महर्जनको संयोग- माधव नेपालको साथ छाडेको १ वर्ष पुगेकै दिन एमालेलाई दिलाए पहिलो सफलता (भिडिओ)
काठमाडौं । एक वर्षअघि २०७८ मंसिर५ गते माधव नेपालको साथ छाडेर केपी ओलीको पक्षमा उभिएका प्रेम महर्जनले सायद सोचेका थिएनन् होला एक वर्षभित्रै यति ठूलो उपलब्धि पाउँछु भनेर ।
२०७८ भदौ ९ गते माधव नेपालले नेकपा एमाले विभाजन गर्दा ललितपुरका नेता महर्जनले पनि उनलाई साथ दिएका थिए । नेपालले उनलाई नेकपा एकीकृत समाजवादीको संस्थापक केन्द्रीय सदस्य पनि बनाए ।
पार्टीभित्रको अन्तरसंघर्षमा सधैँ माधव नेपाल पक्षमा रहेका महर्जनले नेकपा एसमा दुई महिना पनि बिताउन चाहेनन् । २०७८ कात्तिक ३ गते महर्जनले नेकपा एस छाडेर एमालेमै फर्किने निधो गरे । त्यही निर्णय नै उनको राजनीतिक जीवनको कोशेढुंगा साबित भयो ।
नेकपा एसको केन्द्रीय सदस्य छाडेर एमालेमा फर्किएका महर्जनले सो पार्टीमा प्रदेश कमिटीको मात्र जिम्मेवारी पाए । तर पनि मूलधारमा रहनुको फाइदा उनले ललितपुर २ मा टिकट पाए यो चुनावमा ।
हिजो एउटै पार्टी र एउटै गुटमा रहेका कृष्णलाल महर्जन जो २०५६ देखि लगातार उम्मेदवार बनेर जित्दै र हार्दै आएका थिए उनी सत्ता गठबन्धनबाट नेकपा एसको उम्मेदवार बन्दा प्रेमको विजयबारे अनेक आशंका थिए ।
स्थानीय तहको मतका आधारमा पनि एमाले गठबन्धनभन्दा निकै पछि थियो । तर जनताको मन र मत बदलिन कति पनि समय नलाग्ने रहेछ । यसपटक प्रेमले विजयको माला पहिरिँदै गर्दा उनको निकटम प्रतिद्वन्द्वी पनि बन्न सकेन गठबन्धन ।
लौरोका उम्मेदवार सुबिन शाक्य फराकिलो मतान्तरमा दोस्रो हुँदा घण्टी तेस्रो र गठबन्धन चौथो स्थानमा पुग्यो । चुनाव जितेपछि महर्जनले यो विजय नेकपा एमालेको नीति,सिद्धान्त र कार्यकर्ताको मेहनतको प्रतिफल भन्दै एमालेको झण्डा झुक्न नदिने प्रण गरेका छन् ।
ललितपुर २ मा उनको विजय यसकारण पनि महत्त्वपूर्ण बन्यो कि,एमालेको विजयी सुरुआत उनैबाट भयो । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १५०२५ मतसहित निर्वाचित भएका हुन् ।