जीवनशैलीलाई बदल्न सकेनौं भने हामीलाई मधुमेहले छोड्दैन : डा. डिना श्रेष्ठ
काठमाडौं । मधुमेह संसारभरि नै धेरै देखिएको दीर्घकालीन बिमारी हो । रगतमा ग्लुकोज वा चिनीको मात्रा बढ्नाले मधुमेह हुन्छ । जसले मुटु, रक्तनली, आँखा, मृगौला र नसाहरूमा गम्भीर क्षति पुर्याउँछ । मधुमेह अन्धोपन, मृगौला फेल, हृदयाघात, स्ट्रोक र तल्लो खुट्टा काट्नुपर्नेको प्रमुख कारण पनि हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक हेर्ने हो भने सन् १९८० सम्म विश्वव्यापी रुपमा मधुमेह बिरामीको संख्या १० करोड ८० लाख थियो । यही संख्या २०१४ सम्ममा बढेर ४२ करोड २० लाख पुग्यो । २०२१ सम्मको सर्वेक्षण हेर्दा सो संख्या बढेर वयस्कहरू (२०-७९ वर्ष) को उमेर समूहमा ५३ करोड ७० लाखलाई मधुमेह भएको पाइएको छ । सोही सर्वेक्षणले सन् २०३० सम्ममा मधुमेह भएका व्यक्तिको संख्या ६४ करोड ३० लाख र सन् २०४५ सम्ममा ७८ करोड ३० लाख पुग्ने प्रक्षेपण गरेको छ ।
माथिका डाटाहरु हेरेपछि यो पुष्टि हुन्छ कि मधुमेह उमेर बढेसँगै बढ्दै गएको एक गम्भीर महामारी हो । सन् २०२१ को सर्वेक्षणअनुसार विश्वव्यापी रुपमा ६७ लाख मानिसहरुले मधुमेहका कारण ज्यान गुमाएका छन् । यो भनेको हरेक पाँच सेकेन्डमा एकजनाको मधुमेहका कारण मृत्यु भएको छ । आधुनिकीकरण र मानिसमा चेतनास्तर बढे तापनि मधुमेह आखिर किन बढिरहेको छ ? मधुमेह लागेपछि शरीरमा कस्ता कस्ता परिवर्तनहरु देखिन्छन् र यसलाई समयमै कसरी रोकथाम गर्ने ? भन्ने विषयमा हामी सचेत हुन जरुरी छ ।
यही परिवेशमा रहेर मधुमेह विशेषज्ञ डा. डिना श्रेष्ठसँग नेपाल प्रेसले गरेको मधुमेह विशेष कुराकानी-
– मधुमेह भन्नाले के बुझिन्छ ?
मधुमेह भन्नाले मधुमेह मेलिटस भन्ने बुझिन्छ । हाम्रो शरीरमा चिनीको मात्रा बढ्नुको मतलब हामीलाई मधुमेह हुनु हो । सामान्य भाषामा भन्नुपर्दा चिनीको रोग वा सुगर । यो एक दीर्घकालीन रोग हो । यसले तपाईंको शरीरको खानालाई ऊर्जामा परिणत गर्ने प्रक्रियालाई असर गर्छ । तपाईंको शरीरले तपाईंले खाएको खानालाई ऊर्जामा परिणत गर्नुको सट्टा चिनीमा परिणत गर्दिन्छ ।
– मधुमेह हुनुअघि शरीरमा देखिने लक्षणहरु केके हुन् ?
सर्वप्रथम, मधुमेह भनेको एक प्रकारको मात्र हुँदैन । यो विभिन्न किसिमका हुन्छन् । टाइप वान र टाइप टु मधुमेह । अर्को हुन्छ जीडीएम (जेसटेस्नल डायबिटिज मेलिटस) । त्यस्तै अर्को सेकेन्डरी मधुमेह ।
टाइप वान- यो इन्सुलिनको कमीले बच्चाहरुलाई हुने मधुमेह हो ।
टाइप टु मधुमेह- यो सबै मानिसहरु सचेत हुनुपर्ने मधुमेह हो । किनकि संसारभरिका लगभग ९० प्रतिशत मानिसहरुमा देखिने भनेकै ‘टाइप टु’ मधुमेह हो । धेरैलाई हुने र जाखिमपूर्ण यही हो ।
जीडीएम- यो गर्भवती महिलाहरुमा देखिने मधुमेह हो ।
सेकेन्डरी मधुमेह- माथि उल्लेख गरिएका बाहेक अरु कुनै कारणले हाम्रो शरीरमा वा हाम्रो रगतमा बढ्ने चिनीको मात्रालाई सेकेन्डरी मधुमेह भनिन्छ ।
अब लागौं लक्षणतर्फ ।
टाइप वान र टाइप टु मा देखिने एकदमै सामान्य लक्षणहरु भनेको बढी प्यास, भोक र पिसाब लाग्ने र शरीरको तौल घट्ने, शरीरमा भएको घाउँ निको नहुने, कुनै पनि संक्रमणहरु छिटछिटो हुने आदि ।
‘टाइप टु’ मधुमेह हुँदा कहिलेकाहीं शरीरमा मधुमेहका लक्षणहरु नै नदेखिन पनि सक्छ । संसारका लगभग ५० प्रतिशत ‘टाइप–टु’का मधुमेह बिरामीले आफूलाई मधुमेह भएको चाल पनि पाउँदैनन् ।
– गर्भवती अवस्थामा मधुमेह हुँदा बच्चामा केही असर देखिन्छ कि देखिँदैन ?
पक्कै देखिन्छ । यो हामीले सबैले बुझ्नुपर्ने महत्वपूर्ण विषय पनि हो । जीडीएम अर्थात गर्भावस्थामा हुने मधुमेहमा खासै लक्षणहरु देखिँदैन । त्यसैले हामीले वेलावेलामा हाम्रो शरीरमा चिनीको मात्रा बढेको छ या छैन भनेर जाँच गराइराख्नुपर्छ । सामान्यतया गर्भावस्थामा हुने मधुमेह, बच्चा गर्भमा बसेको चौबीस हप्तापछि मात्र देखापर्छ ।
जीडीएममा विशेष डर हुने भनेको हाम्रा बच्चाहरुको लागि हो । यसले शरीरमा धेरै हार्मोनल परिवर्तनहरू निम्त्याउँछ । भ्रुण प्रोग्रामिङ नै गलत हुनसक्छ । बच्चा भइसकेपछि पनि उसलाई जण्डिस र प्रोलङ्ग्ड जण्डिस हुने, बच्चाको सुगर एकदमै कम हुने आदि जटिलताहरू देखिन सक्छन् । बच्चा आफ्नो तौल र उमेरभन्दा ठूलो जन्मिन सक्छ । जसले गर्दा ‘सोल्डर डिस्टोसिया’ हुनसक्छ । ‘सोल्डर डिस्टोसिया’ भनेको प्रसवको समयमा बच्चाको एक वा दुइटै काँध योनीमा अड्किनु हो । बच्चा हुनुअघि यदि गर्भ रहेको वेलामा मधुमेह भयो भने पछि बच्चामा मोटोपना, मधुमेह र मुटुरोगको समस्या देखिनसक्छ ।
– गर्भावस्थामा मधुमेह भएर अस्पताल आएका बिरामीहरुलाई के सुझाव दिनुहुन्छ ? गर्भपतन कि अरु कुनै ?
गर्भावस्थामा चिनीको मात्रा बढ्ने बित्तिकै खतरा पनि बढ्छ । यदि प्रेग्नेन्ट हुनुअघि नै सुगर भएको छ भने भोलि गएर प्रेग्नेन्ट हुँदा बच्चालाई सीधै असर पर्छ । त्यसैले यदि कसैलाई सुगर छ भने हामी उहाँहरुलाई प्लान गरेरमात्र बच्चा पाउन सुझाव दिन्छौं । सुगर छ भने चिकित्सकसँग सल्लाह गरेर मधुमेहको उपचार गरेरमात्र पाउनुपर्छ । अर्को भनेको गर्भावस्थामा मधुमेह हुने जुन गर्भ रहेको २४ हप्तापछि देखिन्छ । २४ हप्तासम्ममा बच्चाका अंगहरु बनिसकेका हुन्छन् । त्यसैले अंग बन्न बाधा हुने समस्याहरु देखिँदैन । तर, पछि गएर जण्डिस, लो ब्लड सुगर, कार्डिभास्कुलर जोखिम, टाइप टु मधुमेहको उच्च सम्भावना आदि जोखिमहरु देखिन सक्छन् ।
– सामान्यतयाः हामी नेपालीहरु ५०-६० वर्ष कटेपछि मात्र मधुमेह हुन्छ भन्ने सोच्छौं । मधुमेहमा त्यस्तो कुनै उमेरको मापदण्ड छ ?
‘टाइप टु’ मधुमेह संसारभरि नै धेरै मात्रामा देखिएको एउटा महामारी हो । हामीले पढ्दा सुरुसुरुमा मधुमेह भनेको ५०-६० वर्ष कटेपछि मात्र हुन्छ है भन्ने धारणा थियो । मैले मास्टर सक्ने वेलामा ४०-४५ पो हो भन्ने भयो । पढाइ सकेपछि ३५ भन्ने कुरो आयो । खासमा कुरा के हो भने कोरोना महामारीपछि मानिसको जीवनशैलीमा परिवर्तन आयो । बच्चाहरुमा व्यायाम भन्ने कुरा भएन । घरमै बसिरहने माहोल सिर्जना भयो । जंक फूड धेरै मात्रामा प्रयोग भयो । मान्छेमा तनाव बढ्न थाल्यो । यस्ता समस्याहरुको कारण ५०-६० वर्षमा देखिने मधुमेह किशोर अवस्थामा नै देखिन थाल्यो । ‘टाइट टु’ मधुमेह ‘एडोलेसेन्ट मधुमेह’ मा परिवर्तन भयो । जसले गर्दा ३५ वर्षदेखि नै जोखिम बढ्ने देखियो । १६-१७ वर्षको उमेरतिर पनि मधुमेह हुन्छ । इन्सुलिनको कमी भयो भने बच्चाहरुमा पनि देखिन सक्छ ।
त्यति मात्र नभएर कहिलेकाहीं नवजातमा पनि मधुमेह देखिन्छ जसलाई ‘नियोनटल मधुमेह’ भनिन्छ । यो जन्मेको एक हप्ताबाट नै सुरु हुन्छ । यस्तो मधुमेह चाहिँ वंशानुगत होइन । यो बच्चाको शरीरमा भएको आफ्नै समस्याका कारण निम्तिने मधुमेह हो ।
– मधुमेह हुन नदिन के कस्ता कुराहरुको सावधानी अपनाउनुपर्छ ?
‘टाइप वान’ मधुमेह हामी रोक्न सक्दैनौं । जेस्टेस्नल र टाइप टु मधुमेहमा भने हामी सावधानी अपनाउन सक्छौं । सबै हाम्रो खानेकुरामा भर पर्ने कुरा हो । हामीले हाम्रो जीवनशैलीलाई बदल्नुपर्छ । शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । स्वच्छ र स्वस्थकर खाना खानुपर्छ । हामीले के खाने भन्दा पनि के नखाने भन्ने विषयमा बढी ध्यान दिनुपर्छ । गुलियो, चिल्लो र मैदाजन्य खानेकुरा खान भएन । धूमपान र रक्सी सेवनबाट टाढा बस्नुपर्यो । तारेको, भुटेको र जंक फूडहरु खान कम गर्नुपर्यो । अब यति भनिराख्दा अर्को प्रश्न आउन सक्छ, के खाने त ? हामीले हाम्रो खानामा हरियो सागसब्जी, फलफूल, रातो मासुको सट्टामा चिकेन ब्रेस्ट, माछा, अण्डा, सलाद, चिल्लोरहित खाना बढी समावेश गर्नुपर्छ ।
– मोटोपनाले मधुमेह छिटो हुन्छ भन्ने धारणा कतिको सही हो ?
माटोपनाले मधुमेहको सम्भावना बढाउँछ । मोटोपनाले शरीरको मेटाबोलिक गतिविधिहरू बढाउँछ, जसले गर्दा मेटाबोलिक रोगहरु निम्त्याउँछ । त्यही भएर मोटोपना बढेसँगै मधुमेह लाग्ने सम्भावना उच्च छ ।
– मधुमेह भइसकेपछि उपचारमा के कति खर्च लाग्छ ?
खर्चकै कुरा गर्ने हो भने यो सबैभन्दा सस्तो रोग हो भन्दा फरक पर्दैन । जो-कोहीलाई पनि आफ्नो खल्तीबाट पैसा जाँदैछ भन्नेबित्तिकै त्यो चिज महँगो नै लाग्छ । गाडी नचढ्नु, हिँड्नु, मीठो नखानु, रेस्टुरेन्ट नजानु, टेन्सन नलिनु, आदि भन्नु मतलब सस्तो जीवनशैली अपनाउनु हो । मधुमेहले जटिलताहरु निम्त्यायो भने चाहिँ गाह्रो हुने हो । यसले मुटुरोग, मृगौला रोग, हृदयघात, खुट्टाका नशाहरु कँुजिएर खुट्टा काट्नुपर्ने अवस्था, मोतीबिन्दु, आँखाको रेटिना खराब हुने जस्ता जटिलताहरू निम्त्याउँछ ।
यीमध्ये कुनै पनि जटिलता तपाईंको शरीरमा देखियो भने तपाईंको खर्च बढ्न सक्छ । यी एकदमै महँगा रोगहरु हुन् । अहिले आएर मधुमेहले कलेजोलाई पनि हानी गर्नसक्ने सम्भावना बढेको छ । त्यही भएर रोग लाग्नुअघि नै हामीले सावधानी अपनाउनुपर्छ । रोगले जटिल अवस्था लिनुअघि नै सर्तक हुनुपर्यो । ट्याबलेट्सहरु सुरुमै लिने गर्नुपर्छ ।
– चिनीको मात्रा कति बढ्यो भने हाम्रो शरीरलाई खतरा हुनसक्छ ?
हाम्रो सामान्य ब्लड सुगर भनेको १००-१४० हो । खाली पेटमा १०० र खाना खाइसकेपछि १४० । यदि ब्लड सुगर खाली पेटमा १२६ र खाना खाइसकेपछि २०० भन्दा माथि पुग्यो भने हामीलाई मधुमेह भएको बुझ्नुपर्छ । यीबाहेक बीचका संख्याहरुलाई प्रि-डायबिटिज भनिन्छ । १०१ देखि १२५ र १४१ देखि १९९ छ भने त्यो प्रि-डायबिटिक हो ।