ओली पक्षका नेताहरु बालुवाटारमा, जन्मदिनको रौनकपछि छलफलमा जुट्दै – Nepal Press

ओली पक्षका नेताहरु बालुवाटारमा, जन्मदिनको रौनकपछि छलफलमा जुट्दै

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला सुनाउँदा प्रधानमन्त्री केपी शर्मा ओली बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाउन बालमन्दिर पुगेका थिए । त्यहाँ जानुपूर्व नै उनले फैसलाको पूर्व आभास पाइसकेको र निकटस्थहरुलाई विचलित नहुने ढाडस दिएको स्रोतको भनाइ छ ।

आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा विमोचन कार्यक्रम थियो । सरकारका मन्त्री र पार्टीका नेताहरु त्यसका लागि बेलुकी ६ बजेको आसपास बालुवाटार पुगेका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व नै सर्वोच्चको फैसलाबारे मिडियामा खबर फैलिसकेको थियो । तर, कार्यक्रम निर्धारितरुपमै सञ्चालन भयो ।

प्रधानमन्त्री केपी ओली र पत्नी राधिका शाक्य मञ्चमा आसीन थिए । प्रधानमन्त्री ओली बेलाबेला मोबाइल खोलेर समाचारहरु हेरिरहेका देखिन्थे । उनको भावभंगिमामा खासै फरक नदेखिएको एक सहभागीले जानकारी दिए ।
‘प्रधानमन्त्रीको अनुहारमा पहिलेभन्दा कुनै परिवर्तन देखिएन, अरु नेताहरु पनि बाहिरबाट हेर्दा शान्त नै थिए’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्रीले भाषण गरेनन् । राधिकाले मात्र बोलेकी थिइन् । उनले आफ्नो पारिवारिक/राजनीतिक जीवनका अनुभूतिहरु बाँडेकी थिइन् । पार्टीकी नेतृ तथा गायिका कोमल ओलीले प्रधानमन्त्री ओलीलाई सांगीतिक शुभकामना दिइन् । अरु पनि सांगीतिक प्रस्तुति भए ।

कार्यक्रममा सरकारका अधिकांश मन्त्री र पार्टीका नेताहरु सहभागी थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा शुभचिन्तकहरु पनि थिए ।

औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्रीलाई शुभकामना दिने सिलसिला अबेरसम्म चलिरहेको छ । नेताहरुले प्रधानमन्त्रीलाई फूलगुच्छा दिएर शुभकामना अर्पण गरेका छन् । शुभकामनाको क्रम सकिएपछि नेताहरु अनौपचारिक छलफलमा जुट्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर