प्युठान २ मा रोज राणाको ओज- ३१ वर्षपछि फर्काए कांग्रेसको विरासत – Nepal Press

प्युठान २ मा रोज राणाको ओज- ३१ वर्षपछि फर्काए कांग्रेसको विरासत

रुपन्देही । आफ्नै पार्टीभित्रको खुलेआम असहयोगका बीच प्युठानमा कांग्रेसका युवा नेता रोज राणाले इतिहास फर्काएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा १ मा एमालेले गठबन्धनलाई सरप्राइज दिएर विजय हासिल गरेकोमा प्रदेशसभा २ मा भने रोजले सरप्राइज दिएका छन् ।

२०४८ सालमा प्युठानबाट मुक्तिप्रसाद शर्माले सांसद जितेयता अहिलेसम्म नेपाली कांग्रेसबाट कोही पनि निर्वाचित हुनसकेको छैन । ३१ वर्ष अगाडि कांग्रेसको त्यो जीतलाई कांग्रेसका युवा नेता रोज राणा (सरोज थापा) ले कम्युनिष्टहरुकै साथमा पुनर्जीवन दिएका छन् ।

कम्युनिष्टहरुको बलियो किल्ला मानिएको यो जिल्लामा उनको जीतले सबैको ध्यान केन्द्रित गरेको छ । त्यसो त राणा कम्युनिष्टहरुको गठबन्धनबाट यहाँ उम्मेदवार बनेका थिए । तर, प्रतिनिधिसभामा जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेल अनि प्रदेशसभामा माओवादीका उम्मेदवार कृष्ण अधिकारी दुवै जना पराजित हुँदा राणाको विजय थप रोचक बनेको हो ।

राणासँग प्रतिस्पर्धामा रहेका एमालेका हरि रिजाल पार्टी केन्द्रीय सदस्य तथा यसअघिका सांसद र पूर्वमन्त्रीसमेत हुन् । यहाँबाट एमालेका बलिया उम्मेदार रिजाललाई पराजित गरेर उनले जिल्लामा आफ्नो अस्तित्व देखाएका छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीतिमा जोडिएका राणा तरुण दलको केन्द्रीय सदस्य हुँदै कांग्रेसको पार्टी राजनीतिमा जोडिएका हुन् । पार्टीको प्रदेशसभा २ को सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित उनी पार्टीमा सभापति शेरबहादुर देउवा समूहका हुन् ।

उनलाई निर्वाचनअघि टिकट टुंग्याउने र निर्वाचनको समयमा पनि पार्टीभित्रैबाट ठूलो छेकबार नलागेको होइन । तर, ती अवरोध छिचोल्दै राणाले कठिन जीत निकालेर ३१ वर्षपछि जिल्लामा पार्टीको तर्फबाट जीत दर्ता गराएका छन् ।

प्युठान नगरपालिका वडा नं ८ गेजवाङ स्थायी घर भएका रोज राजनीतिभन्दा पनि चलचित्र निर्माताका नामले बढी चिनिन्छन् । उनी व्यवसायी पनि हुन् । तर, लुम्बिनी प्रदेशसभाका सांसद बनेपछि राजनीति वा चलचित्र कुन प्राथमिकतामा पर्छ भन्ने नेपाल प्रेसको प्रश्नमा उनी एकछिन अलमलमै परे ।

‘यति लामो समयपछि जिल्लामा कांग्रेसबाट सांसद बनेको छु, कम्युनिष्टहरुको बलियो जिल्ला र किल्लाका नामले चिनिएको ठाउँमा नयाँ काम गरेर देखाउनेछु, राजनीतिसँगै मेरो चलचित्र क्षेत्रको काम पनि चलिरहन्छ’, उनले भने ।

चुनावी तयारीमा लागेपछि चलचित्र निर्माता संघको महासचिव बनिसकेका राणा अध्यक्ष बन्नतिर नलागेको बताउँछन् । ‘उताको जिम्मेवारी कम गर्दै राजनीतिमा समय दिएको हुँ, यता काम गरेर देखाउनुपर्नेछ, पार्टीभित्र र बाहिर उस्तै चुनौती खेपेको अनुभव छ । त्यसैले पनि नमुना काम गरेर देखाउने हो’, राणा भन्छन् ।

प्युठान प्रदेशसभा २ बाट प्रदेश सांसदमा निर्वाचित उनका बुवा पनि शिक्षण पेशापछि राजनीतिमा जोडिएका थिए । अहिले बुवा नभए पनि आमा घरमै भएको र बुवाले बनाएको योजना पूरा गर्ने सोच भएको उनी बताउँछन् ।

उनले नेकपा एमालेका हरि रिजाललाई १ हजार ७१२ मतान्तरले पराजित गरेका हुन् । उनले २२ हजार ५१८ मत ल्याउँदा एमालेका रिजालले २० हजार ८०७ मत पाएका थिए ।

२०४८ मा मुक्तिप्रसादले जितेपछि यो क्षेत्रमा निरन्तर राष्ट्रिय जनमोर्चा, एमाले र माओवादीले पालैपालो जितिरहेका थिए ।

फिल्म निर्माता, कलाकार तथा निर्देशक रहेका राणाले बनाएका थुप्रै चलचित्रले नाम र दाम कमाएका छन् । ‘दादागिरी’ बाट फिल्म निर्माणमा हात हालेका राणाले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतमा लगानी गरेका हुन् भने ‘जय पशुराम’बाट निर्देशनमा डेब्यु गरेका हुन् ।

उनले ‘दोस्ती’, ‘खलनायक’, ‘जय परशुराम’, ‘दादागिरी’ जस्ता एक्सनमा आधारित चलचित्र बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर