तटस्थ मत तीनतिर छरिँदा रवीन्द्र मिश्र दोस्रोपटक ‘अनलक्की’ – Nepal Press
काठमाडौं १

तटस्थ मत तीनतिर छरिँदा रवीन्द्र मिश्र दोस्रोपटक ‘अनलक्की’

काठमाडौं । काठमाडौं–१ बाट रवीन्द्र मिश्रले लगातार दोस्रो चुनावमा साँघुरो हार व्यहोरेका छन् । पुरानै प्रतिस्पर्धीबाट फेरि झिनो अन्तरले पराजित हुनु मिश्रका लागि अर्को राजनीतिक चोट हो ।

कांग्रेसका प्रकाशमान सिंहले १२५ मतको अन्तरले मिश्रलाई पछि पारे । तर, यो जितमा उनले आफूलाई यस अर्थमा भाग्यशाली ठान्नुपर्छ कि यसपालिको चुनावी समीकरण नै उनका लागि अनुकूल बनिदियो । यदि कुनै दलप्रति आस्था नराख्ने काठमाडौं–१ ‘तटस्थ जनमत’ तीनतिर नबाँडिएको भए सिंह राम्रै मार्जिनले हार्न सक्थे भन्ने अहिलेको नतिजाबाट देखिन्छ ।

काठमाडौं १ मा मिश्रसँगै सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको उम्मेदवारी परेको थियो । ‘राम्रा मान्छे’ हरू एकै क्षेत्रबाट भिडेर अमुक उम्मेदवारलाई सजिलो बनाइदिएको चर्चा पहिल्यैदेखि चल्दै आएको हो । अन्ततः त्यही सत्य भएको छ । पुकार र रमेशले पनि उल्लेख्य मत ल्याएका छन् । यदि उनीहरू प्रतिस्पर्धामा नभएको भए त्यो मत आफूलाई आउन सक्थ्यो भन्ने मिश्रको आँकलन छ ।

प्रकाशमान सिंहले ७ हजार १४३ मत ल्याएर चुनाव जिते भने मिश्रले ७ हजार १८ मत पाएर पराजित भए । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका बमले ४ हजार ११५ मत ल्याएका छन् भने एमालेका किरण पौडेलको ३ हजार ५ सय ३२ मत छ । सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत ल्याएका छन् ।

यदि मिश्र, बम र खरेलको मत एक ठाउँमा राखेर जोड्ने हो भने झण्डै १५ हजार हुन्छ । लोकतन्त्रमा सबैले चुनावमा प्रतिस्पर्धा गर्न पाउँछन् । त्यसैले फलानो नउठेको भए हुन्थ्यो भन्नु आफैँमा अलोकतान्त्रिक तर्क हुन सक्छ । तर, तीन जनाले आपसी सहमति गरेर कोही एकलाई समर्थन गरेको भए अवश्य नतिजा उल्टिन सक्थ्यो भन्ने देखिन्छ । परिवर्तनको एउटै नारा र उस्तै एजेन्डा बोकेकाहरू आपसमा मिल्न नसक्दा नयाँ अनुहारको खोजीमा रहेका मतदाताहरू भने निराश बनेका छन् ।

मिश्र अघिल्लो चुनावमा सात सयभन्दा बढी मतान्तरले हारेका थिए । त्यसबेला अहिलेकोजस्तो ‘तटस्थ मत’ बाँडिएको थिएन । अहिले तीन तिर भोट बाँडिदा पनि हारको अन्तर कम हुनु उनको लागि सान्त्वनाको विषय बन्न सक्छ । तर, विचार र पार्टी परिवर्तन गर्दै आफूलाई जनतामाझ परीक्षामा उतारेका मिश्रलाई यो हारले अवश्य निराश तुल्याउने छ ।


प्रतिक्रिया

2 thoughts on “तटस्थ मत तीनतिर छरिँदा रवीन्द्र मिश्र दोस्रोपटक ‘अनलक्की’

  1. Rabindra Mishra got not elected being second due to his own over ambition and over confidence! He should blame himself and go back to BBC to report amazing reply of Nepalese People to Tourist Candidates!

  2. नाच्न नजाने आँगन टेढो ! श्रीमतीलाइ सुराकीको कमिसन ख्वाउने र इन्डियाका दुश्मन अपराधिहरुको मात्र इनकाउन्टर गरेर नाम कमाउने यी राष्ट्रद्रोही प्रहरी अधिकृतको जो पछि लाग्यो, उसको सत्यानास नै हुनेछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर