रुपन्देही ५ मा वासुदेवको वाचा- गौतमबुद्धको जन्मस्थललाई नमूना बनाउँछु
रुपन्देही । रुपन्देही ५ मा प्रतिनिधिसभामा नेकपा एमालेबाट उम्मेदार बनेका वासुदेव घिमिरे ५६ सालदेखि लगातार उम्मेदवार बनेका कांग्रेस नेता भरत शाहसँग चुनावी मैदानमा छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर बनेर नमूना बनाएर चर्चामा आएका घिमिरेले गौतमबुद्धको जन्मभूमि समेटिएको यो क्षेत्रमा नमुना काम गर्ने सोचका साथ आएको बताएका छन् । घिमिरेको नेतृत्वमा तिलोत्तमाले गरेका कतिपय काम राष्ट्रिय रूपमै चर्चामा मात्र रहेनन्, अन्य पालिकाहरूको लागि सिकाई समेत बन्दै आएका थिए ।
एउटा असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि बन्दा परिवर्तन सम्भव छ भन्ने कुरालाई उनले प्रमाणित गरेका छन् । उनले नगर प्रमुखको रूपमा प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक रकम सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको छात्रवृत्तिमा लगाएका थिए ।
नमूना कामहरूको कारण स्थापनाको छोटो अवधिमैं पुराना नगरपालिकाहरुलाई पछि पार्दै तिलोत्तमा नगरपालिकाले २०७७ र २०७८ मामुलुकमैं उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गर्न सफल भयो । २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेका थिए । तिलोत्तमालाई नमूना नगरपालिका बनाउन सफल यिनैं घिमिरे मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ५ मा उम्मेदवार बनेका छन् ।
२०४८ सालमा एमालेको पार्टी सदस्या प्राप्तगरेका घिमिरेले तत्कालीन प्ररायु संघ नेपालको विभिन्न कमिटी हुँदै केन्द्रीय कमिटी सम्मको जिम्मेवारीमा रहेर काम गरे । एमालेका विभिन्न कमिटी हुँदै तीन कार्यकाल जिल्ला कमिटीको जिम्मेवारीमा रहेका उनी हाल केन्द्रीय स्थानीय विभाग सदस्य हुन् । उमेरका हिसाबले घिमिरे ५५ वर्षका छन् ।
घिमिरे कुरा भन्दा काममा विश्वास गर्छन् । उनी देखिने, जनताले परिवर्तनको अनुभूति गर्न सक्ने काम गर्छन् । सर्वसाधारणको कुरा सुन्ने, सुझाव लिने उनको विशेषता हो । आर्थिक र सामाजिक रुपमा पछाडि पारिएको वर्ग, समुदायको उत्थानलाई उनी प्राथमिकता दिन्छन् ।
स्थानीय तहमा सफल जनप्रतिनिधिको छवि बनाएका घिमिरे यतिबेला संसदीय राजनीतिको मैदानमा छन् । जहाँ उनको मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेसका नेता भरत शाहसँग रहेको छ ।
तीन पटक संसदीय चुनावी जितेका शाहलाई यसपटक घिमिरेले रोक्न सक्छन् या सक्दैनन्, त्यो त मंसिर ४ ले नैं निर्धारण गर्नेछ । तर, रुपन्देही क्षेत्र नं. ५ का मतदाता शाहप्रति खास सन्तुष्ट देखिँदैनन् । उनका चुनावी एजेण्डा समेत पुरानैं छन् । बुद्धको जन्मस्थल लुम्बिनी समेत पर्ने यो क्षेत्रको विकास रुपन्देहीका अन्य क्षेत्रको विकासभन्दा धेरै पछाडि छ ।
क्षेत्र नं. ५ का बासिन्दाले तीव्र परिवर्तन र नयाँ सोंच भएको जनप्रतिनिधि चाहेकाले त्यो अपेक्षा आफूले पूरा गर्न सक्ने एमाले उम्मेदवार घिमिरेले बताउँछन् । तर, उम्मेदवार शाह गठबन्धनका कारण आफ्नो जीत सहज भएको दाबी गर्छन् । उम्मेदवार घिमिरेले तिलोत्तमा नगरपालिकाको प्रमुख हुँदाको अनुभवको आधारमा सिंगो क्षेत्र नं. ५ लाई नमूना बनाउने बताउँदै मतदातासँग मत मागेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर समग्र क्षेत्रको एकीकृत र योजनाबद्ध विकास गर्ने घिमिरे बताउँछन् ।
घिमिरेका मुख्य चुनावी एजेण्डा
घिमिरेले लुम्बिनी भनेको विकास कोषले चर्चेको क्षेत्र मात्र नभई समग्र क्षेत्र नं. ५ रहनुपर्ने बताउँदै लुम्बिनीलाई केन्द्रमा राखेर देखिने गरी क्षेत्र नं. ५ को विकास गर्ने योजना अगाडि सारेका छन् । यहाँको अव्यवस्थितबसोबासी, भूमिहीनदलित, भूमिविहीन सुकुम्बासीहरूको समस्याको समाधान गर्दै खेतीयोग्य जमीनमा भूमिगत सिंचाईको व्यवस्था गर्ने योजनालाई उनले प्राथमिकता दिएका छन् ।
त्यस्तै कृषितथापशुपालनको व्यावसायीकरण, किसान कार्ड र कृषक अनुदानको व्यवस्था, एक निर्वाचन क्षेत्र एक राष्ट्रिय उद्योगको अवधारणाको कार्यान्वयन,पर्यटन विकासको पूर्वाधार तयार पारी उत्कृष्ट पर्यटकीय गन्तव्य, विस्तृत सडक गुरुयोजना निर्माण गरी सबै सडकको स्तरोन्नती गर्ने उनको चुनावी एजेण्डा छ । गुणस्तरीय साधारण तथाप्राविधिकशिक्षा, स्वास्थ्य सेवा केन्द्रमा दक्ष चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूको व्यवस्था मिलाउने उनले आफ्ना योजनामा समेटेका छन् ।
अत्याधुनिक तथा सुविधा सम्पन्न कम्तीमा १०० शैयाको अस्पताल निर्माण, प्रत्येकगाउँपालिका र नगरपालिकामा सुविधा सम्पन्नबर्थिङ सेन्टरको स्थापना, सबै जातजाति, वर्ग, र समुदायलाई सबै क्षेत्रमानिष्पक्ष र समान अवसरको ग्यारेन्टी, युवाहरूलाई स्वरोजगारी बनाउँदै उद्यमशीलता विकासका लागि व्यवसायिक तथा सिपमूलक शिक्षा, युवा उद्यमतथा रोजगार कार्यक्रमहरू सञ्चालन, एक घर एक खानेपानी धाराको राष्ट्रिय अवधारणालाई मूर्त रूप दिने उम्मेदवार घिमिरेका योजना छन् ।
नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको छ भने काँग्रेससँग माओवादी, नेकपा (एस), राष्ट्रिय जनमोर्चा चुनावी गठबन्धनमा रहेका छन् ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतको आधारमा क्षेत्र नं. ५ मा एमाले, जसपा र राप्रपाको प्यानल बलियो देखिएको छ । यहाँका ३२ वटा वडामा वडाध्यक्षलाई खसेको मतको आधारमा एमाले, जसपा र राप्रपा काँग्रेस गठबन्धनभन्दा ६ हजार भन्दा बढी मतले अगाडि देखिन्छ । यहाँ एमाले एक्लैको मत २७ हजार १४५ प्राप्त गर्दा काँग्रेसको २६, ८८८ रहेको छ । यस्तै जसपाको ९, ३३७, माओवादीको ४, ६२५, लोसपाको ३,५५६, राप्रपाको २, ८१३, नेकपा (एस) को १, १६३ छ भने जनमत पार्टीको मत ५, ६५६ रहेको छ ।