पाल्पा १ : तीन दशकपछि इतिहास फर्काउने कांग्रेसको दाउमा एमाले कति भारी ? – Nepal Press

पाल्पा १ : तीन दशकपछि इतिहास फर्काउने कांग्रेसको दाउमा एमाले कति भारी ?

रुपन्देही । लुम्बिनी प्रदेशमा यसअघिका निर्वाचनलाई आधार बनाउँदा सत्तारुढ गठबन्धन दलभन्दा नेकपा एमालेको सबैभन्दा बलियो आधार क्षेत्र हो पाल्पाको क्षेत्र नम्बर १ । केही महिनाअघि भएको स्थानीय तहको निर्वाचनको मतभार हेर्दा पनि गठबन्धनभन्दा एमाले एक्लैको मत धेरै छ ।

वैशाख ३० को चुनावमा वडाध्यक्षले पाएको मत अनुसार एमाले ६ हजार ४ सय ५ मतले अगाडि छ । यहाँ गठबन्धन दलले वडास्तरम भागबण्डा गरेका थिए । नेपाली कांग्रेसको २७ हजार १ सय ५०, माओवादी केन्द्रको १ हजार १ सय ६४ र जनमोर्चाको ४२ मतभार छ । गठबन्धनको मत जोड्दा २८ हजार ३ सय ५६ र एमालेको ३४ हजार ७ सय ६१ रहेको छ ।

९६ हजार ६३ जना मतदाता रहेको यो निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभा सदस्यका सबै उम्मेदवार नयाँ अनुहार भएकाले आउने चुनावी परिणाम कस्तो हुन्छ भन्ने सबैलाई चासो बढेको छ ।

यस क्षेत्रमा प्रतिनिधिसभाका १० र प्रदेशका १० उम्मेदवार सबै नयाँ अनुहार छन् । मुख्य प्रतिस्पर्धा गठन्धनबाट साझा उम्मेदवार र एमालेबीच देखिन्छ । यसअघि यहाँबाट जितेका पूर्वमन्त्री दलबहादुर रानालाई छाडेर नेकपा एमालेले पूर्वप्रदेश सांसद नारायणप्रसाद आचार्यलाई अघि सारेको छ । गठबन्धनले कांग्रेस जिल्ला सभापति ज्ञानबहादुर गाहालाई उठाएको छ ।

२०४८ बाहेक त्यसपछिका सबै चुनावमा पाल्पा १ एमालेले जितेको छ । यो पटक स्वतन्त्रका विपिन कँडेल, नारायण न्यौपाने, डोलराज तिमिल्सिना, राजु सुनारले चुनौती दिएका छन् भने अन्य राजनीतिक दल मंगोल नेसनल अर्गनाइजेसन थमनबहादुर बुढामगर, राप्रपाबाट ज्ञानबहादुर सिञ्जाली, नेकपा राष्ट्रिय जनमुक्ति पार्टीका उजिरसिंह दर्लामी, जनता समाजवादी पार्टीका मेयरमान राना पनि मैदानमै छन् ।

स्थानीय तहको निर्वाचनमा पाल्पा १ मा रहेका ३७ वटा वडामध्ये २४ वटा वडामा एमाले र १३ वटा वडामा कांग्रेसका उम्मेदवाररले जितेका छन् । यसैको बलमा एमालेले आफ्नो पकड बलियो रहेको दाबी गर्दै आएको छ । पूर्वखोला र निस्दी गाउँपालिकाका सबै वडामा एकलौटी जित हात पारेको थियो भने रामपुर नगरपालिकाको ३ वटा वडा, रम्भा गाउँपालिकाको ३ वटा र माथागढी गाउँपालिकाको ४ वटा वडामा पनि एमाले विजयी भएको छ ।

एमाले उम्मेदवार नारायणप्रसाद आचार्यले एमालेको बलियो संगठनले जित सुनिश्चित रहेको दाबी गरे । पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत जनसरोकारका क्षेत्रमा नेकपा एमालेले गरेका काम नै जनस्तरमा बलियो आधार भएको उनको भनाइ छ ।

गठबन्धन बलमा तीन दशकअघिको जित फर्काउने दाउमा छ कांग्रेस । २८ वर्षसम्म शासन गरेको एमालेले जनताको अपेक्षा र आवश्यकताअनुसार विकासे काम नगरेको भन्दै कांग्रेस उम्मेदवार घरदैलोमा छन् ।

कांग्रेस उपसभापति तथा उम्मेदवार ज्ञानबहादुर गाहाले संविधानको रक्षा, स्थिर सरकार, पूर्वी पाल्पाको समग्र विकासको लागि गठबन्धनको सहयोगमा जित सुनिश्चित भएको जिकिर गरे ।

पाल्पा १ को प्रदेश सभामा पनि सबै नयाँ अनुहार छन् । १ को १ मा एमालेबाट राजु श्रेष्ठ, कांग्रेस श्यामकान्त खनाल तथा १ को २ बाट एमालेबाट खेमबहादुर सारु र कांग्रेसबाट शंकर खनाल प्रतिस्पर्धामा छन् । यहाँबाट मंगोल नेसनलबाट अर्गनाइजेसनबाट पूर्णबहादुर रुचाल, राप्रपाबाट डुलबहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट भीमसेन सुनारीको उम्मेदवारी दुवै ठूला दलको लागि चुनौती बनाए पनि एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा रहने अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर