वर्तमान निर्वाचन कानूनसँग आयोग सन्तुष्ट छैन : दिनेश थपलिया
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले शुक्रबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा थपलियाले अव नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गर्ने तयारीमा आयोग जुटेको समेत बताए । प्रतिनिधिसभा र प्रदेशसभा सम्बन्धी कानून एकै ठाउमा राखेर बनाउने उनको भनाई छ । उनले स्थानीय निर्वाचनको अनुभवलाई मध्यनजर गर्दै अहिलेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा नै अनुगमन समिति बनाइएको र प्रभावकारी पाइएको दाबी गरे ।
नेपालमा अहिलेको निर्वाचनले दलहरु र उम्मेदवारमा उच्च राजनीतिक संस्कार बिकास भएको र यसलाई आगामी दिनमा स्थापीत गर्नुपर्ने उनले बताए । थपलियाले निर्वाचनमा राजनीतिक दलहरु समावेशीको मुद्धामा भने कमजोर देखिएको र आगामी दिनमा समावेशीताको विषयलाई ध्यान दिन आवश्यक रहेको जिकिर गरे ।
उनले निर्वाचन आयोगको नेतृत्वमा निर्वाचन भएपनि सबै सरोकारवालाहरुको सहयोगमा नै निर्वाचन सफलताका साथ सम्पन्न भएको उल्लेख गरे ।