अघिल्लो निर्वाचनमा भन्दा यसपटक १६ प्रतिशत मतदाता थपिए, मतदान भने ७ प्रतिशत कम – Nepal Press

अघिल्लो निर्वाचनमा भन्दा यसपटक १६ प्रतिशत मतदाता थपिए, मतदान भने ७ प्रतिशत कम

६ महिना अघिको स्थानीय तहको निर्वाचन भन्दा पनि ६ प्रतिशत कम मतदान

काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा १६ प्रतिशत मतदाता थपिए पनि मतदान भने अघिल्लो निर्वाचन भन्दा ७ प्रतिशत कमले गरेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा करिब ६१ प्रतिशत मतदान भएको हो । ५ वर्ष अघि २०७४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ६८.६६ प्रतिशत मतदान भएको थियो ।

२०७४ को तुलनामा यस पटक सम्पन्न निर्वाचनमा ७ प्रतिशत मतदाताले मतदान नगरेको पाइएको छ । तर, गत निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा २५ लाख ६० हजार ६३२ जना मतदाता थपिएका थिए ।

आयोगको प्रारम्भिक तथ्यांकअनुसार जम्मा मतदाताको ६१ प्रतिशत अर्थात् करिब एक करोड ९ लाख ७३ हजार मतदाताले मतदान गरेका छन् । संख्यात्मक हिसावले अघिल्लो निर्वाचन भन्दा ९ लाख बढी मतदाताले मतदान गरे पनि अनुपातमा हेर्दा अघिल्लो निर्वाचनमा भन्दा यस पटक तुलनात्मक रुपमा ७ प्रतिशत मतदाताले मतदान गरेनन् ।

यस पटक निर्वाचन आयोगले अपेक्षा गरेभन्दा करिव १० प्रतिशत मतदान कम भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान हुने अघिल्लो दिन नेपाल प्रेसको विषेश प्रस्तुती नेपाल टकमा कुरा गर्दै ७० प्रतिशत मतदान हुने अपेक्षा गरिएको बताएका थिए ।

तर, उनले आइतबार साँझ मतदान सकिएपछि आयोजित पत्रकार सम्मेलनमा भने करिब ६१ प्रतिशत मात्रै मतदान भएको जानकारी गराए । उनले भने, ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, तर अझै पनि एकिन भइसकेको छैन ।’

यस्तै ६ महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा ६६.८६ प्रतिशत मत खसेको थियो । स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ६ प्रतिशत कम मतदान भएको छ ।

आयोगका अनुसार यस पटक प्रतिनिधिसभाका १६५ प्रत्यक्षतर्फ र ११० समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० समानुपातिकतर्फ २२० गरी जम्मा ८२५ सिटका लागि मतदान भएको हो ।

मुलुकभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदातालाई मतदान गर्नका लागि निर्वाचन आयोगले १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको थियो । यस्तै १४१ वटा अस्थायी मतदान केन्द्र पनि तोकिएको थियो ।

यसपटक थपिएका २५ लाख अर्थात् १६ प्रतिशत मतदातामध्ये कतिपय मृत्यु भइसकेका मतदाताको नाम हटाइएको हुनाले पनि करिव २३ लाख मतदाताले पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पहिलो पटक मतदान गरेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरबाट १ करोड १८ लाख ५६ हजारले मतदान गरेका थिए । जसमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेस प्रदेशमा ६७.६९ प्रतिशत, बागमती प्रदेशमा ६४.१६ प्रतिशत, गण्डकी प्रदेशम ६८.२८ प्रतिशत, लुम्बिनी प्रदेशमा ६६.७९ प्रतिशत, कर्णाली प्रदेशमा ७० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६५.८० प्रतिशत मतदान गरेका थिए ।

यसपटक प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६१ दलबाट एक हजार ५४५ र स्वतन्त्रबाट ८६७ जना गरेर जम्म्मा २ हजार ४१२ जना प्रतिस्पर्धामा छन् । जसमा २ हजार १८७ पुरुष रहेका छन् भने २२५ जना मात्रै महिला रहेका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई हजार १९९ उम्मेदवारको नाम बन्दसूचीमा पेश भएको छ । जसमा १ हजार १२ जना पुरुष रहेका छन् भने १ हजार १८७ महिला रहेका छन् ।

यस्तै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० सिटका लागि विभिन्न राजनीतिक दलबाट २ हजार १३० र स्वतन्त्रबाट १ हजार ९४ गरेर जम्मा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् ।

जसमा २ हजार ९४३ पुरुष उम्मेदवार रहेका छन् भने २८० जना मात्रै महिला रहेका छन् । प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूचीमा भने तीन हजार ७०८ जनाको नाम पेश भएको छ । जसमा २ हजार १९७ पुरुष रहेका छन् भने १ हजार ५११ महिला रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर