युवाहरु, जो चुनाव छल्न निस्किए घुम्न – Nepal Press

युवाहरु, जो चुनाव छल्न निस्किए घुम्न

इटहरी । इटहरीमा मंसिर २ गते चुनावी चहलपहल राम्रो चल्दै थियो । तर, इटहरी ४ का युवा गोपाल श्रेष्ठ भने चुनावको दिन खप्टिने गरी घुम्ने योजनामा थिए । उनले २०७० सालदेखि निरन्तर चुनावमा भोट गर्दै आएका छन् । तर, यो चुनावमा उनी भोट नहाल्ने पक्षमा पुगे ।

‘मैले २०७० सालको चुनावमा खोटाङमा भोट हालेर मैले मतदानको अनुभव लिन थालेको हुँ’, श्रेष्ठ भन्छन्, ‘२०७४ देखि अस्तिको स्थानीय चुनावमा पनि भोट हालें । अहिले चै वाक्कदिक्क लागेर भोट छल्न हिँडेको हो ।’

श्रेष्ठले चुनावमा बिदा हुने र जति भोट हाले पनि जनतालाई सेवाभन्दा नेताको जागिरलाई मात्रै सजिलो हुने भएकाले यसपटक भोट नहालेको सुनाए । उनले भने, ‘सबै नेताहरुमा विश्वास गर्ने बाटो नै नभेटिएर चुनावमा भोट हाल्न गइनँ ।’

चुनावमा भोट नहालेर घुम्न निस्किएका श्रेष्ठ एक्लै घुमेका छैनन् । उनले मधेस प्रदेशको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा मतदाता नामावली भएकी श्रीमती रुपा र आफ्ना अभिभावकहरुलाई समेत घुमाउन लगेका छन् । उनीहरु अहिले चुनावको समयमा पोखरामा डुलिरहेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकाका स्थानीय गोपाल श्रेष्ठ जस्तै चुनाव छल्न यात्रामा निस्किएका अर्का युवा हुन् मोरङको सुनबर्सी नगरपालिकाका स्थानीय देवेन्द्र ढकाल । चुनावले जनतालाई विश्वासभन्दा पनि धोका दिएको उनको भनाइ छ । ढकालले भोट दिनुको अर्थ पाँच वर्ष थप जनतालाई तनाव दिनेमात्रै भएको तर्क दिए ।

२०७० देखि निरन्तर भोट हाल्दै आएका उनले पनि यो पटक भोट हालेनन् । प्रमुख कारण दलहरुले गर्ने हल्ला र यथार्थ फरक हुनु ।

‘चुनावमा गएका दलको घोषणापत्र हेर्ने हो भने नेपाल अमेरिकाभन्दा सुविधाशाली हुने देखिन्छ । तर, त्यही भन्नेहरु सत्तामा पुगेपछि केही गर्न सक्दैनन् । त्यस्ताहरुलाई किन भोट हाल्ने ?’, ढकाल प्रश्न गर्छन्, ‘अरु केही परेन नेपालको संविधानमै भएका कुराहरु दलहरुले लागू गरेका छैनन् । सबैलाई रोजगार, शिक्षा, स्वास्थ्यको मौलिक हक भनिएको छ । तर, त्यही कुरा दलहरुको सत्तामा हुँदा लागू गर्न सकेका छैनन् । संविधानकै कुरा त लागू नगर्नेले घोषणापत्रका कुराहरु के लागू गर्छन् ?’

संविधान र घोषणापत्रका २० प्रतिशत कुरामात्रै लागू गरेको भए चुनावबाट वाक्क भएर भाग्ने दिन नआउने उनी बताउँछन् । भन्छन्, ‘यो रहर हैन बाध्यता हो । फ्रस्टेसन हो ।’

चुनावमा भोट हाल्न नरुचाएर घुम्न निस्किएका ढकाल पनि एक्लै घुम्न गएका छैनन् । उनले श्रीमती निर्मलालाई समेत सँगै पोखरा लगेका छन् ।

आफ्ना श्रीमान सीताराम विष्टसँगै चुनावकै मुखमा पोखरा घुम्न पुगेकी इटहरीकी प्रमिलाकुमारी अधिकारीले गत स्थानीय चुनावमा पहिलोपटक भोट गरेकी थिइन् । तर, सात महिनापछि आएको आम चुनावमा उनी दिक्क छिन् । भन्छिन्, ‘चुनावमा खालि बुढापाकाहरुमात्रै आउने, गफमात्रै गर्ने तर काम नगर्ने देखेर भोट हाल्न जाँगर चलेन अनि घुम्न गइयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *