेलविरुद्ध दुई पटक बागी लडेर हराइसकेका छन् । एमाले फुटपछि बनेको समाजवादीमा लागेका उपाध्याय तेस्रो पटक कँडेलको चुनौती बनेर देखापरेका छन् ।

यस्तै प्रदेशसभा २ (२) मा यसपालि दुई पूर्वसहकर्मी र गठबन्धनबीच रोचक प्रधिस्पर्धा हुने भएको छ । एमालेमा लामो समय मिलेर काम गरेका पूर्वसहकर्मीहरु एमालेका ताराकेशर गौतम र समाजवादीका मोहनसिंह बडुवाल तथा गठबन्धनबाट माओवादीका विन्दमान विष्टबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । तुलनात्मक रुपमा यो क्षेत्रमा पनि गठबन्धन बलियो हुँदा मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै समाजवादीका बडुवालको उम्मेदवारीले गौतम र विष्ट रेड जोनमा छन् ।

बडुवाललाई भेगीय र लोकप्रिय मत आउने आँकलन गरिएको छ । उनले एमालेको मात्रै होइन गठबन्धनकै मत काट्न सक्ने बताइएको छ । कमजोर संगठन भएको समाजवादीका बडुवालले गठबन्धन र एमालेभित्र खेलेर चुनावी परिणाम आफ्नो पोल्टामा पार्न सक्ने सम्भावना रहेको बताइन्छ ।

प्रदेश २ (२) का तीन पालिकामा गत स्थानीय तहको मत परिणामअनुसार माओवादीले वडामा पाएको मत ८ हजार १०३ छ । कांग्रेसको सबैभन्दा बढी १३ हजार ५४२ छ । यस्तै एमालेसँग ११ हजार ८५४ मत हुँदा समाजवादीसँग जम्मा १ हजार १८४ मत छ । यो आधारमा कांग्रेस-माओवादीबीचमा मात्रै गठबन्धन हुँदा पनि माओवादी नेता विन्दमान विष्ट अगाडि आउने देखिन्छ । यी दुई दलको मत जोड्दा २१ हजार ६४५ हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर